फागुन २१ को निर्वाचनको तयारी पुरा सोमबारबाट कर्मचारी खटिने

161 Shares

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोमबारबाट कर्मचारीहरु परिचालन हुने भएका छन् । सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी गरि सकेको र सोमबारबाट कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषीराम पौडेलले जानकारी दिए ।
उनका अनुसार मतदान केन्द्रहरुमा पठाउनका लागि अहिले चारवटै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र रुजु गरी प्याकिङ गर्ने काम भइसकेको छ।मतपत्र प्याकिङको काम सकिएसंगै मतदान अधिकृतहरुलाई मतपत्र, मतपेटिका र निर्वाचन सामग्री समयमै बुझाएर सोमबारबाट मतदान केन्द्रमा पठाइने भएको हो ।सर्लाहीका तीन सय १२ मतदानस्थल अन्तर्गत छ सय २८ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित तीन हजार सात सय ६८ जना कर्मचारी सोमबारबाट परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
निर्वाचनमा खटिन संघीय राजधानी काठमाडौंसहित विभिन्न ठाउँबाट सर्लाहीमा थप मद्धतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत आइसकेका छन्। जिल्लामा उपलब्ध तथा थप मद्धतमा आएका प्रहरी प्रत्येक निर्वाचन क्षेत्रमा परिचालन भइसकेका जिल्ला सुरक्षा समिति सर्लाहीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।
उनका अनुसार निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ भने विदेशी नम्बरका यात्रु बाहक सवारी साधनहरु सञ्चालनमा पनि रोक लगाईएको छ ।जिल्ला सुरक्षा समिति र राजनीतिक दल समेतको बैठकको निर्णय बमोजिम निर्वाचन सम्पन्न नहुदा सम्मका लागि विदेशी नम्बर प्लेटका यात्रु बाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। निर्णय विपरीत सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटका यात्रु बाहक (चार पाङ्ग्रे र मोटरसाईकल) सवारी साधन शुक्रबारदेखि प्रहरीले नियन्त्रणमा लिइरहेको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।
विभिन्न राजनीतक दलहरु र स्वतन्त्र गरी एक सय ३१ जना उम्मेदवार चुनावी मैदानमा हुँदा सर्लाहीको क्षेत्र नम्बर चारलाई सम्वेदनशिल निर्वाचन क्षेत्रको रुपमा हेरिएको छ ।जहाँ नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम सोही क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंह सहितका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।जसका कारण पनि सर्लाही क्षेत्र नम्बर चारलाई विशेष चासोका साथ हेरिएको छ । भने अन्य निवार्नचन भन्दा असामान्य अवस्थामा हुन लागेको यो निर्वाचनमा सर्लाहीका सबै क्षेत्र चासोका क्षेत्रमा  समावेश भएका छन् ।

सम्बन्धित समाचार