फागुन २१ को निर्वाचन सर्लाहीका चारै क्षेत्र राजनितिक चर्चाको शिखरमा

241 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चार वटै निर्वाचन क्षेत्र राजनितिक चर्चाको शिखरमा छन्।निवर्तमान गृह तथा रक्षा मन्त्री,निवर्तमान प्रतिनिधि सभा सदस्य देखि निवर्तमान नगर प्रमुख तथा पार्टीका जिल्ला र केन्द्रका सभापति र आफ्नो पार्टीले टिकट नदिएपछि भागेका नेताहरुले अन्य ठाउँबाट उम्मेदवारी दिएपछि सर्लाहीका चार वटै निर्वाचन क्षेत्रहरु राजनितिक चर्चाको शिखरमा पुगेका हुन। 
नेपाल सरकारका निवर्तमान उप प्रधान एवम गृह मन्त्री एवम नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायण काजी श्रेष्ठ,निवर्तमान रक्षा मन्त्री एवम नेकपा(एमाले)का नेता हरि प्रसाद उप्रेतीका साथै निवर्तमान सांसद नरेन्द्र साहका कारण सर्लाहीको क्षेत्र नम्बर ३ राजनितिक चर्चामा छ।अन्यन्त्रबाट नजित्ने भएपछि सर्लाही क्षेत्र नम्बर ३ रोजेका निवर्तमान गृह मन्त्री एवम नेकपाका नेता श्रेष्ठ र उनलाई कुनैपनि हालतमा हराउने भनेर उम्मेदवारी दिएका निवर्तमान रक्षा मन्त्री एवम नेकपा(एमाले)का नेता उप्रेतीका साथै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले टिकट नदिएपछि असन्तुष्ट बनेका साहले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट टिकट ल्याएर सर्लाही क्षेत्र नम्बर ३ लाई राजनितिक चर्चाको शिखरमा पुर्याएका हुन ।
त्यस्तै,नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सहित पार्टीले टिकट नदिएपछि भागेर जनता समाजवादी पार्टी(जसपा) नेपालबाट रामेश्वर राय यादव र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवारी दिएका निवर्तमान प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहका कारण सर्लाही क्षेत्र नम्बर ४ पनि राजनितिक चर्चामा छ ।
नेपाली कांग्रेसबाट निवर्तमान प्रतिनिधि सभा सदस्य बनेका र यस अघि पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवार बनी निर्वाचित भएका साथै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रोजेका डा.सिंह,तत्कालीन नेकपा(माओवादी केन्द्र)हालको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले टिकट नदिएपछि पार्टी छाडेर जसपामा प्रवेश गरेका रामेश्वर राय यादवका साथै अन्यन्त्रबाट चुनाव नजित्ने भएपछि सर्लाही क्षेत्र नम्बर ४ रोजेका कांग्रेसका सभापति थापाका कारण सर्लाही क्षेत्र नम्बर ४ राजनितिक चर्चाको शिखरमा पुगेको हो ।
यता,निवर्तमान मन्त्री एवम नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ,निवर्तमान प्रतिनिधि सभा सदस्य एवम नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता प्रमोद साह,इश्वरपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख एवम नेकपा(एमाले)का नेता मनोज कुमार देवकोटाका साथै बागमती नगरपालिकाका नगर प्रमुख एवम नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरत कुमार थापाले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि सर्लाही क्षेत्र नम्बर १ राजनितिक चर्चाको शिखरमा पुगेको हो ।
तत्कालीन नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार बनी तत्कालीन नेकपा(एमाले)का नेता झलनाथ खनाललाई हराएका हालका नेपाली कांग्रेसका नेता श्रेष्ठ,अन्य पार्टीले टिकट नदिएपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरी टिकट ल्याएका निवर्तमान प्रतिनिधि सभा सदस्य साहका साथै सान्त्वना मत पाएर आफुमाथि लागेको भ्रष्टाचार सम्बन्धी मुद्धाको दाग मेटाउने सोचमा रहेका थापाको उम्मेदवारीले सर्लाही क्षेत्र नम्बर १ राजनितिक चर्चाको शिखरमा पुगेको छ ।
साथै,निवर्तमान मन्त्री एवम हालका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता महिन्द्र राय यादव,निवर्तमान मन्त्री एवम राष्ट्रिय मुक्ती पार्टीका अध्यक्ष राजेन्द्र महत्तो र नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार राय यादवको उम्मेदवारीले सर्लाही क्षेत्र नम्बर २ लाई पनि राजनितिक चर्चाको शिखरमा पुर्याएको छ।पहिलाको हार बदला लिने योजनाका साथ राष्ट्रिय मुत्ती पार्टीका अध्यक्ष महत्तोले सर्लाही क्षेत्र नम्बर २ लाई तताएका छन् ।चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा एक सय ३३ जनाको उम्मेदवारी परेको भएपनि धेरै डोमी उम्मेदवार रहेपनि यी उम्मेदवारहरु विभिन्न कारणले चर्चामा रहेका हुन ।

सम्बन्धित समाचार