भन्सार एजेन्टको नाममा विचौलियाको विगविगि,सर्लाही भन्सार प्रशासन मौन

182 Shares

नेपाल भारत सीमा क्षेत्र स्थित सर्लाही भन्सार कार्यालय मलंगवामा भन्सार एजेन्टको नाममा विचौलियाको रजगज चलेको रहस्य सार्वजनिक भएको छ।५१ किलोमिटर नेपाल भारत सीमा क्षेत्र रहेको सर्लाहीको मुख्य नाका अन्र्तगत सर्लाही भन्सार कार्यालय मलंगवामा अर्काको प्रमाण पत्र भाडामा लिएर एजेन्टको नाममा विचौलियाको काम गर्ने गरेका रहस्य बाहिरिएको हो ।मलंगवा नगरपालिका ३ निवासी चुलाई चौधरीले प्रमोद महत्तोको एजेन्ट लाईसेन्सका साथै अन्य सोझा सादा एजेन्टहरुको प्रमाण पत्र भाडामा लिएर विगत लामो समयदेखि एजेन्टको नाममा विचौलियाको काम गर्दै आएका भन्सार एजेन्ट भाग्य नारायण मिश्रले बताए ।
उनका अनुसार करिब १५ वर्ष पहिला सामान्य परिवारका चौधरी भन्सारमा एजेन्टको नाममा विचौलियाको रुपमा काम गर्न थालेपछि सर्लाहीका धनाढ्यहरुको सूचिमा समावेश भएका छन् । भारतको सितामढी र सोनबरसा लगायत क्षेत्रसँग जोडिएको मलंगवा नाकाबाट दैनिक आयात निर्यात हुने मालवाहक सवारी साधनहरु तथा सामानहरु एन्ट्रि तथा पास गराउने काममा भन्सार एजेन्टको नाममा बिचौलियाको खुलेआम विगविगि बढ्दै गएको गुनासो व्यापारी, ट्रान्सपोर्ट व्यवसायी र सर्व साधारणबाट उठ्दै आएको भएपनि सरोकारवाला भन्सार प्रशासन मौन देखिएको एजेन्ट मिश्रले बताए ।
मलंगवा भन्सार ः सम्भावना र चुनौती
मलंगवा नाका सर्लाही, रौतहट, महोत्तरी धनुषा र सिरहाका साथै सिन्धुलीसम्मका व्यापारीहरूको कारोबार केन्द्र हो।कृषि उपज, किराना,कपडा,औद्योगिक कच्चा पदार्थ साथै खाद्यान्नदेखि साना(ठूला उपभोक्ता सामाग्री यही नाकाबाट आयात निर्यात हुने गर्छ।सम्भावना धेरै भए पनि अव्यवस्थित भन्सार प्रक्रिया,ढिलासुस्ती र एजेन्टको नाममा बिचौलियाको दबदबाले यो नाकालाई समस्याग्रस्त बनाएको छ।
एजेन्टभन्दा बिचौलिया बलियो
कानुनतः मलंगवा भन्सारमा काम गर्ने भन्सार एजेन्टहरू दर्ता, लाइसेन्स प्राप्त र जिम्मेवार हुनुपर्ने हो।तर व्यवहारमा वास्तविक एजेन्टभन्दा बाहिरका मान्छेहरू नै कारोबार चलाइरहेका देखिन्छन्। भन्सार परिसर वरपर घुम्ने,व्यापारी लाई रोक्ने,“एजेन्ट हुँ” भन्दै फाइल समात्ने एजेन्ट नामका बिचौलिया कै कारण मलंगवा भन्सार कार्यालय समस्यामा फसेको छ ।कतिपय अवस्थामा एक जना लाइसेन्स प्राप्त एजेन्टको नाममा पाँच(सात जना बिचौलिया सक्रिय हुने गरेका समेत पाईने गरेको छ। यसले एजेन्ट प्रणालीलाई नै अपहेलित बनाएको वास्तविक एजेन्टहरु बताउँछन् ।
“छिटो काम”को नाममा असुली
छिटो काम गराइ दिने प्रलोभनमा मलंगवा भन्सारमा बिचौलियाको बिगबिगी बढेको हो ।“लाइन लामो छ”,“आज सिस्टम स्लो छ”,“जाँच कडाइ छ”जस्ता डर देखाएर विचौलिया व्यापारीसँग अतिरिक्त रकम असुल्ने तथा साना व्यापारीहरू प्रक्रियाबारे अनभिज्ञ हुने भएकाले बिचौलियाको भर पर्न बाध्य हुनु पर्ने अवस्था सृजना भएको व्यापारीहरु नै बताउँछन् ।जसका कारण कानुनी शुल्कभन्दा बाहिरको रकम खुलेआम असुली हुने गरेको उनीहरुको आरोप छ।
भन्सार चुहावटमा मलंगवा पनि अपवाद छैन
मूल्याङ्कन घटबढ,तौल कम देखाउने,भन्सार शीर्षक परिवर्तन र अघोषित सामान पास गराउने जस्ता गतिविधिमा बिचौलियाको भूमिका केन्द्रित रहेको व्यापारीहरुको आरोप छ।यसमा केही कर्मचारी र एजेन्टको नामका विचौलियाको मिलेमतोको रहेको उनीहरुको आशंका छ।जसका कारण राज्यले पाउनुपर्ने ठूलो राजस्व गुमिरहेको छ ।
व्यापारी शोषण र त्रास
मलंगवा क्षेत्रमा कारोबार गर्ने साना तथा मध्यम व्यापारीहरू खुलेर बोल्न डराउँछन्।भन्सारका कर्मचारीहरुको मिलेमतोमा बिचौलियाले सामान अड्काइदिने, अनावश्यक जाँच लगाइदिने र जरिवाना थपिदिने जस्ता धम्की दिने गरेका साना व्यापारीहरु बताउँछन्।उनीहरुका अनुसार एजेन्टको नाममा विचौलियाहरुको विरोध गर्यो भने व्यापारी अर्को दिनदेखि समस्यामा पर्ने गरेका छन् 
प्रशासनको कमजोरी कि मौन सहमति ?
भन्सार प्रशासनले समय समयमा “बिचौलिया निषेध”का निर्देशन जारी गरे पनि मलंगवामा त्यसको प्रभाव छैन्।भन्सार परिसरभित्र अनधिकृत व्यक्तिको आवत जावत, एजेन्ट परिचय पत्र अनिवार्य नदेखाइनु र कर्मचारी र एजेन्टको नामका बिचौलियाबीचको अनौपचारिक सेटिङका साथै प्रशासनको कमजोर अनुगमन मुख्य समस्याको रुपमा रहेको छ ।
इमानदार एजेन्ट बदनाम
सबै एजेन्टहरु विचौलियाहरुको रुपमा छैनन्।मलंगवामा पनि नियमअनुसार काम गर्न चाहने, पारदर्शी एजेन्टहरू पनि छन्।तर बिचौलियाको गतिविधिका कारण सम्पूर्ण पेशा नै बदनाम भइरहेको भन्सार एजेन्टहरु कै गुनासो छ। “एजेन्ट भनेकै कमिसन खाने” भन्ने आमधारणा बस्दै जानु दुःखद पक्ष रहेको एजेन्टहरुको गुनासो छ ।
कानुनी व्यवस्था र कार्यान्वयनको खाडल
भन्सार ऐन र नियमावलीमा बिचौलियालाई स्पष्ट रूपमा निषेध गरिएको छ।तर समस्या कानुनमा नभई कार्यान्वयनमा देखिन्छ। राजनीतिक दबाब,स्थानीय पहुँच, कर्मचारीहरुको बारम्बार सरुवा र इच्छाशक्ति अभावका कारण बिचौलियामाथि कडा कारबाही हुन नसकेको स्रोतको दाबी छ ।
समाधानका ठोस उपाय
मलंगवा भन्सारलाई सुधारको नमूना बनाउन पूर्ण डिजिटल भन्सार प्रणाली,क्यूआर कोड/आईडी स्क्यान बिना फाइल नचल्ने व्यवस्था,भन्सार परिसरभित्र बिचौलियालाई पूर्ण प्रतिबन्ध, कर्मचारी,एजेन्ट जो कोही दोषी भए पनि कारबाही र भन्सार प्रक्रिया बुझाउने नियमित अभिमुखीकरण आवश्यक रहेको जानकारहरु बताउँछन् 
यता,कुनैपनि अर्काे मानिसको एजेन्ट प्रमाण पत्र भाडामा लिएर अर्काे मानिसले काम गर्न नपाउने  भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष प्राचिन कुमार थैवले बताए।उनका अनुसार जसको प्रमाण् पत्र हो उही स्वयम काममा खटिएको हुनु पर्ने र त्यो नभएको अवस्थामा भाडामा लिएर काम गर्ने मानिसलाई बिचौलिया भनिने साथै त्यसको नियमन भन्सार ऐन अनुसार भन्सार प्रशासनले गर्नुपर्ने समेत बताए। सर्लाही भन्सार कार्यालय मलंगवाका निमित्त प्रमुख एवम सूचना अधिकारी धर्मेन्द्र प्रसाद महतेलाई सम्पर्क गर्दा उनको फोन उठेन।एजेन्टका नामका विचौलियाले भन्सारका कर्मचारीलाई चर्काे कमिसन बुझाउने गरेका कारण सर्लाही भन्सार प्रशासन यस सवालमा मौन बसेको  स्रोतको आरोप छ ।अतःभन्सार एजेन्टको नाममा मौलाएको बिचौलियाको विगविगि केवल स्थानीय समस्या नभई राज्यको राजस्व, सुशासन र आर्थिक अनुशासनसँग जोडिएको गम्भीर चुनौती हो।यदि तत्काल सुधार गरिएन भने विचौलियाका कारण गैर कानूनी कार्य बढ्दै जाने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार