नेपाल पत्रकार महासंघ शाखा सिन्धुलीले सरकारी विज्ञापन सम्बन्धी हालैको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ।महासंघको केन्द्रीय कार्य समितिको निर्णय अनुसार शाखा सिन्धुली सहित देशभरका जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश गरेका छन् ।
महासंघका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयका नाममा २०८२ चैत्र १८ गते संघीय,प्रदेश तथा स्थानीय तहका निकायहरूलाई जारी गरिएको परिपत्रले सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ।यस निर्णयले निजी तथा सामुदायिक सञ्चार माध्यममाथि गम्भीर विभेद सिर्जना गरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष बाबुराम देवकोटाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उक्त निर्णयले पत्रकारिता क्षेत्रलाई थप संकटमा धकेल्ने उल्लेख गरिएको छ ।सञ्चार क्षेत्र पहिले नै आर्थिक कठिनाइमा गुज्रिरहेको अवस्थामा यस्तो निर्णयले सञ्चारमाध्यमको दिगोपनमाथि नै प्रश्न खडा गर्ने शाखा सिन्धुलीका अध्यक्ष देवकोटाले बताए ।
“सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक जर्जरताबाट गुज्रिरहेको छ र श्रमजीवी पत्रकारहरूले नियमित पारिश्रमिक तथा कानुन अनुसारका सेवा–सुविधा प्राप्त गर्न सकेका छैनन्।यस्तो अवस्थामा सरकारले सरोकारवाला पक्षसँग कुनै समन्वय वा परामर्श नगरी लिएको निर्णय आपत्तिजनक छ।”महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित केन्द्रीय ज्ञापनपत्रमा उल्लेख छ ।
महासंघले सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममा सीमित गर्ने नीतिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमाथि प्रत्यक्ष प्रहार गरेको जनाएको छ।साथै, नेपालको संविधानले सुनिश्चित गरेको सञ्चारको हक,स्वतन्त्र पत्रकारिता,खुला अर्थनीति तथा संघीयताको मर्म विपरीत रहेको पनि महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसअघि २०८२ चैत्र २३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमक्ष पनि महासंघले ज्ञापनपत्र बुझाएको भए पनि समस्या समाधानतर्फ सरकार उदासीन रहेको भन्दै महासंघले असन्तुष्टि जनाएको छ । विभागीय तहबाट समाधान नआएपछि प्रधानमन्त्रीस्तरमै हस्तक्षेप आवश्यक रहेको महासंघकी अध्यक्ष निर्मला शर्माले बताईन् ।
उक्त निर्णय तत्काल खारेज गरी सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्न महासंघले सरकारसँग जोडदार माग गरेको छ।साथै श्रमजीवी पत्रकारहरूको पारिश्रमिक तथा सेवा–सुविधा सुनिश्चित गर्ने र सरकारी विज्ञापनमा हुने अनियमितता तथा चुहावट रोक्ने स्पष्ट नीति बनाउनुपर्ने पनि महासंघको माग छ।महासंघले सरकारबाट सकारात्मक पहल नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।
“यदि यस्तो विभेदकारी निर्णय सच्याइएन भने नेपाली सञ्चार क्षेत्र धराशायी हुने, पत्रकारहरूको पेशागत सुरक्षा संकटमा पर्ने र लोकतान्त्रिक मूल्यप्रति सरकारको प्रतिबद्धता माथि गम्भीर प्रश्न उठ्नेछ।”ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।पत्रकार महासंघले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिएको छ।साथै,अन्तर्राष्ट्रिय अभ्यास अनुसार सबै सञ्चार माध्यमलाई समान अवसर प्रदान गर्नुपर्ने आवश्यकता महासंघले औंल्याएको छ ।यस घटनाक्रमले सञ्चार क्षेत्र र सरकारबीचको सम्बन्धमा नयाँ बहस सिर्जना गरेको जानकारहरु बताउँछन् ।