सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ । बेलैमा किसानहरुबाट किनेको उखुको पैसा तिर्न नसक्दा बद्नामी कमाएको उद्योगले माघ मध्यतिर आएर उखु क्रसिङ सुरु गरेको हो ।
यो उद्योग नियमित संचालन हुनै सकेको छैन्। गत साल उद्योग थोरै उखु क्रसिङ गरेर बन्द भएको थियो । धनकौल चिनी मिलबाट अझै पनि आफूहरुले पुरानो भुक्तानी नै लिन बाँकी रहेको जिल्लाका उखु उत्पादक किसानहरुको गुनासो छ ।
उद्योगसँग आफूले मात्रै करिब पाँच लाख रकम लिन बाँकी रहेको धनकौलका उखु उत्पादक किसान रामकल्याण यादवले गुनासो गरे । जिल्लाका अन्य उखु उत्पादक किसानहरुले पनि विगतका वर्षहरुमा उद्योगलाई बेचेको उखुको भुक्तानी पाएका छैनन् ।
भुक्तानी माग्न जाँदा उद्योगले भोली–भोली भन्दै आलटाल गरिरहेको जिल्लाका उखु उत्पादक किसानहरुले गुनासो गरेका छन् । जिल्लाको हपिरवनमा रहेका इन्दुशंकर चिनी उद्योग र गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग बगदह करिव १ महिनाअघि देखि नै संचालनमा छन् ।