भारतिय सवारी साधनहरुलाई सर्लाही प्रशासनले केही कडाई गरेपछि सर्लाहीका राजनीतिक दलहरुले आपत्ति जनाएका छन्।भारतिय सवारी साधनहरुले नेपाल प्रवेश गर्दा भन्सार समेत नतिरि प्रवेश गर्ने र सवारी दुर्घटना हुँदा तथा गैर कानूनी क्रियाकलाप हुँदा उक्त समस्याको समाधान गर्न समस्या देखिने सम्भावनालाई मध्य नजर गर्दै सर्लाही प्रशासनले भन्सार अनिवार्य तथा मलंगवा नगरपालिका भित्रको हकमा निःशुल्क पास लिनुपर्ने भन्दै भारतिय सवारी साधनहरुलाई केही कडाई गर्न सुरु गरेको थियो।त्यसपछि सर्लाहीका राजनीतिक दलहरुले भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी भएको भन्दै आपत्ति जनाएका हुन् ।
सर्लाहीका विभिन्न आठ राजनीतिक दलहरुले भारतीय नम्बर प्लेटका सवारी साधनहरु बन्द गर्ने र भन्सार नबुझाइ सञ्चालन हुन नदिने भनी जिल्ला प्रशासन कार्यालय सर्लाहीले निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको विज्ञप्ती नै जारी गरेका छन्।उनीहरुले जारी गरेको विज्ञप्तीमा भारतिय सवारी साधनहरुलाई पूर्ववत् अवस्थामै सञ्चालन गर्न दिन माग गरिएको छ ।पूर्ववत् रुपमा भारतीय गाडी सञ्चालन हुन नदिए आन्दोलनमा उत्रने आठ राजनीतिक दलले चेतावनी समेत दिएका छन् ।
यता,जिल्ला सुरक्षा समितिका संयाृजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले नेपालमा विदेशी नम्बर प्लेटका सवारी साधानहरु सञ्चालन एवम नियमन सम्बन्धमा कानुनी प्रावधानहरुको सवालमा भन्सार महशुल ऐन २०८१ मा भएका व्यवस्थाहरुलाई पालना मात्रै गरिएको बताए ।

उत्त व्यवस्थामा नेपालमा विदेशी सवारी साधनहरु भन्सार अनुमति लिई सञ्चालन गर्नुपर्ने,भन्सार शुल्क बुझाएको सवारी साधनको हकमा एक आर्थिक वर्षमा एकै पटक (विशेष अवस्थामा) वा पटक–पटक गरी बढिमा जम्मा ३० दिन मात्र नेपालमा उक्त सवारी साधन सञ्चालन गर्न पाईने,भन्सार शुल्क बुझाएर नेपाल प्रवेश गरेको विदेशी सवारी साधनहरु तोकिएको अवधि भन्दा बढि नेपालमा रहेमा मोटरसाईकल वा स्कुटरको हकमा दैनिक एक हजार दुई सय रुपैया र अन्य सवारी वा दुवानी साधनको हकमा दैनिक दुई हजार पाँच सय रुपैया भन्सार शुल्क लाग्ने र अस्थायी पैठारी भएका विदेशी यात्रुवाहक सवारी साधन नजिकको बजार सर्लाहीको हकमा मलंगवा बजार सम्म पुगी प्रवेश गरेकै दिन फर्कने भएमा कुनै शुल्क नलाग्ने यसरी नेपाल प्रवेश गर्ने सवारी साधनले भन्सार कार्यालयवाट सुविधा सम्बन्धी निस्सा लिनु पर्ने व्यवस्थालाई पालना गर्दै भन्सार शुल्क नबुझाई सात दिन भन्दा बढि विदेशी सवारी साधन नेपालमा रहेको पाईएमा “सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १६० (२) को “ख”मा भएको व्यवस्था”अनुरुप सवारी साधन वा ढुवानी साधन पूर्ण रुपमा जफत गर्न सकिने र विदेशमा दर्ता भएका विदेशी नम्बर प्लेटका सवारी साधनहरु अनुमती नलिई नेपाल प्रवेश गराई सञ्चालन गरेमा ट्राफिक प्रहरीले जरिवाना काट्न सक्ने कुरालाई पालना गराउन खोजेको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए । उनले भारतिय नम्बरका सवारी साधनहरु चलाउनै नपाउने भन्ने विषय भ्रम मात्रै रहेको बताउँदै उक्त भ्रमको पछि नलाग्न र “सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १६० (२) को “ख”मा भएको व्यवस्था” अनुरुप चल्न पनि यातायात व्यवसायीहरुसंग आग्रह गरे ।