सर्लाहीको लालबन्दी स्थित रहेको लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लि.मा पछिल्लो समय एक पछि अर्को विवाद सहतमा देखिएको छ।लगातारको कर्मचारीहरुको राजीनामासंगै मिटरमा उठेको विलको युनिट घटाएर पैसा असुल्ने काम गरेपछि फेरी विवाद सहतमा देखिएको हो ।
कर्मचारीहरूको लगातार राजीनामाका कारण संकटको अवस्थामा पुगेको संस्था कर्मचारीहरुको बदमासीका कारण विवादको केन्द्र बनेको हो।संस्थाका इन्जिनियर शुभाष कुमार मण्डलले लालबन्दी नगरपालिका ११ हिरापुरका नवल किशोर मण्डलको खपत युनिट घटाएर रु दुई हजार छ सय ५० छुट दिएका पाइएप्छि उनलाई लिखित जवाफ माग गरिएको थियो।उत्त लिखित जवाफ गैर जिम्मेवारपुर्ण रहेपछि उनलाई अर्काै व्यवस्था नहुँदा सम्मका लागि निलम्वन गरिएको संस्थाका प्रमुख मुकुन्द कुमार श्रेष्ठले जानकारी दिए ।कर्मचारीहरु तथा संस्थाको सवालमा सामान्य गुनासाहरु आउनु स्वभाविकै भएपनि इन्जिनियर मण्डलले युनिट संसोधन गरी रु दुई हजार छ सय ५० रकम छुट दिएका संस्थाका प्रमुख श्रेष्ठले स्वीकार गरे ।
उनका अनुसार इन्जिनियर मण्डलले कार्यालयलाई जानकारी नै नदिई आफुखुसी खपत युनिट संसोधन गरेर रु दुई हजार छ सय ५० रकम छुट दिएर संस्थालाई घाटा हुने काम गरेका कारण उनलाई निलम्वन गरिएको हो ।त्यस्तै,संस्थाको खानेपानी खपत गरी रहेका लालबन्दी नगरपालिका ७ का एक सेवाग्राहीको खपत युनिट एक सय ३७ युनिट हुनु पर्नेमा १३ युनिट मात्रै देखाएर सोको भुक्तानी गराएको समेत पाईएको छ।उत्त युनिटमा साविकको युनिट एक सय २७ र हालको युनिट दुई सय ६४ हुँदा खपत युनिट एक सय ३७ हुनु पर्नेमा १३ युनिट मात्रै देखाएर सोको भुक्तानी गराएको समेत पाइएको हो।जसबाट संस्थाको आन्तरिक व्यवस्थापन,नेतृत्व क्षमता र कार्य प्रणाली माथि गम्भीर प्रश्न खडा भएको स्थानीय जानकारहरु बताउँछन् ।
लामो समयदेखि खानेपानीको चरम अभाव रहेको लालबन्दीको उत्तरी भेगमा नेपाल सरकारको तेस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गत तत्कालीन अध्यक्ष बासुदेव अधिकारी तथा स्थानीय अगुवा बुद्धिजीवी र राजनीतिककर्मीहरूको पहलमा आयोजना सम्झौता भई निर्माण गरिएको संस्थाले पछिल्लो समय लालबन्दी नगरपालिकाका १७ वटा वडा मध्य ११ वडाले पुर्णरुपमा र लालबन्दी नगरपालिका १५ को केही भाग तथा हरिवन नगरपालिका २ का केही भाग गरि करिब नौ हजार घर घुरीमा खानेपानीको पहुँच पुर्याई रहेको छ ।असल नियत्तले स्थापना गरिएको संस्थामा ३२ जना कर्मचारी कार्यरत रहेका भएपनि पाँच जना कर्मचारीले राजीनामा र एक जना कर्मचारीको निलम्वन भएपछि अब संस्थामा २६ जना कर्मचारी कार्यरत रहेका छन् ।
आयोजना हस्तान्तरणपछि संस्थाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन दक्ष र योग्य जनशक्तिको आवश्यकता महसुस गर्दै स्थानीय तहबाट खुला प्रतिस्पर्धा मार्फत कर्मचारी भर्ना तथा छनोटका लागि विज्ञापन प्रकाशन गरी भर्ना भएका कर्मचारीहरुले धमाधम राजीनामा दिन थालेपछि संस्थाको आन्तरिक व्यवस्थापन,नेतृत्व क्षमता र कार्य प्रणाली माथि गम्भीर प्रश्न उठ्न थालेको हो । संस्थामा रिडर दुई जना,लेखापाल एक जना,जिन्सी एक जना र प्रशासन एक जना गरी कुल पाँच जना कर्मचारीबाट सुरु गरिएको सेवामा ३२ जना कर्मचारीहरु पुर्याइएको भएपनि योग्यता,दक्षता र क्षमताको मूल्यांकन कमजोर बनेको भन्दै स्थानीयस्तरमा आलोचना सुरु भई रहेको अवस्थामा कर्मचारीहरुले धमाधम राजीनामा दिन थालेपछि स्थानीयमा चिन्ता थपिएको छ ।
संस्थामा सुधार ल्याउने प्रतिबद्धता सहित आएका अध्यक्ष देवनाथ पोखरेलकै कार्यकालमा उनैको संयोजकत्वमा गठन गरिएको छनोट समितिले छनोट गरेका कर्मचारीहरूले नै क्रमशःराजीनामा दिन थालेका छन्।हालसम्म प्रशासन सहायक सिताराम महतो,जिन्सीमा रहेका तिर्थराज पौडेल,प्लम्बर सुमन घिसिङ,अपरेटर भीम काफ्ले तथा रिडर धर्मेन्द्र चौधरी गरी पाँच जना कर्मचारीहरुले संस्थाबाट राजीनामा दिइसकेका र इन्जिनियर मण्डललाई निलम्वन गरिएको संस्थाको प्रशासन शाखाले जनाएको छ।तीमध्ये तीन जना कर्मचारी वर्तमान नेतृत्वकै पालामा खुला प्रतिस्पर्धाबाट छनोट भएका थिए।कर्मचारीहरूले संस्थाभित्र भविष्य सुरक्षित नदेखिएको, व्यवस्थापन कमजोर रहेको र कार्य वातावरण अनुकूल नभएको तथा निर्णय प्रक्रिया अपारदर्शी रहेको गुनासो गर्दै राजीनामा दिएको बताएका छन्।योग्य र दक्ष जनशक्ति निरन्तर पलायन भइरहँदा संस्थाको दीगो विकास,सेवा गुणस्तर र उपभोक्ता सन्तुष्टिमा गम्भीर असर पर्ने भन्दै स्थानीय चिन्तित बनेका छन्।संस्थाको विधि,विधान र व्यवस्थापन प्रणाली समयअनुकूल सुधार गर्न नसकिए संस्थाको विश्वसनीयता र सेवा प्रवाह दुवैमा नकारात्मक प्रभाव पार्ने जानकारहरु बताउँछन् ।
साथै,संस्थालाई राजनीतिक भर्ती केन्द्र बनाउने प्रवृत्ति र नातावाद–कृपावाद मौलाउँदै गएको अवस्थाले संस्थाको मौलिक उद्देश्य नै कमजोर बनाउने खतरा बढेको सरोकारवालाहरूको भनाइ छ। यस्तो अवस्थामा संस्थाको नीतिगत व्यवस्था तत्काल सुधार गरी पारदर्शिता,सुशासन र उत्तरदायित्व कायम गर्न सबै पक्ष सचेत हुनुपर्ने जानकारहरु बताउँछन् ।