पहिला प्रचण्डमाथि कारबाही हुनुपर्ने नेकपा नेता गजुरेलको माग

178 Shares

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)भित्र विधि,पद्धति र अनुशासनको सबैभन्दा ठूलो उल्लंघन गर्ने व्यक्ति स्वयं पार्टी संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) नै रहेका नेकपाका नेता हरिबोल गजुरेको आरोप छ ।नेकपाका संयोजक प्रचण्ड र सह संयोजक माधव कुमार नेपालले हस्ताक्षर गरि गजुरेल सहित महेश्वर दाहाललाई पार्टीबाट निष्काशित गरेपछि आक्रोसित भएका नेता गजुरेलले पहिला प्रचण्ड माथि कारबाही हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
पार्टीको आधिकारिक निर्णय र स्थानीय सिफारिसलाई बेवास्ता गर्दै उम्मेदवार छनोटमा मनोमानी गरिएको भन्दै नेकपा नेता गजुरेलले नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरे ।प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक निर्णय विपरीत उम्मेदवारी दिएको, प्रस्तावक तथा समर्थक बनेको आरोपमा नेकपाले गजुरेलसहित उम्मेदवार बनेका सात जना नेतामाथि निस्कासन गरेको थियो।पार्टीले शनिबार सार्वजनिक गरेको निर्णय अनुसार पार्टी निर्णय र निर्देशन विरुद्ध उभिने सबैमाथि अनुशासनको कारबाही गरिएको छ ।
तर, निर्णय सार्वजनिक भएलगत्तै गजुरेलले प्रतिक्रिया दिँदै सिन्धुली जिल्लाबाट सिफारिस भएका उम्मेदवारलाई बेवास्ता गरी केन्द्रबाट एकलौटी ढंगले उम्मेदवार तोकिनु नै पार्टी विधि र प्रक्रिया विपरीत भएको उनले दाबी गरे । गजुरेलले नेतृत्वले आफैँ विधि मिचेर अरूलाई कारबाही गर्नु हास्यास्पद र अन्यायपूर्ण भएको तर्क समेत गरेका छन्।पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको र निर्णय प्रक्रिया केही व्यक्तिको हातमा सीमित हुँदै गएको आरोप पनि उनले लगाए । 
उनले पार्टीमा फरक मत राख्नेहरूलाई अनुशासनको नाममा दबाब दिन खोजिएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले संगठनलाई झनै कमजोर बनाउने चेतावनी दिए।नेतृत्वले आत्मसमिक्षा नगरेसम्म पार्टीभित्रको विवाद र असन्तुष्टि अझ गहिरिने उनको तर्क छ ।

सम्बन्धित समाचार