सर्लाहीको लालबन्दी नगरपालिका र चन्द्रनगर गाउँपालिका उत्कृष्ट घोषणा भएका छन् ।जिल्ला समन्वय समिति सर्लाहीले जिल्लाका २० वटा पालिकामध्ये अनुकरणीय कार्य गरेको भन्दै लालबन्दी नगरपालिका र चन्द्रनगर गाउँपालिकालाई उत्कृष्ट पालिकाको रुपमा छनौट गरेको हो।जिल्लाभरमा उत्कृष्ट घोषित गरिएका यि पालिकाले अब प्रदेशस्तरमा गएर प्रदेशभरका अन्य उत्कृष्ट पालिकासँगै आफूले गरेका असल कामको प्रस्तुतिकरण गर्नुपर्ने जिल्ला समन्वय समिति सर्लाहीका समन्वय अधिकारी कमलबहादुर कार्कीले बताए ।उनका अनुसार लालबन्दी मधेशमै स्वास्थ्यतर्फ उत्कृष्ट भइसकेको र चन्द्रनगर गाउँपालिकाले नमूनाको रुपमा मोरिंगा (सोहजन) खेतीको अभियान चलाएकाले यसैलाई मुख्य आधार मानेर जिल्लामा उत्कृष्ट पालिकाको रुपमा छनौट गरिएको हो ।
“जिल्लास्तरमा स्थानीय तहको असल अभ्यास सम्वन्धी अनुभव आदानप्रदान कार्यक्रम”मा लालबन्दी नगरपालिका र चन्द्रनगर गाउँपालिकाको तर्फबाट भएको प्रस्तुति हेर्दा राम्रा कामहरु गरेको पाइएपछि प्रदेशस्तरको कार्यक्रमका लागि जिल्लाबाट छनौट गरिएको जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र महत्तोले बताए ।उनका अनुसार आ–आफ्नो पालिकाभित्र भएका असल अभ्यास सम्वन्धी प्रस्तुतिकरण गर्ने शुक्रबारको उक्त कार्यक्रममा जिल्लाका २० वटा पालिकाहरु मध्य १२ वटा पालिकाको मात्रै उपस्थिति रहेको थियो ।