सर्लाही र रौतहट जोड्ने बागमती नदीको पुल करिब १० वर्षदेखि अलपत्र

157 Shares

सर्लाही र रौतहट जोड्ने बागमती नदीको पुल निर्माण कार्य करिब एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन।२०७३ असार २८ गते शिलान्यास भएको बागमती नदीको पक्की पुल रु ८६ करोड भन्दा बढी लागतमा टुण्डी रसुवा पप्पु जेभी कम्पनीले निर्माण सुरु गरेको भए पनि हालसम्म अधुरै रहँदा सो क्षेत्रका हजारौं स्थानीयवासी जोखिमपूर्ण रूपमा नदी वारपार गर्न बाध्य भएका छन्।
प्रारम्भिक योजना अनुसार केही वर्षमै सम्पन्न हुनुपर्ने परियोजना विभिन्न कारण देखाउँदै पटक पटक म्याद थपिँदै आएको छ।
पछिल्लो पटक तोकिएको समयसीमा अनुसार २०८३ कात्तिक १३ गतेसम्म काम सक्ने लक्ष्य राखिएको भए पनि विगत दुई वर्षदेखि निर्माण कम्पनीले कुनै काम नगरेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार पुल निर्माणमा भएको ढिलाइ विगतका निर्वाचनहरूमा मुख्य चुनावी मुद्दा बन्ने गरे पनि निर्वाचन सकिएपछि विषय ओझेलमा पर्ने गरेको छ। 
यसपटक पनि सर्लाही क्षेत्र नम्बर ४ र रौतहट क्षेत्र नम्बर १ का उम्मेदवारहरूले प्रतिनिधिसभा निर्वाचनका क्रममा पुल निर्माणलाई साझा एजेन्डा बनाएर चुनावी मैदानमा उभिएका थिए।केही महिना अघि अन्तरिम सरकारका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अधुरा पुलहरूको अनुगमन गर्दै निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए। निवर्तमान मन्त्री घिसिङको निर्देशनपछि पनि निर्माण कार्य सुरु नभएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।सर्लाही क्षेत्रध नम्बर ४ का सांसद डा.अमरेश कुमार सिंहले चुनावी प्रचारका क्रममा पुल निर्माण तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए।उनले २०७४ र २०७९ को निर्वाचनमा पनि यही प्रतिबद्धता दोहोर्याएका थिए। 
  त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पनि चुनाव जिते वा हारे पनि पुल निर्माणका लागि पहल गर्ने बताएका थिए।तर स्थानीयका अनुसार पुल निर्माण कार्य कहिले सुरु हुन्छ भन्ने अझै टुंगो छैन।निर्माणाधीन पुलमा प्रयोग भएका सामग्रीको गुणस्तरबारे पनि पटक(पटक प्रश्न उठ्दै आएको छ।२०८० मा आएको बाढीले पुलको एउटा पिलर बगाएपछि निर्माण कार्य रोकिएको र हालसम्म गति लिन सकेको छैन् ।बाढीले पुलको एक स्पान र फाउन्डेसनमा क्षति पु¥याएपछि निर्माण कम्पनीले माटो परीक्षण र डिजाइन पुनरावलोकनको बहाना बनाउँदै काम छोडेर पन्छिने गरेको स्थानीय जनप्रतिनिधिहरुको आरोप छ ।
करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको दाबी गरिए पनि पुल सञ्चालनमा आउन नसक्दा दैनिक हजारौं मानिसहरू बाँसको अस्थायी लच्का मार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।स्थानीयवासीका अनुसार बाढीपछि अधुरा रहेका संरचनाको निर्माण तीव्र बनाउन राज्य पक्षबाट अपेक्षित पहल हुन सकेको छैन।टुण्डी रसुवा र पप्पु कम्पनीले आफुलाई अब्बल रहेको दाबी गर्ने गरेका भएपनि उनीहरुले ठेक्का सकार गरेका अधिकांश योजनाहरु  अलपत्र परेका छन् । 

सम्बन्धित समाचार