Close This

आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी

रासस    प्रकाशित: २०७७-४-३० गते   ३३७ पटक हेरिएको

 वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी, हरिहरपुरगढी, क्यानेश्वर र पीपलमाडी मिलेर हरिहरपुरगढी गाउँपालिका बनेको छ । पूर्वमा मरिण गाउँपालिका, पश्चिममा मकवानपुर र रौतहट, उत्तरमा काभ्रे जिल्ला र दक्षिणमा सर्लाही जिल्लासम्म सिमाना फैलिएको यस गाउँपालिकाको क्षेत्रफल २४३.९ वर्ग किलोमिटर रहेको छ ।

हरिहरपुरगढी मल्लकालीन समयमा मध्य तराईबाट पनौती हुँदै काठमाडौँ निस्कने प्रमुख पैदल मार्गका रूपमा रहेको थियो । महेन्द्र राजमार्गको निर्माणपछि यो मार्ग ओझल पर्दै गयो । व्यापारका लागि पनौती, बनेपा, भक्तपुरबाट हरिहरपुरगढी नजिकैको बसेरी गाउँ पुगेका नेवार समुदाय पनि घण्टेमा झरे । घण्टेका नेवार अहिले व्यापार होइन कृषि पेशामा आबद्ध भइसकेका छन् ।

हरिहरपुरगढी किल्लाको संरक्षण र व्यवस्थापनमा स्थानीय र प्रदेश सरकाको ध्यान दृष्टि पुगेको छ । सोही क्रममा हरिहरपुरगढी क्षेत्रमा पर्यटन विकास, पर्यटन प्रवर्द्धन, प्रचारप्रसार, पर्यटकीय क्षेत्रको पहिचानलगायतका विषयमा कसरी अगाडि बढ्ने भन्नेमा निरन्तर औपचारिक तथा अनौपचारिक छलफल हुने गरेका छन् ।

सिन्धुली जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलको निर्वाचन क्षेत्र रहेको यस क्षेत्रमा पुरातात्विक महत्वलाई प्राथमिकतामा राख्दै गढीको संरक्षण र व्यवस्थापनमा ध्यान दिन आवश्यक थप पहल निरन्तर भइरहेको छ ।

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने योजनाअनुसार हरिहरपुरगढीलाई प्राथमिकतामा राखेको छ । सो परियोजनाका लागि रु एक करोड विनियोजन गरिएको सांसद गजुरेलले बताए । हरिहरपुरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कमलजङ्ग राई, प्रदेशसभा सदस्य बुद्धिमान माझीलगायतको ध्यान पुगेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा थप मद्दत पुगेको हरिहरपुरगढी गाउँपालिकाले जनाएको छ ।

मकवानपुर राज्यको प्रमुख प्रशासकीय किल्लाका रूपमा इतिहासमा अङ्कित हरिहरपुरगढी सिम्रौनगढका राजा हरिसिंहदेवले निर्माण गरेको इतिहासमा पाइन्छ । सन् १३२६ मा दिल्लीका सुल्तान गयासुद्दीन तुगलगको नेतृत्वमा आएको मुस्लिम सेनाले कला, संस्कृति र आर्थिक हिसाबले समृद्ध सिम्रौनगढ राज्यमाथि आक्रमण गरेपछि केही सेना र सहयोगीसहित राजा हरिसिंह देव, रानी देवलदेवी, मन्त्री चण्डेश्वर ठाकुरलगायत उत्तरतिर भागेका थिए । त्यही क्रममा हरिहरपुरको जङ्गलबीचको डाँडामा किल्ला बनाई बसेको जानकारले बताएका छन् । सोही किल्लामा पछि मकवानपुरका सेना राजाले आक्रमण गरेपछि हरिसिंहदेव पूर्वतिर भागेर तिनपाटन भन्ने ठाउँमा पुगेर किल्ला बनाई बसे र त्यसको केही समयपछि सोही स्थानमा राजा हरिसिंह देवको निधन भएको इतिहासमा उल्लेख गरेको पाइन्छ ।

सिन्धुलीगढीबाट पराजित भएर भागेका अङ्ग्रेज कप्तान किनलक बाँकी रहेका सेना लिएर बारातिर अड्डा जमाउन थालेका थिए । बागमतीको किनार पछ्याउँदै हरिहरपुरगढी भएर पनौती निस्कने योजनाअनुसार अभियान थाल्ने क्रममा हरिहरपुरगढीमा किल्ला जमाएर बसेका गोर्खाली सेनासँग पुनःभिडन्त भएको इतिहासकार बाबुराम आचार्यले पृथ्वीनारायण शाहको जीवनी पुस्तकमा चर्चा गरे ।

मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग पहिलो विवाह गरेका पृथ्वीनारायण शाहसमेत हरिहरपुरगढीमा पटकपटक पुग्नुभएको इतिहासमा पाइन्छ । हेमकर्ण सेनले घण्टेमा महादेव मन्दिर स्थापना गरी घण्ट चढाएको शिलालेखमा उल्लेख छ । मन्दिरमा प्राप्त शिलालेखमा हेमकर्णेश्वर महादेव भनेर उल्लेख गरिएको सो मन्दिरलाई घण्टे महादेवका नामले समेत स्थानीयले पुकार्ने गरेको पाइन्छ । वाग्मती नदिको मैदानी भागमा रहेको मन्दिर क्षेत्रमा रहेको गाउँलाई घण्टे गाउँका रूपमा चिनिन्छ । मन्दिरको छेउमा हेमकर्ण सेनको शीतकालीन दरबारसमेत रहेको छ । सो दरबारको संरक्षणमा स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको छ ।

हरिहरपुरगढीमा रहेको देवीको मूर्ति चोरी भइसकेको छ भने सिंहको प्रस्तरकला टुटफुटको अवस्थामा छ । गढी नजिकै बसेरी गाउँमा हरिसिंह देवले नै स्थापना गरेको विश्वास गरिने कालीदेवीको मन्दिरसमेत रहेको छ । संरक्षणको पर्खाइमा रहेको मन्दिरभित्र टुटफुटको अवस्थामा रहेको पुरातात्विक मूर्तिसमेत रहेको छ । बसेरी गाउँमा रहेको रानी धारा, हेमकर्ण सेनको मुकामका रूपमा रहेको गुरुज्यूडाँडा, बाबुराम आचार्यले उल्लेख गरेका खुँडाघाट, हरिहरपुरगढी गाउँपालिका–७ मा रहेको प्राकृतिक कुण्ड पोखरीलगायत स्थलको खोजी गरेर इतिहासमा उल्लिखित स्थानको संरक्षण र प्रवद्र्धन गर्नसके हरिहरपुरगढीलाई एउटा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

सो क्षेत्रमा बसोबास गर्ने दनुवार जातिको कला, संस्कृति, भाषा, दैनिकी र जनजीवनलाई समेत संरक्षण गरी पर्यटकीय उत्पादनका रूपमा प्रस्तुत गर्न सकिन्छ । वाग्मती र मरिणको किनारमा ठूलाठूला टार क्षेत्र भएकाले कृषि उत्पादनको पनि प्रमुख क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।

कृषि र पर्यटनमार्फत स्थानीयवासीको आर्थिक उन्नतिमा टेवा पुर्याउन सकिने सम्भावनालाई ध्यान दिएर समृद्ध सिन्धुली अभियानले घण्टेदेखि हरिहरपुरगढी हुँदै सिन्धुलीगढीसम्मको पदयात्राको सम्भाव्यता अध्ययनसमेत गरेको छ । सोही क्रममा घण्टेदेखि हरिहरपुरगढी हुँदै बसेरी भएर जितपुरबाट भीमगाडसम्म पदमार्गको निर्माणसमेत सम्पन्न भइसको छ । सो पदमार्ग निर्माणमा सांसद गजुरेलले सांसद क्षेत्र विकास कोषबाट बजेट विनियोजन गर्नुभएको थियो । सिन्धुलीको कर्णाली भनेर चिनिने यस गाउँपालिकामा  आठवटा वडा रहेका छन् । वन, जङ्गल, डाँडापाखा र हरियाली रहेको यस गाउँपालिकामा मिश्रित जातजातिको बसोबास रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech