वर्तमान सरकारले सुकुम्बासीलाई मान्छेजस्तो पनि व्यवहार नगरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए।सर्लाहीको बागमती नगरपालिका ११ मा राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीले आयोजना गरेको सर्लाहीका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको प्रदर्शनलाई सम्बोधन गर्दै नेकपाका नेता श्रेष्ठले वर्तमान सरकार लोकतान्त्रिक अधिकारलाई कुठाराघात गर्दै निरंकुुशता लाद्ने प्रयास तर्फ लागेको बताए ।

सुकुम्बासी मान्छे होइनन्,नागरिक होइनन् भन्नेलाई तिमी पनि सरकार होइनौँ भनेर सुकुमबासीले भन्न सक्नुपर्ने नेकपा नेता श्रेष्ठले बताए।उनले सुकुम्बासीलाई आफू बसिरहेको ठाउँबाट हटाउने काम गैर कानुनी रहेको बताउँदै वर्तमान सरकार विरुद्ध प्रतिरोध अभियान चलाउन सबै भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई आग्रह गरे । सत्य र न्याय तत्काल कमजोर देखिएपनि अन्तमा विजय सत्यकै हुने दाबी गर्दै सबैजसो निरंकुुश सत्ता निर्वाचनबाटै उदाउने गरेको विश्वव्यापी दृष्टान्त रहेको उल्लेख गर्दै जनविश्वासलाई अवमूल्यन गरेर अगाडि बढ्ने निरंकुुश सत्ता आधुनिक विश्वले स्वीकार नगर्ने नेकपा नेता श्रेष्ठले बताए ।

सरकारले वैकल्पिक पुनर्वासको कुरा गर्नु उचित नभएको उल्लेख गर्दै अति संवेदनशील क्षेत्रको संरक्षण गर्नुपर्ने अवस्थामा बाहेक भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई खनिखोस्री गरेको सिमित जमिन दिन सरकारले बहाना बनाउनु नहुने उनले बताए ।

राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीको आयोजनामा भएको प्रदर्शनमा“उठिबास होइन व्यवस्थापन गर।डोजर आतंक बन्द गर।भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी लाई लालपुर्जा दे।सुकुम्बासी र अव्यवस्थित विस्थापितको लागी निकालेको सुचना खारेज गर ।नेपाल सरकारले निर्णय गरेको भुमि सम्बन्धी ९२ औँ बुदा खारेज गर।सुकुम्बासी र अव्यवस्थित बसोबास उठाउन पाईदैन।हामीलाई यस्तो सरकार चाहिदैन।सरकार तेरो पाराले दुःख पायो साराले ।देश भरका सुकुम्बासी र अव्यवस्थित बासी एक हो।नेपाली नागरिकको मौलिक हक सुनिश्चत गर।गरिब नागरिकलाई पनि बाच्न दे सरकार।”लगायतका नारा लागेका थिए ।
सर्लाहीका २० वटा पालिका मध्य भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन भएका १३ वटा पालिकामा करिब ६० हजार भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीले जनाएको छ ।