सर्लाहीका २० मध्य १४ वटा पालिकाको खाता अझै संचालनमा आएन

123 Shares

चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि सर्लाहीका १४ वटा पालिकाहरुको खाता संचालनमा आउन सकेको छैन।आर्थिक वर्ष २०८३÷०८४ सुरु भएको दुई महिना पुरा भई सक्दापनि जिल्लाका २० वटा पालिकाहरु तहमध्ये छ वटा पालिकाको मात्रै खाता संचालनमा आएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार पालिकाहरुले अघिल्लो आर्थिक वर्षमा विभिन्न स्रोतबाट प्राप्त रकमको खर्च तथा बाँकी रकमको हिसाब समयमै मिलान नगर्दा चालु आर्थिक वर्षको खाता संचालनमा समस्या देखिएको हो।
पालिकाहरुले स्रोतगत रूपमा खर्चको विवरण व्यवस्थापन गर्नुपर्ने,खर्च हुन नसकेको रकम समयमै फिर्ता गर्नुपर्ने तथा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण समेत मिलान गर्नुपर्ने हुन्छ। यी प्रक्रिया पूरा नभए नयाँ आर्थिक वर्षमा रकम निकासा गर्न समस्या हुने कार्यालयले  जनाएको छ।
लालबन्दी,बलरा र मलंगवा नगरपालिकाका साथै बसबरिया, बम्हपुरी र धनकौल गाउँपालिकाले आवश्यक हिसाब मिलान गर्न बाँकी रहे पनि आन्तरिक बजेट संचालनमा कठिनाइ भएको भन्दै खाता संचालनका लागि कार्यालयसंग अनुरोध गरेका थिए।आवश्यक हिसाब मिलान गरेपछि संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम निकासा गर्ने गरी ती स्थानीय तहको खाता संचालन गरिएको कोलेनिका सर्लाहीका प्रमुख पदम प्रसाद पौडेलले बताए।
२० वटा पालिका रहेको सर्लाहीमा ११ नगरपालिका र नौ वटा गाउँपालिका छन्। जिल्लाका स्थानीय तहमा हरिवन, बरहथवा, ईश्वरपुर, हरिपुर,गोडैता,कविलासी, हरिपूर्वा र बागमती नगरपालिका सहित चन्द्रनगर,विष्णु,कौडेना,पर्सा,रामनगर र चक्रघट्टा गाउँपालिकाले खाता सञ्चालनको प्रक्रिया नै सुरु गरेको छैनन् ।
हिसाब मिलान नहुदै स्थानीय तहका खाता सञ्चालन 
पालिकाहरुले गत आर्थिक वर्षको आय–व्यय तथा खर्चको आवश्यक हिसाब मिलान नगर्दै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाट नयाँ आर्थिक वर्षको खाता सञ्चालन गर्नै प्रया गर्नु वित्तीय अनुशासनमाथि विपरित हुने जानकारहरु बताउँछन् ।
स्थानीय तहले गत आर्थिक वर्षको खर्च विवरण,रातो किताब,खर्चको फाँटवारी लगायत आवश्यक विवरण सार्वजनिक गरी कोलेनिकामा पेश गरेर हिसाब मिलान गरेपछि मात्र नयाँ आर्थिक वर्षको निकासा तथा खाता सञ्चालन प्रक्रिया अघि बढाउनुपर्नेमा यी छ वटा पालिकाहरुले सो नगरी खाता सञ्चालनको प्रक्रिया सुरु गरि वित्तीय अनुशासनमाथि विपरित र सार्वजनिक खर्च व्यवस्थापनमाथि प्रश्न सृजा भएको जानकारहरु बताउँछन् ।
स्रोतगत रूपमा खर्च व्यवस्थापन नगर्नु,खर्च हुन नसकेको रकम समयमै फिर्ता नगर्नु तथा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण मिलान बाँकी रहनुले नयाँ आर्थिक वर्षको निकासा प्रक्रियामा समस्या देखिएको कोलेनिकाले जनाएको छ ।खाता सञ्चालनमा ल्याएका छ वटा तथा अन्य पालिकाहरुको समेत हिसाब मिलान प्रक्रियामा समस्या रहेको छ।  
यता,हिसाब मिलान नगरी खाता सञ्चालन गरिएको प्रमाणित भए सम्बन्धित कर्मचारी तथा पालिकामाथि आवश्यक कारबाही हुन सक्ने महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ओम रिजालले बताए।उनका अनुसार स्थानीय तहको दैनिक आर्थिक कारोबार,कर्मचारीको तलब–भत्ता तथा सेवा प्रदायकलाई हुने भुक्तानी समेत वित्तीय विवरण र निकासा प्रक्रियासँग प्रत्यक्ष जोडिएकाले यो विषयले पालिकाहरुको वित्तीय पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

सम्बन्धित समाचार