सिन्धुली शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,करिब ५४ प्रतिशत मत खस्यो

190 Shares

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुलीका दुई सय ७२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ।बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभरी नै शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा एक सय ५१ मतदानस्थल र दुई सय ७२ मतदान केन्द्र कायम गरिएको थियो।निर्वाचन गराउन जिल्लाभर एक हजार छ सय ३२ जना कर्मचारी परिचालन भएका छन् ।
जिल्ला सुरक्षा समितिका संयोजक एवम सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भयरहीत र शान्तिपूर्णरुपमा सम्पन्न गर्न जिल्लाभर नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था चुस्त पारिएको बताईन् ।
दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा विभिन्न दल र स्वतन्त्र गरी २८ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।जिल्लाभर कुल दुई लाख १५ हजार १९ जना मतदाता रहेकामा पुरुष ५६ हजार चार सय ३२ जना र महिला  ५८ हजार सात सय ८२ गरी कुल एक लाख १५ हजार दुई सय १४ जना अर्थात ५३ दशमलव ५८ प्रतिशतले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ।कार्यालयका अनुसार सम्पूर्ण मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका प्राप्त भएपछि कूल खसेको मतको एकिन विवरण प्राप्त हुने छ ।
यो समाचार तयार पार्दै गर्दा सम्म मतपेटिका संकलनको काम भई रहेको छ भने मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक राखी आचारसंहिता तयार पारेर बिहीबार रातिदेखि नै मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सिन्धुलीको क्षेत्र नम्बर १ मा विभिन्न पार्टी र स्वतन्त्र गरी १२ जना उम्मेदवार र क्षेत्र नम्बर २ का ३८ वटा वडामा विभिन्न पार्टी र स्वतन्त्र गरी १६ जना उम्मेदवारलाई फागुन २१ गते मतदान गर्ने भएका छन् ।
क्षेत्र नम्बर १ मा कमलामाई नगरपालिकाका तीन वटा वडा ९,१३ र १४ गरी ३ वटा, गोलन्जोर गाउँपालिकाका सबै सातै वडा,तीनपाटन गाउँपालिकाका सबै ११ वटै वडा,फिक्कल गाउँपालिकाका सबै ६ वटै वडा र दुधौली नगरपालिकाका सबै १४ वटै वडामा गरी  एक सय ३८ मतदान केन्द्र र ७७ वटा मतदानस्थलबाट १२ जना उम्मेदवारलाई मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यसैगरी,क्षेत्र नम्बर २ मा कमलामाई नगरपालिकाका ११ वटा वडा,मरिण गाउँपालिकाका सबै सातै वटा वडा,हरिहरपुरगढी गाउँपालिकाका सबै आठै वडा,घ्याङ्लेख गाउँपालिकाका सबै ५ वटै वडा र सुनकोसी गाउँपालिकाका सबै ७ वटै वडाका एक सय ३४ मतदान केन्द्र र ७४ वटा मतदानस्थलबाट १६ जना उम्मेदवार मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ।

सम्बन्धित समाचार