सत्ता प्रणाली परिवर्तन केवल संरचनागत कुरा नभई जनताको चेतना,संघर्ष र आकांक्षासँग जोडिएको गहिरो विषय हो भन्ने कुरा नेपालको राजनीतिक इतिहासले पटक–पटक देखाएको छ।सोही सन्दर्भमा “गणतन्त्रको विकल्प राजा हो ?” भन्ने प्रश्न आजभोलि फेरि बहसको विषय बन्न थालेको छ।सामाजिक सञ्जालदेखि सडकसम्म कतिपयले राजतन्त्र फर्किनुपर्ने आवाज उठाइरहेका छन्।तर के वास्तवमै राजतन्त्र गणतन्त्रको विकल्प हुन सक्छ ? इतिहास,वर्तमान यथार्थ र भविष्यको आवश्यकता हेर्दा यसको उत्तर स्पष्ट रूपमा “होइन” भन्ने नै आउँछ।
१.गणतन्त्र जनताको संघर्षको उपज हो ।
नेपालमा गणतन्त्र कुनै अचानक आएको व्यवस्था होइन। यो दशकौँ लामो संघर्ष,बलिदान र आन्दोलनको परिणाम हो। २००७ सालको प्रजातन्त्र स्थापना,२०४६ सालको जनआन्दोलन त्यसपछिको तत्कालीन नेकपा(माओवादी)को नेतृत्वमा करिब १२ वर्ष चलेको शसस्त्र संघर्ष र अन्ततः २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना ग¥यो। हजारौँ जनताको बलिदान,यातना र संघर्षपछि आएको व्यवस्था केवल भावनात्मक बहसले उल्ट्याउन मिल्ने विषय होइन।
राजतन्त्रको अन्त्य जनताको चाहना विरुद्ध नभई जनताकै मागका कारण जनताले नै आन्दोलन गरेर आएको थियो। त्यसैले आज फेरि राजतन्त्र फर्काउने कुरा गर्नु भनेको जनताको संघर्ष र बलिदानलाई अवमूल्यन गर्नु हो।
२. राजतन्त्रको इतिहासः स्थायित्व होइन, असमानता
नेपालको राजतन्त्रको इतिहास हेर्ने हो भने त्यो स्थायित्व र समृद्धिको प्रतीकभन्दा पनि केन्द्रिकृत सत्ता, असमानता र दमनसँग बढी जोडिएको देखिन्छ।राजा सर्वशक्तिमान हुने प्रणालीमा जनताको अधिकार सीमित रहन्थ्यो। अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता,राजनीतिक अधिकार यी सबै सीमित थिए।
पञ्चायती व्यवस्थाको उदाहरण नै पर्याप्त छ।त्यो समयमा “राजा, देश र प्रजा”भन्ने नारामा जनतालाई शासनको विषय बनाइयो,तर निर्णय प्रक्रियामा उनीहरूको कुनै भूमिका थिएन। यस्तो व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यताको ठीक विपरीत हो।
३. गणतन्त्रका कमजोरी र भ्रम
गणतन्त्र आएपछि देशले अपेक्षाकृत गति लिन सकेन भन्ने आलोचना सत्यको एक पाटो हो। भ्रष्टाचार, राजनीतिक अस्थिरता, विकासमा ढिलाइ यी सबै समस्याहरू हुन्। तर यिनै समस्यालाई आधार बनाएर गणतन्त्र असफल भयो भन्ने निष्कर्ष निकाल्नु गलत हो।
समस्या प्रणालीमा होइन,प्रणाली सञ्चालन गर्ने व्यक्तिहरूमा बढी देखिन्छ।यदि नेतृत्व इमानदार, उत्तरदायी र सक्षम छैन भने जुनसुकै व्यवस्था पनि कमजोर हुन्छ। राजतन्त्रमा पनि यिनै समस्या थिए।तर त्यतिबेला आलोचना गर्ने स्वतन्त्रता सीमित थियो।
गणतन्त्रले कम्तीमा जनतालाई प्रश्न गर्ने,विरोध गर्ने र परिवर्तनको माग गर्ने तथा आफ्ना नेता आफैँ चयन गर्ने अधिकार दिएको छ। यही नै लोकतन्त्रको सबै भन्दा ठूलो शक्ति हो।
४.राजतन्त्र समाधान होइन,पुनःसमस्या हो।
कतिपयले भन्ने गर्छन्।“राजा आएपछि स्थिरता आउँछ।”तर यो केवल कल्पना हो। आजको विश्वमा निरंकुश वा अर्ध–निरंकुश शासन प्रणालीहरू टिकाउ हुँदैनन्। जनताको चेतना धेरै अगाडि बढिसकेको छ।
यदि राजतन्त्र फर्काइयो भनेःलोकतान्त्रिक अधिकारहरू खुम्चिने सम्भावना हुन्छ ।राजनीतिक द्वन्द्व झन् बढ्न सक्छ ।अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि प्रभावित हुन सक्छ ।संघीयता,समावेशिता जस्ता उपलब्धिहरू संकटमा पर्न सक्छन ।त्यसैले राजतन्त्र कुनै समाधान होइन,बरु विगतका समस्याहरू पुनः दोहोरिने जोखिम हो।
५.गणतन्त्रले दिएको उपलब्धि
गणतन्त्रले नेपाललाई धेरै महत्वपूर्ण उपलब्धि दिएको छ । जस्तै: संविधान सभाबाट बनेको संविधान,संघीय शासन प्रणाली,समावेशी प्रतिनिधित्व,मौलिक अधिकारहरूको सुनिश्चितता,प्रेस र अभिव्यक्ति स्वतन्त्रता लगायत छन् ।यी उपलब्धिहरूलाई नजर अन्दाज गरेर केवल व्यवस्थालाई दोष दिनु उचित हुँदैन। सुधारको आवश्यकता छ, तर प्रणाली नै बदल्ने नभई सञ्चालन सुधार्ने हो।
६.भावनात्मक होइन, यथार्थवादी बहस आवश्यक
राजतन्त्रको पक्षमा उठ्ने धेरै आवाजहरू भावनात्मक हुन्छन् ।“पहिले राम्रो थियो”, “राजा हुँदा शान्ति थियो”आदि।तर यस्ता धारणा पूर्ण यथार्थ होइनन्। त्यो समयमा पनि दमन,अन्याय र असन्तुष्टि थियो,जसका कारण विभिन्न किसिमका र विभिन्न चरणहरुमा आन्दोलनहरू भएका थिए।आजको बहस तथ्य र विश्लेषणमा आधारित हुनुपर्छ। केवल निराशा वा असन्तुष्टिका कारण विगत तर्फ फर्कने सोचले देशलाई अगाडि बढाउँदैन।
७. समाधानःसुधारिएको गणतन्त्र
सुधारिएको, जिम्मेवार र उत्तरदायी गणतन्त्र नेपाललाई आवश्यक छ।सुशासन,भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थायित्व,दिगो विकासमा तीव्रता र जनताप्रति उत्तरदायित्व यी कुरामा सुधार ल्याउन सकियो भने गणतन्त्रप्रति जनविश्वास स्वतः बलियो हुन्छ।
८. युवा पुस्ताको भूमिका
आजको युवा पुस्ता परिवर्तनको प्रमुख शक्ति हो।उनीहरूले विगतको निरंकुश शासन देखेका छैनन्, तर उनीहरू लोकतन्त्रका मूल्यहरूसँग परिचित छन्।युवाहरूले भावनात्मक बहसमा होइन,तथ्य र विवेकमा आधारित निर्णय लिनुपर्छ।यदि युवाहरू नै राजतन्त्रको पक्षमा उभिए भने त्यो कालो इतिहासको पुनरावृत्ति हुनेछ।तर यदि उनीहरूले सुधारको माग गर्दै लोकतन्त्रलाई सुदृढ बनाए भने देशको भविष्य उज्ज्वल हुन्छ। जस अनुरुप भदौ २३ र २४ गते जेनजी पुस्ताले आन्दोलन गरे ।त्यसको परिणाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मार्फत धेरै युवा शक्तिहरुको उदय भयो।पढेका युवाहरु जनप्रतिनिधिको रुपमा संसदमा प्रवेश पाए ।तर उनीहरुले गर्ने काम जनता र राष्ट्रको हितमा के कति कसरी हुन्छ ?भन्ने हेर्न बाँकी नै छ ।
अन्त्यमा “गणतन्त्रको विकल्प राजा हो ?” भन्ने प्रश्नको उत्तर स्पष्ट छ।राजा विकल्प हुँदै होइन। गणतन्त्रका कमजोरीहरू छन्, तर ती सुधार गर्न सकिने छन्। राजतन्त्र भने विगतको प्रणाली हो,जसले जनताको अधिकार सीमित ग¥यो र असमानता बढायो।नेपाललाई पछाडि फर्किने होइन, अगाडि बढ्ने आवश्यकता छ। जनताको अधिकार,स्वतन्त्रता र सहभागितालाई केन्द्रमा राखेर गणतन्त्रलाई सुदृढ बनाउनु नै आजको आवश्यकता हो।
राजतन्त्र फर्काउने बहसले क्षणिक आकर्षण दिन सक्छ, तर दीर्घकालीन समाधान होइन।साँचो विकल्प भनेको सुधारिएको,जिम्मेवार र जनमुखी गणतन्त्र नै हो।२१ औँ शताब्दीमा फेरी राजा फर्काउने कसैले सपना देख्छ भने त्यो दिवा सपना हो र पुरा हुनेवाला पनि छैन् ।लेखक शंखर पहाडी(गौरब) विगत करिब डेढ दशकदेखि सक्रिय पत्रकारिता गरि रहेका छन् ।