अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सिन्धुलीमा सम्पन्न भएको छ।सिन्धुली अपाङ महिला संघको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई आर्थिक,सामाजिक,सांस्कृतिक तथा राजनीतिक अधिकारका रूपमा स्थापित गर्दै राज्यले सुनिश्चित गरेका हक अधिकारको संरक्षण,संवद्र्धन र प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङले अपाङ्गता भएका नागरिकले विविधताको पहिचानसहित आत्म सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार तथा सार्वजनिक सेवा र पहुँचको हकका विषयमा सिन्धुली अपाङ महिला संघकी अध्यक्ष दिल कुमारी देवकोटा (दिपा)ले कार्यपत्र प्रस्तुत गरेकी थिईन्।उनका अनुसार कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई कानुन बमोजिम प्राप्त हुने सामाजिक सुरक्षाको हक,सुविधा तथा सेवाका विषय जानकारी गराईएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार स्थापना गर्न सञ्चार तथा सूचना आदान प्रदानमा सहजीकरण आवश्यक रहेको रुद्र बहादुर खड्काले बताए।उनले नेतृत्व विकास, पैरवी र उद्यमशीलता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने समेत बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा मतदान गर्न पाउने वातावरण निर्माण गर्न सरोकारवाला निकायले विशेष ध्यान दिनु पर्ने खड्काले बताए ।यता,अपाङ्गता भएका व्यक्तिमाथि हुने सबै प्रकारका भेदभावको अन्त्य गर्न समाज र राज्य दुवै जिम्मेवार हुनुपर्ने सिन्धुली अपाङ्ग कल्याण संघकी अध्यक्ष बबिता थापाले धारणा राखिन् ।