आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता डा.अमरेश कुमार सिंहले पटक पटक चुनाव जितेको सर्लाही क्षेत्र नम्बर ४ मा साक्षरता दर निकै कम रहेको पाइएको छ।कहिले नेपाली कांग्रेस त कहिले स्वतन्त्र हुँदै पार्टी नै स्वतन्त्रबाट सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका डा.सिंहको क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ अनुसार दुई लाख २० हजार ८७ जनसंख्या रहेकोमा आठ दशमलव सात प्रतिशत मानिस मात्रै सहरी क्षेत्रमा बस्छन्।बाँकी ९१ दशमलव ३ प्रतिशत मानिसहरु अर्धसहरी क्षेत्रमा बस्छन्। जबकि,नेपालको कुल जनसंख्याको २७ प्रतिशत सहरमा बस्छन्।
धनकौल,रामनगर गाउँपालिका सहित बलरा नगरपालिका र गोडैता नगरपालिका,बरहथवा नगरपालिकाको १,२,३,४,१३,१४ र १५ नम्बर,बसबरिया गाउँपालिकाको १,२ र ३ नम्बर तथा विष्णु गाउँपालिकाको १ देखि ४ नम्बर सम्म सर्लाही क्षेत्र नम्बर मा पर्छन्।
मानव विकास सूचकांकमा कमजोर रहेको मधेस प्रदेशको सर्लाही जिल्ला कैै सबैभन्दा बढी पिछडिएको सर्लाही क्षेत्र नम्बर ४ नै पर्छ ।यो क्षेत्र शिक्षा,सहरीकरण र बाल विवाहलगायत सूचकमा कमजोर रहेको छ।
सरकारी तथ्यांक अनुसार सर्लाहीको क्षेत्र नम्बर ४ का करिब आधा मानिस निरक्षर छन्।गत साउनमा राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको निर्वाचन क्षेत्र अनुसारको जनसांख्यिक प्रतिवेदन अनुसार सो क्षेत्रमा पाँच वर्षभन्दा माथिका एक लाख ९५ हजार आठ सय ९२ जना रहेकामा तीमध्ये ५४ दशमलव ७ प्रतिशत मानिस मात्रै साक्षर छन्।जबकि, नेपालको साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेको छ।
सर्लाही क्षेत्र नम्बर ४ को साक्षरता दर लैंगिक रूपमा केलाउँदा अवस्था झन् खराब देखिन्छ। तथ्यांक अनुसार सो क्षेत्रमा आधाभन्दा बढी महिला निरक्षर छन्।४६ दशमलव ५ प्रतिशत महिला मात्रै साक्षर छन्।जबकि,पुरुष साक्षरता दर ६२ दशमलव ६ प्रतिशत रहेको छ।यो संख्या १५ वर्षभन्दा बढी उमेरसमूहमा अझै बढी छ।यस उमेर समूहका ६५ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष निरक्षर छन्।मध्यमस्तरको स्वास्थ्य जोखिम भएको परिवारको संख्या सर्लाही क्षेत्र नम्बर ४ मा ५५ दशमलव ७ प्रतिशत रहेको छ। जबकि,देशभरिमा यो संख्या २५ दशमलव ३ प्रतिशत छ।
त्यसैगरी, सर्लाही क्षेत्र नम्बर ४ उमेर नपुगेका बालिकाको विवाह बढी हुने शीर्ष १० निर्वाचन क्षेत्रभित्र पर्छ।देशभरका एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये बालिकाको विवाह बढी हुनेमा सो क्षेत्र दशौँ स्थानमा छ।त्यहाँका करिब ३५ प्रतिशत बालिकाको विवाह हुन्छ। बालकको सन्दर्भमा भने यो संख्या करिब छ प्रतिशत छ।
सर्लाही क्षेत्र नम्बर ४ महिला घरमुली कम रहेका निर्वाचन क्षेत्रमध्ये छैटौँ स्थानमा छ।सो क्षेत्रमा रहेका ३५ हजार पाँच सय ६८ परिवारमध्ये महिला घरमुली रहेको परिवार ११ दशमलव १ प्रतिशत मात्रै छ।यो संख्या राष्ट्रिय औसतभन्दा करिब दुई तिहाइले कम हो। देशभर महिला घरमुली भएको परिवारको संख्या ३१ प्रतिशत छ। तथ्यांक कार्यालयको प्रतिवेदन अनुसार सर्लाही क्षेत्र नम्बर ४ मा बसोबास गर्नेहरूमध्ये सबैभन्दा ठूलो संख्या “मधेशी समुदाय”को छ।सो क्षेत्रमा उक्त समुदायको संख्या दुई तिहाइ भन्दा बढी छ। जबकि,देशभरमा यो संख्या १६ प्रतिशत मात्रै छ।
उक्त क्षेत्रमा शौचालय नभएको परिवारको संख्या १० दशमलव ९७ प्रतिशत छ।यस्तै, खानेपानीको धारामा नौ दशमलव पाँच प्रतिशत मानिसको मात्र पहुँच छ।९० प्रतिशतले पानीका लागि ट्युबवेलको प्रयोग गर्छन्।सो क्षेत्रका ५७ प्रतिशत जनता कच्ची घरमा बस्छन् भने ३९ दशमलव छ प्रतिशत परिवार न्यून गुणस्तरको घरमा बस्छन्।
सर्लाही क्षेत्र नम्बर ४ मा मोबाइल फोन नभएका परिवारको संख्या १२ दशमलव ५ प्रतिशत छ।सो निर्वाचन क्षेत्रमा रहेका १० वर्षभन्दा बढी उमेरका ८२ हजार पाँच सय ७२ महिलामध्ये दुई तिहाइ विवाहित छन् भने एकल महिला पाँच दशमलव दुई प्रतिशत छन्।प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सर्लाही क्षेत्र नम्बर ४ मा कुल ३८ जना उम्मेदवार मैदानमा छन्। जसमध्ये १३ जना राजनीतिक दलका हुन् भने २५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उम्मेदवारमध्ये दुई जना महिला छन्।
यसै क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा,नेकपा(एमाले)बाट अमनिश कुमार यादव,नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट डा.रजनीश राय यादव,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट डा.अमरेश कुमार सिंह र जनता समाजवादी पार्टी(जसपा)नेपालबाट रामेश्वर राय यादव चुनावी प्रतिस्पर्धामा छन्।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डा.सिंहलेस्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरेका थिए।त्यसअघि नेपाली कांग्रेसबाट पनि डा.सिंह नै उक्त क्षेत्रबाट निर्वाचित भएका थिए ।
काठमाडौँ ४ छाडेर नेपाली कांग्रेसका सभापति थापा चुनाव लड्ने घोषणासँगै सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवार बनेर आएका छन्।२०७० सालको संविधानसभा निर्वाचन यताका तीन चुनावमा लगातार जितेको काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर कांग्रेस सभापति थापा यस पटक सर्लाही क्षेत्र नम्बर ४ झरेका हुन्।यस क्षेत्रबाट यस अघि जितेका जनप्रतिनिधिहरुको जीवनस्तर उकासिएको भएपनि सर्लाही क्षेत्र नम्बर ४ का नागरिकहरुको जीवनस्तरमा पहिलाको भन्दा कुनै परिवर्तन आएको छैन् ।