Close This

होटललाई क्वारेन्टाईन बनाउन होटल व्यवसायी तयार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३० गते   ३७१ पटक हेरिएको

सर्लाहीका होटल व्यवसायीहरु क्वारेन्टाइनका लागि आ–आफ्नो होटल दिन तयार भएका छन् । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईको भर्चुअल बैठकमा प्रदेशभरका व्यवसायीहरु नेपाल सरकारले निर्धारण गरेको शुल्कमा क्वारेन्टाइनका लागि होटल प्रदान गर्न तयार भएका हुन् । बैठकमा सहभागी महासंघका प्रदेश कोषाध्यक्ष एवं नमस्ते होटल लालबन्दीका सञ्चालक बैकुण्ठ सापकोटाले जिल्ला प्रशासन कार्यालय र स्थानिय निकायहरुले क्वारेन्टाइन राख्न होटलको माग गरे उपलब्ध गराउने निर्णय भएको जानकारी दिनु भयो ।
विभिन्न देशबाट उद्धार गरेर काठमाण्डौं ल्याइएका नागरीकहरुलाई राख्न सरकारले त्यहाँका होटललाई बुझाएको शुल्कलाई नै आधार मानेर प्रदेश नम्बर २ का होटल पनि उपलब्ध गराउने प्रदेशभरका होटल व्यवसायीहरुको बैठकबाट निर्णय गरिएको सापकोटाले बताउनुभयो ।  भर्चुअल बैठकमा सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, धनुषा, र सिरहाका अगुवा होटल व्यवसायीहरुको सहभागी रहेको थियो ।
सप्तरीका टेलिफोनमार्फत त्यहाँका व्यवसायीले पनि महासंघको निर्णयलाई स्वीकार गरेका कोषाध्यक्ष सापकोटाले बताउनु भयो । कोरोनाको त्रास सुरु भएपछि भारतसँग सीमा जोडिएको प्रदेश दुईमा अन्य व्यवसायसँगै होटल तथा पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । जिल्लागत तथा स्थानिय निकायगत रुपमा निषेधाज्ञा जारी भएपछि होटल व्यवसायीहरु थप मारमा परेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech