सर्लाहीमा चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

191 Shares

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नं. १ को लालबन्दी नगरपालिका १० स्थित वडा कार्यालयमा,क्षेत्र नं. २ को मलंगवा,क्षेत्र नं. ३ को हरिवन नगरपालिका स्थित रहेको मालपोत कार्यालय हरिवनमा र क्षेत्र नं. ४ को गोडैता स्थित वेणी भोला नमूना माध्यमिक विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सर्लाहीमा क्षेत्र नं. १ बाहेक अन्य तीनवटा निर्वाचन क्षेत्रमा अघिल्लो पटकको निर्वाचनमा रहेका निर्वाचन अधिकृतको कार्यालय रहेकै ठाउँमा पुनःअहिले कार्यालय स्थापना गरिएको हो । क्षेत्र नं. १ मा यसअघिको निर्वाचनमा पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका ६ मा रहेको पुरानो नगरपालिका भवनमा निर्वाचन अधिकृतको कार्यालय रहेको भएपनि यस पटक भने लालबन्दी नगरपालिका १० को वडा कार्यालयको भवनमा निर्वाचन अधकिृतको कार्यालय स्थापना गरिएको हो ।
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै फागुन २१ को निर्वाचनको तयारीले थप तीव्रता पाएकोे छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यक्रम अन्तर्गत माघ ६ गते देशभर एकैसाथ उम्मेदवारी दर्ता गरिँदै छ ।निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्तासहित अन्य तयारीका काम धमाधम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवम जिल्ला निर्वाचन अधिकारी पौडेलले बताए । 
फागुन २१ को निर्वाचनका लागि सर्लाहीमा जिल्ला अदालतका मुख्य न्यायाधीश पुष्पराज थपलिया मुख्य निर्वाचन अधिकृत सहित सर्लाही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तोकिएका छन् ।
त्यसैगरी क्षेत्र नं. १ मा सर्वोच्च अदालतका इजलास अधिकृत टीका बहादुर थापा,क्षेत्र नं. ३ मा संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव नवराज आचार्य र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत विनोद प्रसाद घिमिरे निर्वाचन अधिकृतको रुपमा तोकिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।तीन सय १२ मतदानस्थल र छ सय २८ मतदान केन्द्र रहेको सर्लाहीमा पाँच लाख ११ हजार छ सय छ जनाले मतदानत गर्ने छन्।

सम्बन्धित समाचार