प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का धनेन्द्र कार्की(विजय)निर्वाचित भएका छन्।गोलन्जोरका सबै सात वटा वडा,फिक्कलका सबै पाँच वटा वडा र तीनपाटन गाउँपालिकाका सबै ११ वटै वडा सहित दुधौलीका सबै १४ वटा वडा र कमलामाई नगरपालिकाको ९,१३ र १४ तीन वटा वडा गरी कुल ४० वटा वडा रहेको सिन्धुली क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी(नेकपा),नेपाली कांग्रेस र नेकपा(एमाले)का उम्मेदवारहरुलाई पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।
रास्वपाका कार्की १६ हजार छ सय ५९ मत सहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमालेका प्रदिप कुमार कटुवालले १५ हजार आठ सय ७५ मत पाएका छन् भने कांग्रेसका उज्वल प्रसाद बरालले १५ हजार पाँच सय ७० मत ल्याए।त्यस्तै,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार डेकेन्द्र प्रसाद सुवेदीले चार हजार सात सय आठ मत ल्याएका छन् ।
२०४८ मा एमालेका मदन ढुंगेल,२०५१ मा कांग्रेसका विपिन कोइराला,२०५६ मा एमालेका गंगाप्रसाद नेपाल,२०६४ मा एमालेका विषमलाल अधिकारी(दनुवार),२०७० सालमा एमालेका गणेश कुमार पहाडी,२०७४ मा पनि उनै पहाडी र २०७९ मा कांग्रेसका श्यामकुमार घिमिरेले उत्त क्षेत्रमा जित निकालेका थिए ।तर अहिले कार्कीले चुनाव जित्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका कटुवाल रहे ।
को हुन् कार्की ?
निर्वाचित कार्की २०७४ मा वडाध्यक्षका आकांक्षी थिए।त्यसबेला स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी पछि रास्वपामा संगठित भए।सिन्धुलीमा रास्वपा गठन भएदेखि नै आबद्ध भएका कार्कीले पार्टीको क्षेत्रीय सभापति बनेर काम गरिसकेका छन्।रास्वपा सिन्धुलीको सभापति पदमा प्रतिस्पर्धी गरेका उनी प्रतिस्पर्धीसँग बराबर मत आएपछि गोलप्रथाबाट पराजित भएका थिए।
यता,तत्कालीन नेकपा(माओवादी)को लालकिल्लाको रुपमा परिचित सिन्धुली क्षेत्र नम्बर २ मा यस पटक रास्वपाले कब्जा जमाएको छ।तत्कालीन माओवादी र त्यसपछिको माओवादी केन्द्रको पूर्वको रोल्पाको नाममा लाल किल्लाको रुपमा परिचित सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार आषिश गजुरेल निर्वाचित भएपछि माओवादीको लालकिल्ला भत्किएको हो ।
हरिहरपुरगढी,मरिण,घ्याङलेख र सुनकोसी गाउँपालिका सहित कमलामाई नगरपालिकाको १–८ र १०–१२ वडा गरी ३८ वटा वडाहरू रहेको सिन्धुली क्षेत्र नम्बर २ मा रास्वपाका गजुरेलले १७ हजार नौ सय ४० मत ल्याई जित निकाल्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार लेखनाथ दाहाल(राजन)ले १४ हजार सात सय ८० मत पाएका छन् ।
हरिहरपुर,मरिण र सुनकोसी गाउँपालिकामा तत्कालीन माओवादी केन्द्र हालको नेकपाको राम्रो उपस्थिति रहेको सिन्धुली क्षेत्र नम्बर २ मा २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाहालले २७ हजार पाँच सय १७ मत ल्याई जित निकालेमा यस पटक १४ हजार सात सय ८० मत मात्रै ल्याएका छन्।रास्वपाका गजुरेलले दाहाललाई तीन हजार एक सय ६० मतान्तरले पराजीत गरेका हुन ।
१२ वर्षकै उमेरमा कक्षा ८ मा पढ्दै गर्दा जनयुद्धमा होमिएका दाहाल राजनीतिक संघर्षका हरेक मोर्चामा सक्रिय रहेका थिए।माओवादी नेता हरिबोल गजुरेल,चन्द्रप्रसाद गजुरेल लगायतले चुनाव जितेको सिन्धुली २ क्षेत्रमा यस पटक भने माओवादी हालको नेकपा पराजित हुन पुग्यो ।दाहाललाई उम्मेदवार बनाएर नेकपा मुख्यालयले पठाएपछि बागी उम्मेदवारी दिएका महेश्वर दाहाल र उनको साथमा रहेका नेकपाका नेता हरिबोल,पानीराज बम्जन सहित बृद्धिमान माझी(वसन्त)को साथ नपाएका दाहाल प्रतिनिधि सभा सदस्य रहँदा सांसदमा भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा कडा रुपमा प्रस्तुत हुने नेकपाका सांसद थिए।सिन्धुली २ का जनताका दुख,सुखका साथी बनेका उनलाई यस पटक आत्माघाति प्रहार भएको उनी निकटमा नेताहरु बताउँछन् ।२०६४ मा माओवादी केन्द्रका चन्द्रप्रसाद गजुरेलले उक्त क्षेत्रमा चुनाव जितेका थिए भने २०७४ मा हरिबोलले चुनाव जितेका थिए।दाहालले २०७९ मा सोही क्षेत्रबाट चुनाव जितेका थिए ।
जनयुद्धकै क्रममा तत्कालीन राज्यसत्ताले दाहाललाई २०५३ सालमा गिरफ्तार गरी तीन वर्षसम्म जेल जीवन बिताएर २०५६ चैतमा रिहा भएका उनी त्यस पश्चात पार्टी संगठनमा सक्रिय रहँदै आएका छन्।कहिले रामेछाप त कहिले सिन्धुलीको पार्टीको जिम्मेवारी सम्हालेका दाहाल विरुद्ध पार्टीकै सहयात्री नै बाधक बनेपछि आफ्नो आधार किल्ला भत्किएको नेकपाका नेताहरु बताउँछन् ।