पर्यटनलाई नेपालजस्तो विकासोन्मुख मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइन्छ।हिमाल, पहाड,तराई,धार्मिक तथा सांस्कृतिक विविधता,प्राकृतिक सौन्दर्य र अतिथि सत्कारको परम्पराले नेपाललाई विश्वकै आकर्षक गन्तव्य बनाएको छ।तर यही पर्यटनको नाममा,विशेषगरी पर्यटकीय क्षेत्रका होटलहरू पछिल्लो समय अवैध कारोबारको सुरक्षित अखडा बन्दै गएको तथ्यहरु बाहिरिन थालेका छन्।बाहिरबाट हेर्दा सुविधा सम्पन्न होटल,भित्रभित्रै भने कालो अर्थतन्त्र,अनैतिक गतिविधि र आपराधिक सञ्जालको चलखेल भइरहेको यथार्थ क्रमशःसतहमा आउन थालेको छ।
बसोबासको स्थान कि अपराधको केन्द्र होटल ?
पर्यटकको बसोबास,खानपान र मनोरञ्जनका लागि खोलिएका होटलहरू अहिले धेरै स्थानमा अवैध कारोबार सञ्चालन गर्ने सुरक्षित “कभर”बनेका छन्। सीमावर्ती क्षेत्र,धार्मिक गन्तव्य, राजमार्ग छेउ,राष्ट्रिय निकुञ्ज आसपास र सहरी पर्यटकीय केन्द्रहरूमा सञ्चालित कतिपय होटलहरूमा मानव तस्करी,यौन व्यवसाय,लागूऔषध कारोबार,अवैध मदिरा उत्पादन तथा बिक्री,हुण्डी कारोबार,जुवातास र पैसाको अवैध ओसार पसारजस्ता गतिविधि खुलेआम वा गोप्य रूपमा सञ्चालन भइरहेका तथ्यहरु फेला पर्ने गरेका छन्।
पर्यटनको नाममा आउने विदेशी र स्वदेशी पाहुनाको भीडले प्रहरी र प्रशासनको निगरानी छल्न सजिलो बनाएको छ।होटलको कोठाभित्र के हुँदैछ भन्ने कुरा बाहिरबाट थाहा पाउन कठिन हुन्छ।यही कमजोरीको फाइदा उठाउँदै आपराधिक गिरोहहरूले होटललाई “सेफ हाउस”को रूपमा प्रयोग गरिरहेका छन्।
यौन व्यवसाय र मानव तस्करीको जालो
पर्यटकीय क्षेत्रका होटलहरूमा यौन व्यवसाय मौलाउँदै गएको तथ्य विभिन्न अनुसन्धान,प्रहरी प्रतिवेदन र सञ्चारमाध्यमका समाचारले पुष्टि गरिसकेका छन्।कतिपय होटलहरूमा “मसाज”, “स्पा”वा “मनोरञ्जन सेवा”को नाममा अवैध यौन धन्दा चलिरहेको छ।गरिबी,बेरोजगारी र अशिक्षाका कारण ग्रामीण क्षेत्रबाट ल्याइएका महिला तथा किशोरीहरूलाई होटलभित्र बन्धक जस्तै बनाएर प्रयोग गरिने गरेको गुनासो बारम्बार उठ्दै आएको छ।
यो केवल अनैतिक क्रियाकलाप मात्र होइन,संगठित मानव तस्करीको एउटा खतरनाक रूप हो। सीमावर्ती क्षेत्रका होटलहरूबाट भारत तथा तेस्रो मुलुकतर्फ महिला तथा बालबालिका तस्करी गर्ने गिरोह सक्रिय रहेको आशंका पनि छ।होटल सञ्चालक,कर्मचारी र विचौलिया बीचको मिलेमतोले यस्तो अपराध वर्षौंदेखि चलिरहेको भए पनि दोषीहरू सजिलै उम्किँदै आएका छन्।
लागूऔषध र अवैध मदिराको कारोबार
पर्यटकीय क्षेत्र,विशेषगरी नाइटलाइफ चलेका सहर र राजमार्ग क्षेत्रका होटलहरू लागूऔषध कारोबारका केन्द्र बन्दै गएका छन्।विदेशी पर्यटकको नाममा गाँजा,कोकिन,ब्राउन सुगर,चरेस जस्ता लागूऔषध लुकाइ छिपाइ बिक्री हुने गरेको धेरै तथ्यहरुले प्रमाणित गरेका छन्। कतिपय होटलहरूमा पार्टी,कन्सर्ट र विशेष कार्यक्रमको आवरणमा खुलेआम लागूऔषधको प्रयोग र बिक्री हुने गरेको स्थानीयवासीको गुनासो छ।त्यस्तै,घरेलु मदिरा र अवैध रूपमा उत्पादित मदिराको बिक्री पनि होटलहरूबाटै हुने गरेको छ।कर छल्न र गुणस्तरहीन मदिरा बेच्न होटलहरू सुरक्षित स्थान बनिरहेका छन्,जसले जनस्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गरेको छ।
हुण्डी र कालो धन सेतो बनाउने थलो
पर्यटन क्षेत्रसँग ठूलो मात्रामा नगद कारोबार जोडिएको हुन्छ।यही कमजोरीको फाइदा उठाउँदै कतिपय होटलहरूमा हुण्डी कारोबार र कालो धन सेतो बनाउने (मनी लन्डरिङ) गतिविधि भइरहेको आशंका छ।विदेशी पर्यटकबाट आएको पैसाको नाममा अवैध स्रोतको रकम देखाउने, नक्कली बिल बनाउने,वास्तविक आम्दानी लुकाउने र कर छल्ने प्रवृत्ति व्यापक बनेको छ।
होटल व्यवसाय मार्फत गैरकानुनी रूपमा आर्जित रकम लगानी गरिने,जमिन खरिद–बिक्रीमा प्रयोग गरिने र राजनीतिक पहुँचको आडमा जोगाइने गरेको आरोप लाग्दै आएको छ।यसले राज्यको राजस्वमा ठूलो क्षति पु¥याएको छ भने इमानदार व्यवसायीहरू प्रतिस्पर्धामा पछि परिरहेका छन्।
प्रशासन र सुरक्षा निकायको कमजोरी
यस्ता अवैध गतिविधि मौलाउनुको मुख्य कारण कमजोर अनुगमन र प्रशासनिक उदासीनता हो।होटल दर्ता,नवीकरण,स्तरीकरण र नियमित निरीक्षण कागजमै सीमित देखिन्छ।कतिपय होटलहरू बिना अनुमति सञ्चालनमा छन् भने कतिपयले अनुमति लिएको उद्देश्यभन्दा फरक काम गरिरहेका छन्।स्थानीय प्रशासन,प्रहरी,पर्यटन कार्यालय र कर कार्यालय बीच प्रभावकारी समन्वय नहुँदा अपराधीहरूले सजिलै खेल्ने मौका पाएका छन्।अझ गम्भीर कुरा त कतिपय अवस्थामा सुरक्षा निकाय र कर्मचारीकै मिलेमतोमा अवैध कारोबार सञ्चालन भइरहेको आरोप छ ।“मासिक कमिसन बुझाउने”संस्कृतिले कानुनलाई निष्क्रिय बनाएको आम नागरिकको बुझाइ छ।
स्थानीय समाज र पर्यटन छविमा नकारात्मक प्रभाव
होटलहरूमा हुने यस्ता अवैध गतिविधिले स्थानीय समाजमा गम्भीर असर पारेको छ। लागू पदार्थको पहुँच बढ्दा युवा पुस्ता कुलतमा फस्दै गएका छन्।यौन व्यवसायका कारण सामाजिक मूल्य–मान्यता कमजोर बन्दै गएका छन्।अपराध बढ्दा शान्ति सुरक्षामा चुनौती थपिएको छ।
सबैभन्दा ठूलो क्षति भने नेपालको पर्यटन छविमा परेको छ। सुरक्षित,शान्त र आध्यात्मिक गन्तव्यको रूपमा चिनिनुपर्ने नेपाल,अवैध धन्दा र अपराधको केन्द्रको रूपमा चिनिन थाले पर्यटकको विश्वास गुम्न सक्छ। दीर्घकालमा यसले पर्यटन उद्योग नै धराशायी बनाउने खतरा छ।
कानुनी व्यवस्था भए पनि कार्यान्वयन कमजोर
नेपालमा होटल तथा पर्यटन सम्बन्धी कानुन,लागूऔषध ऐन,मानव बेचबिखन नियन्त्रण ऐन, मनी लन्डरिङ निवारण ऐन लगायत थुप्रै कानुनी व्यवस्था छन्।तर समस्या कानुनको अभाव होइन,कार्यान्वयनको कमजोरी हो।छापा,अनुगमन र कारबाही प्रायःदेखावटीमा सीमित हुने गरेको छ। ठूला होटल र पहुँचवाला सञ्चालक सजिलै उन्मुक्ति पाउँछन् भने साना व्यवसायी मात्र कारबाहीको सिकार हुने गरेका गुनासाहरु समय समयमा आउने गरेका छन् ।
सुधार गर्न के गर्नुपर्छ ?
पर्यटन क्षेत्रलाई अवैध कारोबारबाट मुक्त गर्न तत्काल ठोस कदम चाल्न आवश्यक छ। जस्तो होटलहरूको नियमित,पारदर्शी र कडा अनुगमन प्रणाली लागू गर्नुपर्छ।स्थानीय तह,प्रहरी, पर्यटन कार्यालय र कर निकायबीच प्रभावकारी समन्वय हुनुपर्छ।अवैध गतिविधिमा संलग्न होटलको इजाजत खारेजदेखि सम्पत्ति जफतसम्मको कठोर कारबाही हुनुपर्छ।पत्रकारिता र नागरिक समाजलाई निगरानीमा सक्रिय बनाउनु आवश्यक छ र इमानदार होटल व्यवसायीलाई प्रोत्साहन र संरक्षण गर्नुपर्छ।
निष्कर्ष
पर्यटन नेपालको सम्भावनाको ठूलो क्षेत्र हो।तर यदि पर्यटकीय क्षेत्रका होटलहरू अवैध कारोबारका अखडा बन्ने क्रम रोकिएन भने यो सम्भावना अभिशापमा रूपान्तरण हुन सक्छ। विकासको नाममा अपराधलाई संरक्षण गर्नु आत्मघाती कदम हो।अब पनि राज्य,समाज र सरोकारवाला निकाय गम्भीर नबन्ने हो भने होटलका झ्याल–ढोकाभित्र लुकेको कालो सत्यले एकदिन समग्र पर्यटन उद्योगलाई निल्नेछ।पर्यटन बचाउन अब अवैधतालाई संरक्षण होइन, निर्ममतापूर्वक अन्त्य गर्ने साहस आवश्यक छ।
लेखक : शंखर पहाडी(गौरब)
अध्यक्ष एवम सञ्चालक
कमलामाई मिडिया प्रा.लि