आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्ष तर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सर्लाहीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।क्षेत्र हुँदै जिल्ला र प्रदेशले सिफारिस गरि पठाएका उम्मेदवाहरुबाट नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ चुनाव लड्ने उम्मेदवाहरुको टुङ्गो लगाएको हो ।जसमा सर्लाही क्षेत्र नम्बर १ मा निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह,क्षेत्र नम्बर २ मा निवर्तमान प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादव,क्षेत्र नम्बर ३ मा निवर्तमान प्रतिनिधि सभा सदस्य एवम निवर्तमान उप प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठ र सर्लाही क्षेत्र नम्बर ४ मा डा. अभिनास यादवको नाम टुङ्गो लगाएको हो ।
यता,नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम पूर्वमन्त्री रामेश्वर राय यादव र नेकपाका नेता शिव पुजन राय यादवले नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका छन् ।राय नेकपा परित्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट्न पुगेका छन् भने यादवले आफ्ना छोरालाई सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार नबनाएको भन्दै नेकपा परित्याग गरेको घोषणा गरेका हुन ।पार्टीले सर्लाही क्षेत्र नम्बर ३ बाट निवर्तमान उप प्रधान एवम गृह मन्त्री श्रेष्ठलाई टिकट दिएपछि नेता रायले पार्टी छाडेको घोषणा गरेका हुन ।उनले नेकपाका संयोजक पुष्प कमल दाहाल(प्रचण्ड)को शैलि प्रति आपत्ति जनाएका छन्।पार्टीले श्रेष्ठलाई टिकट दिएको विषयमा रायले कार्यकर्ताको भावना बुझ्दै नबुझी जवरजस्ती केन्द्रीय कमिटीले निर्णय लाद्ने काम गरेको आरोप लगाए।स्थानीयस्तरमा आफूहरुले दुःख गरेर संगठन बनाउने तर चुनाव लड्ने बेला अरु नै नेताहरु आएर लड्ने कुरा आफूलाई अनुचित लागेको रायको भनाइ छ।रायले आफू जसपा नेपालमै प्रवेश नगरे पनि चुनाव लड्ने पक्का भएको बताए ।यादवले नेकपाले अन्तिममा आफ्नो छोरा अभिनिस यादवलाई टिकट नदिएपछि पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।उनले आफू अब तुरुन्त नेकपा एमाले वा अन्य पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको समेत बताए ।राय र यादवले नेकपा परित्याग गरेपछि नेपाली कम्युनिष्ट पार्टी सर्लाहीलाई ठूलो धक्का लागेको छ ।
पूर्व सांसदसमेत रहेका यादव सर्लाहीको क्षेत्र नम्बर ४ मा नेकपाका शक्तिशाली नेता मानिन्छन् ।उनकै जोडबलमा तत्कालिन नेकपा(माओवादी केन्द्र)ले बलरा नगरपालिकाको नगर प्रमुख र रामनगर गाउँपालिकमा आफ्नै छोरा राजाबाबु यादव अध्यक्षमा निर्वाचित भएका थिए ।सर्लाहीमा अहिले विभिन्न पार्टीहरुमा चुनाव लड्न टिकट नपाए पार्टी परित्याग गरी नेताहरुको होडबाजी चलेको छ ।