सर्लाहीको चन्द्रनगर गाउँपालिका २ बबरगञ्ज मुसहरटोलका विजय माझीको घरमा विद्युत मिटर जडान गरिएको छ।चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महत्तोको पहलमा लामो समयपछि माझीको घरमा विद्युत मिटर जडान भएको हो ।
वर्षौंदेखि नागरिकता र लालपुर्जा अभावका कारण घरमा विद्युत मिटर जडान गर्न नसकेका माझी परिवारले पोलबाट हुकिङ गरेर बत्ती बाली रहेका थिए ।सोही क्रममा केही वर्षअघि करेन्ट लागेर उनकी श्रीमतीको ज्यान गएको थियो ।हुकिङ गर्दा करेन्ट लागेर श्रीमतीको मृत्यु भएपछि उक्त घर अँध्यारो नै थियो।तर अहिले त्यही घरमा विद्युत् मिटर जडान भएपछि उनको जीवनमा नयाँ आशा पलाएको छ ।
चन्द्रनगर गाउँपालिकाले दलित बस्तीमा विद्युत् पहुँच विस्तार गर्ने अभियान सुरु गरेसँगै उनी जस्ता सयौं परिवारको जीवनमा सुरक्षित उज्यालो भित्रिन थालेको गाउँपालिका अध्यक्ष महत्तोले बताए ।उनका अनुसार न्द्रनगर गाउँपालिकाकाका ७ वटै वडाका तीन सय ३९ घरधुरीमा विद्युत मिटर जडानको काम अघि बढाएको छ ।यसअघि नागरिकता,लालपुर्जा अभाव र प्रक्रियागत झन्झटका कारण अधिकांश दलित परिवार विद्युत मिटर विहीन भएका थिए । धेरैले हुकिङ गरेर बत्ती बाल्दै आएका थिए भने कतिपय अन्धकारमै बस्न बाध्य थिए ।
अनियमित हुकिङका कारण जनताको ज्यान जोखिममा पर्ने मात्रै नभई राज्यलाई समेत विद्युत चुहावटका कारण घाटा हुँदै आएकोमा गाउँपालिकाले नागरिकको ज्यान जोगाउने र राज्यको विद्युत महसुल घाटा न्यूनिकरण गर्ने तर्फ ध्यान दिन दलित बस्तीमा विद्युत मिटर जडान सुरु गरेको गाउँपालिका उपाअध्यक्ष गीतादेवी महत्तोले बताईन् ।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरण,वितरण केन्द्र मलंगवाको सहकार्यमा गाउँपालिकाको सिफारिसका आधारमा मिटर जडान प्रक्रिया अघि बढाइएको हो ।आर्थिक वर्ष २०८०÷०८१ देखि सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार आवश्यक प्रक्रिया पूरा गर्दै अब सबै लक्षित घरधुरीमा मिटर जडान गरिने छ ।