सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ७,मोहनगञ्जमा स्कुल बसले किचेर एक बालिकाको मृत्यु भएको छ।ईश्वरपुर नगरपालिका १, चौलिखामा रहेको टेमुको एकेडेमी स्कुलको मधेश प्रदेश ०३ ००१ क २५४२ नम्वरको बसले किचेर सोही विद्यालयमा अध्यायनरत ब्रम्हपुरी गाउँपालिका ७, मोहनगञ्जका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार स्कुल छुट्टी भएपछि घर छाड्न गएको बसले आशिकालाई घर अगाडि झर्ने क्रममा पछाडिको चक्काले किचेको थियो।बसले टाउकोमा किच्दा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।दुर्घटनापछि स्कुल बसका चालक फरार रहेका छन्। बस भने जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता,सर्लाहीका अधिकांश संस्थागत विद्यालयहरुले आफ्ना विद्यार्थीहरु लाई स्कुल बसहरुमा सिट क्षमता भन्दा बढी कोचेर ओसार पसार गर्ने गरेका समेत पाइएको छ ।स्कुल बस सञ्चालन सम्बन्धी मापदण्डको खिल्ली उडाउँदै कुल बसहरुमा सिट क्षमता भन्दा बढी कोचेर ओसार पसार गर्ने गरेका भएपनि सरोकारवाला निकाय मौन देखिएको छ ।