गर्मी बढेसंगै सर्लाहीे सदरमुकाम मलंगवा सहित तराईका जिल्लाहरुमा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी सिजन सुरु हुने समयमा लामखेट्टेको प्रकोप बढ्ने भएपनि मलंगवा नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने सम्भावना बढदै गएको मलंगवाका स्थानिय सुन्दर श्याम यादवले बताएका छन् । स्थानीय निकायका निर्वाचित नगर प्रमुख तथा वडा अध्यक्षहरुले यस्ता कुरामा समयमै ध्यान दिनुपर्ने यादवको भनाई छ ।
सरसफाई व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलंगवा नगरपालिका अन्तर्गतका १२ वटै वडाहरु एक जुट भएर लाग्नु पर्ने अर्का स्थानिय राजेश पासवानले बताएका छन् । उचित सरसफाई हुन नसक्दा मलंगवा बजार क्षेत्र तथा टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ ।
गत वर्ष नगरपालिकाले छर्केको औषधीयुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको मलंगवा नगरपालिका २ का स्थानिय बिजय साहले बताएका छन् । गएको वर्ष नगरपालिकाले लामखुट्टे मार्ने औषधी छर्केको भएपनि त्यो औषधीले लामखुट्टे नमरेको अर्का स्थानीय मुक्ता यादवले गुनासो गरेका छन् । नगरका अधिकांश बासिन्दाले नगरपालिकाले गत वर्ष छर्केको औषधीले एउटापनि लामखुट्टे नमरेको गुनासो हुन् । जनमानसमा नगरपालिकाले नामको लागी मात्र औषधि छर्ने गरेको गुनासो समेत बढेको छ । स्थानीय बासिन्दाहरुले यसवर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नु पर्ने माग गरेका छन् ।
मलंगवाको बजार क्षेत्र र टोल बस्तीमा नियमित सरसफाई नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानियबासीको अनुमान छ । नगरपालिकामा कार्यरत सरसफाइकर्मीहरुले कहिले काँही मात्र सरसफाइ गर्ने गरेकोले लामखुट्टेको प्रकोप बढेको स्थानीयबासीहरुले बताएका छन् । दैनिकी रुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
भने नगर प्रमुख निरसल साहले आफ्नो नगरपालिकाले राखेका सरसफाईकर्मीहरुले नगर क्षेत्रको नियमित सरसफाई गरि रहेका बताउनु भयो । साथै उहाँले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा यस वर्ष पनि औषधि छर्किने बताउनु भयो । नगरपालिकाले सकेको गर्दै गर्दापनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरबासी पनि सजग भएर लाग्नु पर्ने उहाँको भनाई छ ।