लायन्स क्लबबाट प्राप्त उपकरणले मधेश प्रदेशको मुटुको रुपमा परिचित र मध्यभागमा रहेको लालबन्दीमा आँखा उपचार केन्द्रका बिरामीका लागि ठुलो राहत मिलेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बताए ।उनले अत्याधुनिक उपकरणले लालबन्दी मात्र नभइ मधेश प्रदेशका अन्य जिल्ला र भारतीय नागरिकलाई समेत लाभ मिल्ने विश्वास व्यक्त गरे ।
उनले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको बताउँदै सुधारका लागि स्वास्थ्य मन्त्रीलाई कदम चाल्न निर्देशन दिएको समेत बताए । यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री जंगीलाल राय यादवले आँखा उपचार केन्द्र लालबन्दीका लागि लायन्स क्लबले प्रदान गरेको उपकरण संचालन गर्न सक्ने क्षमता भएका प्राविधिक प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
काठमाडौंको तिलगङ्गाको झैँ लालबन्दीमै आँखाको उपचार र शल्यक्रियाको व्यवस्था गर्न लागि परिरहेको लायन्स क्लब इन्टरनेशनलका पूर्व काउन्सिल चेयरपर्सन भरतप्रसाद ढुंगेलले बताए।उनका अनुसार आवश्यक प्राविधिकहरुको व्यवस्थापन गर्न प्रदेश सरकारलाई घचघच्याउने काम जारी छ ।
सर्लाहीको लालबन्दीमा संचालित सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई लायन्स क्लब इन्टरनेशनलले रु दुई करोड भन्दा बढीको आधुनिक उपकरणहरु हस्तान्तरण गरेको छ ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायको विशिष्ठ आतिथ्यतामा क्लबले लालबन्दी नगरपालिका ५, जरुवा पानीमा संचालित आँखा उपचार केन्द्रको स्तरोन्नतिका लागि रु दुई करोड २० लाख २१ हजार आठ सय ६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरेको लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।उनका अनुसार उपकरणहरुमा आँखाको अप्रेसन गर्न मिल्ने फेको सर्जरी मेसिन सहित माइक्रोस्कोप र ल्याम्प लगायतका उपकरणहरु हस्तान्तरण गरिएको हो ।
अत्याधुनिक मेसिनहरु प्राप्त भएसँगै दक्ष चिकित्सक र प्राविधिकहरु राखेर सर्लाही,महोत्तरी, रौतहट र सिन्धुली तथा भारत बिहारका करिव १० लाख मानिसलाई आँखा उपचार सेवा प्रदान गर्ने लक्ष्य रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति ध्रुव प्रसाद घिमिरेले बताए ।कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।