वि.पी.राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित चेकपोइन्टमा प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा ओसारपसार हुँदै गरेको कपडा बरामद गरेको छ । तराई पहाड जोड्ने मुख्य मार्गमा लामो समयदेखि चलिरहेको “सेटिङ”मा अवैध तरिकाबाट ओसार पसार भई रहेको कपडा गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित चेकपोइन्टमा प्रहरीले नियन्त्रणमा लिएपछि वि.पी राजमार्ग अन्र्तगत पर्ने सिन्धुलीका हरेक प्रहरी पोष्टहरुका साथै महोत्तरीका प्रहरी पोष्टहरु अनुसन्धानको दायरामा तानिनु पर्नै अवस्था सृजना भएको छ ।महोत्तरी नाकाबाट भन्सार छली ल्याइएको उक्त कपडा बीचका केही चेकपोइन्टमा रोकावट बिना नै पार गराइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित चेकपोइन्टमा नियमित सवारी चेकजाँचका क्रममा काठमाडौंबाट सोलुतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७२२० नम्बरको डबल क्याप बोलेरोबाट प्रहरीले बोरा भित्र लुकाइ छिपाइ राखिएको अवस्थामा विभिन्न ब्रान्डका ज्याकेट र ट्राउजर बरामद गरेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।कार्यालयका अनुसार बरामद सामानमा ८१ पिस कोलम्बिया ज्याकेट,८७ पिस फेसन स्पोर्ट ज्याकेट,चार सय ८९ पिस कोलम्बिया ट्याक,१८ पिस महिलाले लगाउने कालो ट्राउजर र दुई सय ६२ पिस फेसन स्पोर्ट ट्राउजर रहेका छन्। ती सबै सामान र सवारी साधनको अनुमानित कुल मूल्य रु ३६ लाख १३ हजार सात सय रहेको छ।
बिल बिजक बिना यति ठूलो परिमाणमा कपडा फेला परेपछि बोलेरोसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको छ।प्रारम्भिक सोधपुछपछि थप कानुनी कारबाहीका लागि बरामद् गरिएको सामान,सवारी साधन र चालकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।
घटनाको सबैभन्दा चासोको पक्ष भनेको उक्त अवैध सामान खुर्कोटमा बरामद हुनुअघि धेरै चेकपोस्ट छन् तर किन वरामद गरिएन भन्ने हो।यस बाहेक सिन्धुलीको भिमानमा राम्रोसँग चेकजाँच नहँुदा तस्करीको सामान भित्रने गरेको छ।नेपाल भारत स्थित महोत्तरीका विभिन्न नाकाबाट भन्सार छली ल्याइएको सामान तराई क्षेत्रबाट वि.पी.राजमार्ग हुँदै सिन्धुली प्रवेश गर्दछ।तर,सामान्यतया कडाइका साथ जाँच गरिनुपर्ने भिमान चेकपोइन्टमा भने तस्करीका सामानहरु बिना अवरोध प्रहरीको मिलेमतोमा पास गराउने गरिएकोे आरोप छ।स्थानीय स्रोत र सुरक्षा निकाय भित्रकै केही व्यक्तिहरूका अनुसार भिमान चेकपोष्टबाट लामो समयदेखि “सेटिङ”का आधारमा अवैध सामान छाड्ने प्रचलन रहेको दाबी गरिएको छ।
यो प्रकरण काठमाडौबाट गएको हो तथापि तराईबाट आउने तस्करीका सामान सिन्धुलीको हकमा भिमानमा मुख्य रूपमा चेकजाँच हुनुपर्नेमा सो नगरी सेटिङमा छाड्ने गरेको खुलेको छ।इलाका प्रहरी कार्यालय भिमानमा लामो समयदेखि कार्यरत हवल्दार राजु गुरुङ घुमुवाको रूपमा परिचालित रहेको बताइएको छ।उनी करिब आठ वर्षदेखि भिमान क्षेत्रमा नै घुमुवाका रूपमा कार्यरत छन्।ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक राजु खत्रीले पनि हाजिर भएदेखि नै उनलाई सोही जिम्मेवारीमा परिचालन गर्दै आएको स्रोतको दाबी छ।
सुरक्षा निकाय भित्रको प्रचलन अनुसार घुमुवा कर्मचारीहरूलाई नियमित रूपमा स्थानान्तरण गरिनुपर्ने भए पनि लामो समय एउटै क्षेत्रमा कार्यरत रहँदा स्थानीय तस्कर समूहसँग नजिकको सम्बन्ध विकास र विस्तार हुने जोखिम रहने जानकारहरू बताउँछन्।स्रोतका अनुसार तराईबाट वि.पी.राजमार्ग हुँदै तस्करी गर्ने समूहदेखि जुवा खेलाउने गिरोहसम्मसँग उनको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क रहेको आशंका गरिएको छ।
यही कारण सेटिङ मिलाएर सवारी साधन चेकजाँच नगरी छाड्ने गरिएको र सोही क्रममा आएको कपडा खुर्कोटमा पुगेर मात्रै बरामद भएको दाबी स्रोतले गरेको छ।यद्यपि,यस विषयमा आधिकारिक रूपमा प्रहरी कार्यालयले स्पष्ट धारणा सार्वजनिक गरेको छैन।घटनापछि स्थानीय स्तरमा आन्तरिक छानबिनको माग उठ्न थालेको छ।यदि एउटै मार्गमा रहेको एक चेकपोइन्टबाट अवैध सामान छुटेर अर्को चेकपोइन्टमा बरामद हुन्छ भने त्यसले समन्वय र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाउने सुरक्षा विश्लेषकहरू बताउँछन्।
सुरक्षा अधिकारीहरूका अनुसार तराई नाकाबाट पहाडी जिल्लातर्फ हुने अवैध व्यापार नियन्त्रण गर्न बहु–स्तरीय जाँच संयन्त्र आवश्यक हुन्छ।तर,कुनै एक बिन्दुमा मिलेमतो भए सम्पूर्ण प्रणाली कमजोर बन्न सक्छ।“एउटा चेन कमजोर भयो भने सम्पूर्ण सुरक्षा चक्र भत्किने”प्रहरी अधिकृतहरु बताउँछन् ।
स्रोतका अनुसार महोत्तरी नाकाबाट पछिल्लो समय कपडा,इलेक्ट्रोनिक्स र अन्य उपभोग्य वस्तुहरू भन्सार छली भित्र्याउने क्रम बढेको छ।तराई क्षेत्रमा भन्सार शुल्क छल्न सफल भएपछि तस्करहरूले पहाडी बजारलाई लक्षित गरी सामान पठाउने गरेका छन्।यस पटक बरामद भएको कपडा पनि सोही सञ्जालमार्फत आएको आशंका गरिएको छ।ब्रान्डेड नामका ज्याकेट र ट्राउजर ठूलो संख्यामा फेला पर्नुले संगठित तस्करी सञ्जाल सक्रिय रहेको जानकारहरू बताउँछन्।
यो घटनाले तराई–पहाड जोड्ने रणनीतिक मार्गमा सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।एउटै जिल्लाभित्र दुई फरक चेकपोइन्टमा देखिएको व्यवहारिक अन्तरले “सेटिङ”को सम्भावनालाई बल पु¥याएको छ।यदि आरोप प्रमाणित भए सम्बन्धित प्रहरी कर्मचारीमाथि विभागीय कारबाही हुन सक्ने कानुनी प्रावधान छ।तर,यस्ता घटनामा प्रायः औपचारिक छानबिनमै सीमित रहने र जरा उखेल्न नसक्ने गुनासो नागरिक समाजको छ।
खुर्कोट चेकपोइन्टमा ३६ लाखभन्दा बढी मूल्यका अवैध कपडा बरामद हुनु सामान्य घटना होइन।यसले एकातिर प्रहरीको सक्रियता देखाउँछ भने अर्कोतर्फ सम्भावित मिलेमतो र कमजोर निगरानीको पाटोलाई उजागर गर्छ।महोत्तरी नाकाबाट सुरु भएको भनिएको तस्करी सञ्जाल, भिमान चेकपोइन्टको भूमिकामाथि उठेको प्रश्न र लामो समयदेखि एउटै स्थानमा कार्यरत घुमुवा प्रहरी कर्मचारीको विषय अब गम्भीर अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ।
यदि खुर्कोटमा जाँच कडा थियो भने भिमानमा किन फितलो?के यो केवल संयोग हो ? वा संगठित सेटिङको परिणाम ?यसको उत्तर विस्तृत छानबिनपछि मात्रै स्पष्ट हुनेछ।तर,एउटा कुरा प्रष्ट छ की राजमार्गमा हुने अवैध कारोबार नियन्त्रणका लागि केवल चेकपोइन्ट पर्याप्त हुँदैन,निष्पक्षता र जवाफदेहिता अनिवार्य हुन्छ।यस तर्फ पछिल्लो समय प्रहरी कर्मचारीहरु चुकेर कमिसनको खेलमा लागेका सुरक्षा अधिकारीहरु नै बताउँछन्।त्यसमा पनि ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक खत्री आफु भुपु एआईजीको नातेदार रहेका कारण कसैले केही गर्न नसक्ने धम्की लाउँदै आएका छन् ।