सागरनाथ वन विकास परियोजनामा दैनिक ज्यालादारीमा कार्यरत चौकीदार इश्वरपुर नगरपालिका २ का रामेश्वर महतोको हत्या भएको घटना प्रति सागरनाथ वन विकास परियोजनाको ध्यानाकर्षण भएको छ ।चौकीदार महत्तोको कर्तव्यपालनको शिलशिलामा वन तस्करको आक्रमणबाट सहादत प्राप्त गरेका चौकिदार महतोको वीरताको उच्च सम्मान गर्ने र उनलाई संरक्षण शहीद घोषणा गर्न पहल गर्ने,अन्तिम संस्कार र क्रिया खर्च वापत तत्कालै रु.२५ हजार पीडित परिवारलाई उपलब्ध गराउने,वन पैदावार विकास समिति,काठमाडौं,सागरनाथ वन विकास परियोजना, सर्लाही र रतुवामाई वृक्षारोपण आयोजना, केरखा झापामा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बराबरीको रकम सहयोग स्वरुप संकलन गरी तत्कालै पीडित परिवारलाई उपलब्ध गराउने लगायतका निर्णय भएका परियोजनाका प्रमुख खेमलाल वि.क.ले जानकारी दिए ।
उनका अनुसार आश्रित परिवारको जीविकोपार्जनका लागि देशैभरबाट राहत रकम संकलन गरी हस्तान्तरण गर्ने,स्व.महतोको अन्त्येष्ठीमा सम्पूर्ण कर्मचारी उपस्थित भई सम्मान प्रकट गर्ने,पीडित परिवारका आश्रित सदस्य मध्य एकजनालाई तत्कालै परियोजनामा नीज महतोकै पदमा काम गर्ने गरी रोजगारी प्रदान गर्ने र नेपाल सरकारबाट नियमानुसार प्राप्त हुने क्षतिपूर्तिका लागि आवश्यक पहल गर्ने तथा वन पैदावार विकास समिति केन्द्रीय कार्यालय, काठमाडौंबाट तत्काल उचित क्षतिपूर्तिका लागि परियोजना मार्फत पहल गर्ने लगायतका निर्णय भएका छन् ।

परियोजना प्रमुखको रुपमा वि.क.आएपछि वन तथा वनजन्य पदार्थको चोरी तस्करी गर्ने तस्करहरुको निद हराम भएकाले उनीहरु आक्रोसित भई वनकर्मीहरु माथि अमानविय व्यवहार गर्न थालेका स्थानीयले बताए ।ईश्वरपुर नगरपालिका २ राइटरखोरका अन्दाजी ४९ वर्षीय चौकीदार महतोको टाउँको काटिएको अवस्थामा शनिबार शव फेला परेको थियो।प्रहरीले लगातार खोजतलास गर्ने क्रममा घटनास्थल भन्दा केही पर टाउँको फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले चौकीदार महतोको हत्यामा संलग्न रहेको आशंकामा इश्वरपुर नगरपालिका २ राइटरखोरकै एक युवकलाई पक्राउ गरी अनुसन्धान सुरु गरि सकेको छ । कपडामा रगत लतपतिएको अवस्थामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।प्रहरीका अनुसार घटनास्थलमा बन्चरो फेला पारिएको र सोही बन्चरो प्रयोग गरी चौकीदार महतोको निर्ममतापूर्वक घाँटी छिनाएर हत्या गरिएको हुन सक्ने आशंका गरेको छ।चौकीदार महतो घरबाट निस्किएको नौ घण्टापछि परियोजनाको पलौट क्षेत्रमा टाउको नभएको अवस्थामा शव फेला परेको थियो ।