दुधौलीका पुर्व नगर प्रमुख अधिकारी अझैँ फरार

191 Shares

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेताहरू मतदाताको घरदैलोमा पुगेर विकासका सपना बाँडिरहेका बेला करिब एक वर्ष पहिला बलात्कृत भएकी दुधौलीकी युवतीले न्याय नपाएको विषयले कुनै उम्मेदवारको चासोको विषयमा परेको छैन् ।राजनीतिक भाषण र चुनावी आश्वासनको भीडबीच सिन्धुलीको दुधौली नगरपालिकामा घटेको एक गम्भीर अपराधको घटना अझै न्यायको प्रतीक्षामा भौतारि रहेको छ।करिब एक वर्षदेखि बलात्कार आरोपमा फरार रहेका दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीको प्रकरणले चुनावी नैतिकतामाथि गहिरो प्रश्न खडा गरेको छ ।
दुधौली कै एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित परिवारले अधिकारी विरुद्ध प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो।तर मुद्दा दर्ता भएदेखि नगर प्रमुख अधिकारी सार्वजनिक जिम्मेवारी उपप्रमुखलाई सुम्पेर फरार भएका छन् । प्रहरीले खोजी जारी रहेको बताइरहे पनि अहिलेसम्म उनको ठोस सुराक नपाइनुले स्थानीयवासी आक्रोशित छन् ।भने पीडित झन पीडामा छट्पटाई रहेकी छन् ।
पीडित परिवारका सदस्यहरूका अनुसार“कानुन सबैका लागि बराबर हो भने नगर प्रमुख अधिकारी किन पक्राउ पर्दैनन्?“सामान्य नागरिक भएको भए अहिलेसम्म पक्राउ परिसक्थ्यो ।” उनीहरूका अनुसार प्रहरी र राज्य संयन्त्रले सक्रियता देखाउन नसक्दा न्याय ढिलो भएको मात्रै नभई पीडितमाथि मनोवैज्ञानिक दबाब समेत बढेको छ ।
यो घटना एउटा उदाहरण मात्रै हो।पछिल्ला वर्षहरूमा मुलुकका विभिन्न तहका जनप्रतिनिधिहरु हत्या,अपहरण,ठगी र यौन हिंसाजस्ता गम्भीर आरोपमा मुछिँदै आएका छन् । तथ्यांकले जनप्रतिनिधिहरु विरुद्ध फौजदारी मुद्दा बढ्दो रहेको देखाएपनि कार्बाही न्यून देखिएको छ । यसले राजनीतिक जिम्मेवारी र नैतिकताबीचको दूरी बढेको संकेत गर्छ ।
“लोकतन्त्रमा चुनाव केवल जित–हारको खेल मात्र नभई जनविश्वासको परीक्षा हो।फरार अभियुक्त नेतृत्वमा रहँदा शासनको वैधतामाथि नै प्रश्न उठ्छ ।”स्थानीय बताउँछन् ।“न्याय नपाउने समाजमा विकासको वाचा खोक्रो हुन्छ,”एक स्थानीयले बताए ।
निर्वाचनको माहोल तातेको छ,भाषण र नाराहरू चर्का छन्।तर दुधौलीमा एउटी बालिका र उनको परिवार न्यायको खोजीका लागि अझै राज्यको ढोका ढकढक्याइरहेका छन्। उम्मेदवारहरू परिवर्तनको कुरा गरिरहेका बेला उनीहरूका लागि परिवर्तन भनेको एउटै हो,“अभियुक्त पक्राउ परोस् र अदालतबाट न्याय मिलोस् ।”नगर प्रमुख अधिकारी तत्कालीन नेकपा(माओवादी केन्द्र)बाट २०७९ सालमा दुधौली नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार