रास्वपाका उम्मेदवार साह पाँच करोड बढी क्यासिनो ठगीमा संग्लग्न रहेको रहस्य सार्वजनिक

236 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट उम्मेदवार बनेका क्यासिनो सञ्चालक नरेन्द्र साहले पाँच करोड भन्दा बढी रकम ठगी गरेको रहस्य बाहिरिएको छ ।कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोले रु पाँच करोड २९ लाखभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ।क्यासिनोका कर्मचारी तथा ऋणीहरूबाट उठाइएको रकम फिर्ता नगरिएको भन्दै पीडित पक्षले ठगीको आरोप लगाएका छन्।
महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले विश्वासका आधारमा कर्मचारीमार्फत क्यासिनोलाई दिएको ऋण फिर्ता नपाएको गुनासो गरेका हुन ।क्यासिनोले नियमित कारोबारका लागि स्थानीय व्यवसायी तथा सेवाग्राहीबाट रकम लिने गरेको उनीहरूको भनाइ छ।
क्यासिनोका सञ्चालक साह सर्लाहीको क्षेत्र नम्बर ३ मा चुनावी अभियानकै क्रममा रहेको समयमा कञ्चनपुरमा ऋणीहरूको रकम फिर्ता नगरेको तथा कर्मचारीलाई तलब नदिएको आरोप सार्वजनिक भएको हो।क्यासिनोमा लामो समय काम गरेका राजेन्द्र कुमारले आफूले दिएको रु १० लाख फिर्ता नपाएको गुनासो गरे।उनका अनुसार तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठ(हिमाल)मार्फत आर्थिक समस्यामा परेको भन्दै क्यासिनोलाई उक्त रकम ऋण दिएका थिए।“व्यक्तिगत विश्वासका आधारमा सहयोग गरेको हुँ,तर अहिले पैसा माग्दा सञ्चालक साहले अटेर गरिरहेका छन्,”उनले पत्रकार सम्मेलनमा भने।
त्यस्तै क्यासिनोमा पुजारीको काम गर्दै आएका भोजराज भट्ट(पुजारी बाजे)ले रु ३४ लाख फिर्ता नपाएको पीडितहरुको दाबी छ।“क्यासिनोले बेला–बेला रकम सापटी लिने र समयमै फिर्ता गर्ने गथ्र्यो।”“त्यही विश्वासका आधारमा तीन पटकमा गरि रु ३४ लाख सापटी दिएको हुँ,”उनले बताए ।
त्यस्तै क्यासिनोमा डान्स म्यानेजरको रूपमा कार्यरत नवराज श्रेष्ठले पनि रु ४० लाख पाउन बाँकी रहेको दाबी गरेका छन्।उनले रु आठ लाख नगदसहित १७ महिनाको डान्सरहरूको तलब नपाएको गुनासो गरेका छन्।उनले सञ्चालक साहसँग पैसा माग्दा जागिर छोडेर जान धम्की दिने गरेका समेत बताए ।क्यासिनोमा ठुलो पैसा डुबेकाले आफुले जागिर समेत छोड्न नसेको उनको दुखेसो छ ।
तत्कालीन म्यानेजर श्रेष्ठका अनुसार सञ्चालक साहले २०८१ भदौयता नियमित हिसाब नबुझेपछि समस्या उत्पन्न भएको हो।“क्यासिनोमा नगद अभाव हुँदा स्थानीय व्यवसायी तथा विश्वासिला सेवाग्राहीबाट सापटी लिएर कारोबार चलाउने गरेका थियौँ।पछिल्ला १७ महिनामा सञ्चालक साहले मासिक हिसाब लिएनन्।उनकै निर्देशनमा उठाइएको रकम पठाइएको हो,” उनले भने।सापटी लिएको रकम क्यासिनोको नियमित खर्च र सञ्चालक साहले मागेका बेला उनकै खाता पठाईएको उनको दाबी छ ।
म्यानेजर श्रेष्ठका अनुसार विभिन्न व्यक्तिहरूको ठूलो रकम क्यासिनोले तिर्न बाँकी छ । शान्ती पाण्डेयको रु ३९ लाख,लिल गुरुङको रु ३४ लाख,मानवती पालको रु २० लाख,गणेश टेरको रु २० लाख,कविता जोशीको रु १८ लाख,राम पन्तको रु १५ लाख लगायत २० जनाको गरी कुल रु पाँच करोड २९ लाख बाँकी रहेको उनले बताए।
त्यस्तै भारतीय नागरिक सञ्जीव गान्धीको २९ लाख र सदाबको २० लाखसहित करिब दुई करोड ३६ लाख समेत तिर्न बाँकी रहेको उनको भनाइ छ।जसमा केही रकम भने फिर्ता गरिएको छ ।यस विषयमा सञ्चालक साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। हाल क्यासिनोको व्यवस्थापकीय टिममा कार्यरत एक कर्मचारीले साह चुनावी अभियानमा व्यस्त रहेको बताएका छन्। साह २०७९ मा सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार बनेका थिए। भने यस पटक उनी रास्वपाबाट सोही क्षेत्रमा उम्मेदवार बनेका छन्।क्यासिनो सञ्चालक साहले सोही क्यासिनोबाट ठगी गरेको रकमबाट निर्वाचन खर्च गर्ने योजना बनाएका समेत स्रोतको दाबी छ । यसबाट रास्वपा ठगी गर्नेहरुको केन्द्र बनेको स्थानीयको आरोप छ । 
सर्लाही क्षेत्र नम्बर ३ मा नेपाली कम्यसनिष्ट पार्टी(नेकपा)का तर्फबाट पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,नेकपा (एमाले)का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेती र नेपाली कांग्रेसका नेता विनोद कुमार खनाललगायत ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। यसका साथै यस अघिको निर्वाचनको समयमा होटलमा बसेर खाएको रकम समेत साहले हाल सम्मपनि नतिरेका पाइएको छ ।

सम्बन्धित समाचार