सर्लाहीका सीमानाकाहरुबाट व्यापक मात्रामा तस्करी भइ रहेको रहस्य सार्वजनिक भएको छ ।शुक्रबार दुई वटा पिकअप बोलेरोमा नेपालबाट भारत तर्फ लुकाई छिपाई भन्सार छली चाईनिज लसुन र चाईनिज काँक्रोको बिउ अवैध तरिकाले निकासी भएपछि सो रहस्य सार्वजनिक भएको हो ।
पछिल्ला केही दिन यता भारतसंग सीमा जोडिएका जिल्लाहरुका सीमानाकाहरुमा कडाई गरिएको सुरक्षाकर्मीहरुले दाबी गरेपनि बिआर ०६ जिडी ६६३४ र बिआर ०६ जिडी ९७५९ नम्बरको पिकअप बोलेरोमा करिब पाँच टन बराबरको चिनियाँ लसुन र काँक्रोको बिउ सर्लाहीको संग्रामपुर स्थित सीमा क्षेत्रबाट भारत तर्फ अवैध तरिकाले जाँदै गर्दा भारतको सीतामढी जिल्ला अन्तर्गत पर्ने लालबनी नाकामा खटिएको भारतीय सशस्त्र सीमा बल(एसएसबी) ले नियन्त्रणमा लिएपछि नेपाल भारत सीमा क्षेत्रमा खुलेआम रुपमा व्यापक तस्करी भई रहेको रहस्य सार्वजनिक भएको हो ।भारतीय सशस्त्र सीमा बल(एसएसबी)स्रोतका अनुसार बरामद गरिएको चाईनिज लसुन करिब एक हजार दुई सय छ किलो र काँक्रोको बिउ तीन हजार हजार सात सय २४ किलो रहेको छ ।
यसका साथै सर्लाहीको पर्सा गाउँपालिका ३ नारायणपुर स्थित भारतबाट अवैध तरिकाले भन्सार छलि गरी नेपाल तर्फ ल्याउँदै गरेको बिआर ३० एफ ३०८७,बिआर ३० एच ०५३५,बिआर ३० एप २६२८ र बिआर ३० टी ६९८६ नम्बरका चार वटा भारतिय मोटरसाईकलमा भन्सार छली लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेको कपडा सर्लाही प्रहरीले नियन्त्रणमा लिएपनि सार्वजनिक नगर्नुले सर्लाहीका सुरक्षा निकायहरुको मिलेमतोमा भन्सार छली हुने गरेको प्राष्ट पारेको छ ।
यी दुवै घटनाले सर्लाहीमा पछिल्ला दिनहरूमा पनि तस्करी निरन्तर जारी रहेको प्रष्ट पार्छ।भारततर्फ अवैध रूपमा निकासी भएको ठूलो परिमाणको चाईनिज सामान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिनु र नेपाल तर्फ ठूलो मात्रामा कपडा भित्रनुले सर्लाहीको सीमा व्यवस्थापन,सीमा सुरक्षा संयन्त्र र सुरक्षाकर्मीहरुको भूमिकामाथि गम्भीर प्रश्न सृजना गरेको छ ।
भारतीय सशस्त्र सीमा बल(एसएसबी)ले नियन्त्रणमा लिएको चाईनिज सामानका साथै नेपाल भारत सीमा नाका भन्दा करिब दुई किलो मिटर माथि सम्म भित्रिएको चार वटा मोटरसाईकलमा कपडाले सामान्य घरायसी कारोबार नभई संगठित र योजनाबद्ध नेटवर्कमार्फत भइरहेको अवैध व्यापारको संकेत प्रष्ट भएको छ ।
भारतीय पक्षका अनुसार उक्त तस्करीमा संलग्न दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने प्रयोग गरिएका दुबै बोलेरो पिकअपहरु जफत गरिएको छ।पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि सोनबरसा भन्सार कार्यालय,सीतामढीमा बुझाइएको भारतीय सशस्त्र सीमा बल(एसएसबी)स्रोतले जनाएको छ।यता नेपाल तर्फ चार वटा भारतिय मोटरसाईकल सहित कपडा बरामद् भएको भएपनि मानिस नियन्त्रणमा नलिनु नेपाली सुरक्षाकर्मीहरुको मिलेमतोमा तस्करी र भन्सार छली निरन्तर भई रहेको प्रष्ट पारेको छ ।
“सेटिङ”को आरोप
जिल्ला प्रहरी कार्यालय सर्लाहीले“क्राइम टोली”को नाममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रविधिक तर्फ काम गर्ने प्रहरी जवान अजय सहनी र प्रहरी हवल्दार धर्मेन्द्र पटेललाई परिचालन गरी तस्करी नेटवर्कसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका स्थानीय स्रोतको आरोप छ।यद्यपि,यी आरोपहरू आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको भएपनि स्थानीय तहमा उठिरहेका गुनासो र भारतमै समातिएको ठूलो परिमाणको सामानले यी आरोपलाई बल पु¥याएको छ ।
यसका साथै सर्लाहीका विभिन्न सीमानाकाहरुबाट व्याट्री लगायतका कवाडीहरुको तस्करी हुने गरेको समेत पाइएको छ ।विभिन्न पाँच वटा उद्योगहरुले सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई सम्बोधन गरी “तस्करी नियन्त्रण सम्बन्धमा”भनि लेखिएको निवेदन उपर कुनै कार्बाही नभएपछि प्रमुख जिल्ला अधिकारी कडरिया सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का र सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक अम्बर खत्रीको मिलेमतोमा चर्काे कमिसन असुलेर पुराना व्याट्री,तामा तथा पित्तलको अवैध निकासी पैठारी गर्न सहजता प्रदान गरेका रहस्य फेला परेको हो ।
वाई.जी.मेटल उद्योग प्रा.लि,सन्नी लिड उद्योग प्रा.लि,महेश्वर लिड उद्योग प्रा.लि,आर सी लिड उद्योग प्रा.लि र आर सी इण्डष्ट्रिज प्रा.लिले संयुक्त रुपमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारी कडरियालाई लेखेको निवेदन उपर कुनै कार्बाही नभएपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवारमा समेत निवेदन पेश भएको पाइएको छ ।
महेश्वर लिड उद्योग प्रा.लि.ले सर्लाहीको सखुअवा,त्रिभुवननगर,मधुवनी र बलरा नाकाबाट पुराना व्याट्री,तामा तथा पित्तलको अवैध निकासी पैठारी हुने गरेको र भारतबाट नेपाल तर्फ कपडा,फलफुल,कस्मेटीक लगायतका सामाग्रीहरु भन्सार छली अवैध तरिकाले भित्र्याउने गरेको उक्त निवेदनमा उल्लेख गरिएपछि सर्लाहीका सुरक्षा अधिकारीहरुको मिलेमतोमा जिल्लाका सीमानाकाहरुबाट अवैध कारोबार हुने गरेको रहस्य प्रष्ट भएको हो ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पेश गरिएको निवेदनमा दैनिक ठूलो मात्रामा पुराना व्याट्री,तामा तथा पित्तलको अवैध निकासी पैठारी हुने तथा नेपाल तर्फ कपडा, फलफुल,कस्मेटीक लगायतका सामाग्रीहरु भन्सार छली अवैध तरिकाले भित्र्याउने गरिएको उल्लेख गरिएको छ ।
यसका साथै सर्लाहीका पश्चिमी नाकाहरू बहादुरपुर,अर्नाहा,मधुवनी,बलरा लगायतबाट अहिले पनि तस्करी भई रहेको स्रोतको दाबी छ।दिउँसो रु सयको सामान ल्याउँदा रोकेर सोधपुच गर्दै तनाव सृजना गराउने सुरक्षाकर्मीहरु कै मिलेमतोमा रातीको समयमा ठूलो मात्रामा व्यापक तस्करी हुने गर्दा स्थानीय आक्रोसीत भएका छन् ।
किन बढ्यो चिनियाँ सामानको तस्करी ?
चिनियाँ लसुन र तरकारीका बिउमा नेपाल–भारतबीचको मूल्य अन्तर तस्करीको मुख्य कारण बनेको जानकारहरु बताउँछन् ।
भारतमा चिनियाँ लसुनमा कडा प्रतिबन्ध र उच्च भन्सार दर भएकाले व्यापारीहरूले नेपाललाई “ट्रान्जिट रुट”का रूपमा प्रयोग गर्ने गरेका छन्।नेपालमा भन्सार प्रक्रिया अपेक्षाकृत कमजोर हुनु,खुला सीमा र स्थानीय स्तरमा हुने “सेटिङ”ले यस्तो गतिविधिलाई सहज बनाएको स्रोतको दाबी छ।स्थानीय प्रशासनले बारम्बार तस्करी नियन्त्रणमा कडाइ गरि रहेको दाबी गर्दै आएको छ।तर, यथार्थ भने फरक देखिएको छ ।एकातिर नेपाल पक्षले “नियन्त्रण कडा बनाइएको”भन्ने दाबी गरिरहेको छ भने अर्कोतिर भारतमै ठूलो परिमाणमा सामान बरामद हुनु आफैंमा नियन्त्रण प्रणाली कमजोर रहेको प्रष्ट हुन्छ ।
यो घटनाले केवल तस्करीको मुद्दा मात्र उठाएको छैन,बरु सुरक्षा संयन्त्रको विश्वसनीयता माथि नै प्रश्न खडा गरेको छ।कसरी यति ठूलो परिमाणको सामान सीमा पार पुग्यो?स्थानीय सुरक्षाकर्मीहरुलाई जानकारी थिएन,कि उनीहरू नै संलग्न थिए?किन बारम्बार एउटै नाकाबाट तस्करी भइरहेको छ ? यी प्रश्नहरूको जवाफ कसैसंग छैन ।
स्थानीयको आक्रोश
सीमा नाकामा घरायसी सामानहरुमा कडाई गरेर तस्करी हुन दिने गर्दा नेपाली बजारमा सामाजिक र आर्थिक असर परेको स्थानीयको गुनासो छ।“घरायसी सामान ल्याउने र साना व्यवसायीलाई कडाइ हुन्छ,तर ठूलो तस्करी खुलेआम चल्छ,”उनीहरुले भने।स्थानीयका अनुसार तस्करीले स्थानीय बजारमा असमान प्रतिस्पर्धा सिर्जना गरेको छ भने राज्यको राजस्वमा पनि ठूलो नोक्सानी पुर्याएकाे छ।सर्लाहीका सीमानाकाहरुमा देखिएको यो घटना कुनै “एकदिनको अपवाद”होइन,बरु लामो समयदेखि जरा गाडेको समस्याको सतहमा आएको संकेत मात्रै हो । भारतमै ठूलो परिमाणमा तस्करीको सामान समातिनु,सुरक्षाकर्मीहरुको संलग्नताको आरोप सार्वजनिक हुनु र स्थानीयस्तरमा उठिरहेका गुनासाहरूले सर्लाहीका सबै नाकाहरुमा तस्करी नियन्त्रण प्रणाली असफल भएको स्पष्ट देखाउँछन् ।
के यो घटनापछि वास्तविक सुधार हुन्छ ? कि फेरि केही दिनको चर्चा पछि विषय सेलाउ छ ? सरकार,सुरक्षा निकाय र सम्बन्धित निकायले पारदर्शी छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म सर्लाहीका सीमा नाकाहरुमा तस्करीको “सेटिङ”अन्त्य हुने सम्भावना कमजोर देखिन्छ ।