फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा मतदान अधिकृतहरुलाई सोमबारबाट निर्वाचन सामाग्री बुझाउन सुरु गरिएको छ ।चार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीका सबै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतहरुलाई निर्वाचन सामाग्री बुझाउन सुरु गरेको हो ।
मंगलबार दिउँसो सम्ममा सबै मतदान अधिकृतलाई मतदान केन्द्रमा पुगि सक्न भन्दै निर्वाचन सामाग्रीहरु बुझाउन थालिएको निर्वाचन अधिकृतका कार्यालयहरुले जनाएको छ ।कार्यालयहरुका अनुसार प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतहरु आफूसँगै खटाइएका कर्मचारी र सुरक्षाकर्मीसँग समन्वय गरी मतदान केन्द्रमा पुग्नुपर्ने छ ।मतदान केन्द्रसम्म पठाउन चारवटै निर्वाचन क्षेत्रमा मतपत्र रुजु गरी प्याकिङ गर्ने काम पनि भई रहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।
मतपेटिका सहितका अन्य निर्वाचन सामाग्रीहरु सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला निर्वाचन कार्यालयले चारवटै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ।निर्वाचन सामाग्री बुझेर मतदान केन्द्रमा पुग्ने मतदान अधिकृतले सर्वपक्षीय बैठक राख्ने,मतदान केन्द्र निर्माण गर्ने र आवश्यक सूचनाहरु टाँस गर्ने लगायतका काम गर्ने छन् ।
सर्लाहीको क्षेत्र नम्बर १ मा तारजालीसहित मतगणनास्थल बनाउने र सिसी क्यामेरा जडान गर्ने काम समेत सम्पन्न भइसकेको निर्वाचन अधिकृत टीका बहादुर थापाले बताए ।उनका अनुसार प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत,एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना स्वंसेवक परिचालन हुने छन् ।
दुई दिनपछिको चुनावका लागि सर्लाहीमा दुई लाख ७८ हजार आठ सय ३७ जना पुरुष,दुई लाख ३२ हजार सात सय ५८ महिला र ११ जना अन्य गरी कुल पाँच लाख ११ हजार छ सय छ जना मतदाता रहेका छन्।चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा २६ वटा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र गरी एक सय ३१ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।