पत्रकार र वकिल बीचको विवाद सहमतिमा टुंगियो

465 Shares

नेपाल पत्रकार महासंघ,मधेश प्रदेश समिति र नेपाल बार एसोसिएसन,जनकपुर,धनुषाबीच उत्पन्न विवाद अन्ततःसहमतिमै टुंगिएको छ।जनकपुरमा गुठी संस्थानको जग्गालाई लिएर  नेपाल बार एसोसिएसन र पत्रकार महासंघ मधेश प्रदेश विच उत्पन्न विवाद अन्ततःसहमतिमै टुंगिएको हो ।नेपाल बार एसोसिएसन र पत्रकार महासंघले गठन गरेको उच्चस्तरीय वार्ता समितिले संवाद र सहमतिमार्फत विवाद समाधान गरेको समितिका सदस्य एवम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजु वि.क.ले जानकारी दिए ।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका ४ स्थित नेपाल पत्रकार महासंघ मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा पाएको चार कठ्ठा जग्गामध्ये एक कठ्ठा एक धुर क्षेत्र बार एसोसिएसनलाई पार्किङ प्रयोजनका लागि सवलिजमा दिने र बाँकी तीन कठ्ठा जग्गा महासंघले बहुउद्देश्यीय गतिविधिका लागि प्रयोग गर्ने सहमति भएको छ ।
विवादका क्रममा भएका घटनाप्रति दुबै पक्षले दुःख प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।साथै,दुवै पक्षले दुई दिनभित्र एक अर्काविरुद्ध दायर भएका सबै कानुनी कारबाही फिर्ता लिने वा कानून अनुसार निस्क्रिय बनाउने साथै सामाजिक सञ्जालमा आपसी आलोचनात्मक टिप्पणी नगर्ने प्रतिबद्धता जनाएका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जाराले बताए ।
उनका अनुसार भविष्यमा पेशागत मर्यादा,सामाजिक न्याय र लोकतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्दै अघि बढ्ने दुवै संस्था विच सहमति भएको छ ।सहमतिको लिखित मिलापत्रमा नेपाल पत्रकार महासंघ,मधेश प्रदेशका अध्यक्ष बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुर, धनुषाका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन्। वार्ता समितिमा बार एसोसिएसन तर्फबाट केन्द्रीय सचिव अधिवक्ता बाबुराम अर्यालको संयोजकत्व तथा वरिष्ठ अधिवक्ता चन्द्रकुमार शर्मा मैनाली र अधिवक्ता श्यामकुमार मिश्र सदस्य थिए।पत्रकार महासंघको तर्फबाट केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरु राजेश कर्ण तथा राजु वि.क.सहभागी थिए ।
गत साउन २७ गते बार एसोसिएसनले उक्त जग्गामा पार्किङ प्रयोजनका लागि कब्जा गर्न खोज्दा पत्रकार महासंघ मधेश प्रदेशले संरक्षणार्थ बार लगाउँदा विवाद चर्किएको थियो।त्यस क्रममा वकिलहरुको आक्रमणमा महासंघ मधेश प्रदेशका अध्यक्ष बन्जारा,उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो(क्रान्ति) लगायत पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।भने उक्त विषयले सामाजिक सञ्जाल तातेको थियो ।

सम्बन्धित समाचार