तेस्रो लालबन्दी महोत्सव बुधबाबाट सुरु हुने भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीको आयोजना र औद्योगीक शान्ति नेपालको व्यवस्थापनमा तेस्रो पटक लालबन्दीमा महोत्सव सुरु हुन लागेको हो ।महोत्सवको बुधबार बिहान मधेश प्रदेशका उद्योग,वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले उद्घाटन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महत्तोले जानकारी दिए ।उनका अनुसार चैत्र ४ गते बुधबारबाट चैत्र १५ गते आईतबारसम्म महोत्सव लाग्ने छ।एक लाख २० हजार दर्शक तान्ने योजना सहित आयोजना गर्न लागिएको महोत्सवमा बिहिबारबाट कलाकारहरुले प्रस्तुति रहने र ७ गतेबाट नृत्य प्रतियोगीता समेत संचालन हुने उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।
“आर्थिक समृद्धि र स्वरोजगारको आधार ः कृषि,पर्यटन,उद्योग र व्यापार”भन्ने मूल नारासहित संघले तेस्रो पटक लालबन्दी महोत्सव लगाउन लागेको हो ।लालबन्दी नगरपालिका ९, बस्तीपुरमा रहेको भूदेव खाद्य उद्योग परिसरमा लाग्ने महोत्सवमा स्थानीय उत्पादन तथा सेवाको बजारीकरण,आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धन,रोजगारीका अवसरहरुको सिर्जना, उद्यमशीलताको विकास तथा स्थानीय कला–संस्कृति,परम्परा र पहिचानको संरक्षण एवम प्रवद्र्धनमा योगदान पुग्ने आयोजकले विश्वास लिएको छ ।
आयोजकका अनुसार महोत्सवमा कृषि उत्पादन प्रदर्शनी,औद्योगिक तथा व्यवसायिक स्टल, अटोमोबाइल प्रदर्शनी,घरेलु तथा हस्ताकला प्रदर्शनी,होटल तथा रेस्टुरेन्ट सेवा,स्थानीय पर्यटकीय स्थलको प्रचार,होमस्टे अवधारणा प्रवद्र्धन र राष्ट्रियस्तरका कलाकारबाट प्रत्येक दिन साँस्कृतिक कार्यक्रम रहने छ।महोत्सवस्थलमा सर्वसाधारणका लागि रु सय र विद्यार्थी,ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा रु ५० प्रवेश शुल्क तोकिएको छ।महोत्सवमा करिव रु १० करोड बराबर आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
यसपटक लण्डन ब्रिज लगाएतका थप मनोरञ्जनका सामाग्रीबाट मनोरञ्जन लिन सकिनेछ । केहिले सामाजिक संजालमार्फत लण्डन ब्रिजको सट्टा स्थानीय गोलभेडा वा अन्य कुनै पर्यटकिय स्थल राख्नुपर्ने भनाई राखेका थिए भने विद्यार्थीसहित रास्वपाले विद्यार्थीको परिक्षा आईरहेकोले विद्यार्थीमैत्री भईदिन आग्रह गरेका थिए।तर महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेपछि हाललाई केहि गर्न नसकिने अवस्थामा उद्योग वाणिज्य संघ पुगेको थियो ।
त्यसैगरी,“तेस्रो लालबन्दी महोत्सव २०८२”को अवसरमा मधेश प्रदेशस्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ।स्थानीय कला,संस्कृति तथा युवाहरूमा रहेको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरूलाई आकर्षक नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।प्रतियोगीतामा प्रथम पुरस्कार रु एक लाख,द्वितिय पुरस्कार रु ५० हजार र तृतीय पुरस्कार रु २५ हजार नगदको व्यवस्था गरिएको उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष एवम् तेस्रो लालबन्दी महोत्सव व्यवस्थापन समितिका संयोजक दिपेन्द्र बलम्पाकी(दिपक)ले जानकारी दिए ।