सर्लाहीमा कार्यालय प्रमुखहरुलाई निर्वाचन अघि जिल्ला नछाड्न र छाड्नुपर्दा अनिवार्यरुपमा प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिन निर्देशन दिइएको छ । सर्लाही सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुलाई निर्वाचन अघि जिल्ला नछाड्न र छाड्नुपर्दा अनिवार्यरुपमा प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार बैठकमा निर्वाचनलाई लक्षित गरी जिल्लास्थित सरकारी कार्यालयमा उपलब्ध सवारी साधनलाई मर्मतसम्भार गरी चालकसहित चुस्तदुरुस्त हालतमा राख्न र जिल्लाबाहिर सरकारी सवारी साधन पठाउँदा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट पास लिन भनिएको छ।बैठकले प्रत्येक कार्यालयलाई आफू मातहतका कर्मचारीहरुको विवरण एक हप्ताभित्र जिल्ला निर्वाचन कार्यालयमा पठाउन पनि निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय सलाहृीले जनाएको छ ।
चुनावमा कर्मचारीहरु खटाउनुपर्ने हुँदा प्रत्येक कार्यालयहरुबाट कर्मचारीको विवरण माग गरिएको हो।बैठकमा मतदानस्थलसम्म पुग्ने सडकहरु बिग्रिएको भए सम्वन्धित निकायले जतिसक्दो चाँडो मर्मत सम्भार गर्ने र विकास निर्माणको कार्यमा बाधा अवरोध आएमा जिल्ला प्रशासन कार्यालयले बाधा फुकाउन प्रयत्न गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।