हिरासतमा वि.क.को मृत्यु काण्ड,घटनालाई अतिरञ्जीत गरिएको प्रहरीको आरोप

201 Shares

सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटको हिरासतमा युवकको मृत्यु भएको विषयलाई सिन्धुली प्रहरीले विषयान्तर गर्न खोजेको पाइएको छ ।जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सुनकोशी गाउँपालिका ३ जुम्लीडाँडाका अन्दाजी २२ बर्षिया युवक श्रीकृष्ण वि.क.को ईलाका प्रहरी कार्यालय खुर्काेटको हिरासतमा मृत्युु भएको विषयको विभिन्न सञ्चार माध्यामहरुले समाचार प्रकाशन गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विषयान्तर गर्दै अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा“जबरजस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा हिरासतमा रहेका सुनकोशी गाउँपालिका –०३ वस्ने श्रीकृष्ण वि.क.लाई मिति बैशाख ७ गते इलाका प्रहरी कार्यालय, खुर्कोट, सिन्धुलीको हिरासत कक्षको शौचालय भित्रको भेन्टिलेसनको रडमा झुन्डिएको अवस्थामा तत्काल फेलापारी उपचारको क्रममा मृत्यु भएको घटनासँग सम्बन्धित विषयमा तथ्यहीन,भ्रामक तथा अनर्गल समाचारहरू विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरुमा प्रकाशन तथा प्रसारण भइरहेको प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”भनिएको छ ।

1776763360-9HgXX.jpg
विज्ञप्तीमा “यस्ता अपुष्ट तथा आधारहीन समाचारहरूले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै शान्ति सुरक्षा व्यवस्थामा समेत नकारात्मक असर पार्न सक्ने हुँदा यस्ता सामग्री प्रकाशन÷प्रसारण नगर्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ।साथै उक्त घटनाको सम्बन्धमा सत्य तथ्य छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा पिडितका प्रतिनिधि,जिल्लास्थित दलित संघ–सस्था तथा सरोकारवाला निकायहरु समेतको सहभागितामा समिति गठन भई छानबिन कार्य भइरहेको हुँदा उक्त घटनाका सन्दर्भमा यथार्थ विवरण उक्त समितिको कार्य सम्पन्न हुनासाथ प्रेषित गरिने व्यहोरा समेत सबैमा अनुरोध गरिन्छ ।”भनिएको छ ।तर थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेका वा हत्या गरिएको हो भन्ने एकीन गर्दै घटनाको सत्य,तथ्य छानबिन तथा सार्वजनिक हुनुपर्ने पीडित पक्षले माग गरेका छन् ।
पीडित पक्षका अनुसार मृतक वि.क.ले मगर थरकी किशोरीलाई अन्तर जातीय विवाह गर्ने भन्दै सहमति मै भगाएका थिए।तर किशोरीका परिवारले जबर्जस्ती करणीको आरोपमा मुद्दा दायर गरेर फसाएको मृतक वि.क.का परिवारको आरोप छ ।अन्तरजातीय विवाह रोक्न किशोरीको परिवारले विना आधार बलात्कार आरोप लगाउदा वि.क.को ज्यान गएको मृतकका आफन्तको भनाइ छ।प्रहरीको कार्यालयमा कसरी युवकको मृत्यु भयो त्यसको सत्य,तथ्य छानवीन हुनु पर्ने कोही दोषी देखिए कडा कारवाही हुनुपर्ने पीडित परिवारको माग छ ।
यता हिरासत कक्षमा असावधानी अप्नाईएको र मापदण्ड विपरितको हिरासत कक्ष रहेका कारण हिरासतमा रहेका थुनुवाहरुले ज्यान गुमाउनु परेको स्थानीय जानकारहरु बताउँछन् । उनीहरुका अनुसार गार्ड कमाण्डर देखि हिरासतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु सहित ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रमुखलाई नै कार्बाही गर्नु पर्छ।तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जारी गरेको विज्ञप्तीले प्रहरी कर्मचारीहरुलाई चोख्याउने काम गरेको छ ।

सम्बन्धित समाचार