मधेश प्रदेशका आठ मध्य पाँच जिल्लाका विभिन्न सात वटा वडामा मंसिर१६ गते उपनिर्वाचन हुँदै छ।मधेश प्रदेशको सप्तरी,धनुषा,महोत्तरी,रौतहट र बारा गरी पाँच जिल्लाका सात स्थानमा निर्वाचन हुने भएको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४,धनुषाको धनुषाधाम नगरपालिका १,महोत्तरीको रामगोपालपुर नगरपालिका २,रौतहटको ईशनाथ नगरपालिका ७,राजपुर नगरपालिका ६ र बाराको गढीमाई नगरपालिका ८ मा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार देशैभरि विभिन्न पदका लागि तीन सय ७६ जनाले उम्मेदवारी दिएका छन्। कुल २० वटा राजनीतिक दलका उम्मेदवार बाहेक आइतवार हुने उपनिर्वाचनमा एक सय दुई जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।
मधेश प्रदेशमा कहाँ कहाँ कति छन् उम्मेदवार ?
मधेश प्रदेशका सात वटा वडामा हुने उपनिर्वाचनका लागि एक सय तीन जनाको उम्मेदवारी परेको छ।मंसिर २ गते आइतबार भएको मनोनयन दर्तामा धनुषाको धनुषाधाम नगरपालिका १ को वडाध्यक्ष पदका लागि २१ जना,महोत्तरीको रामगोपालपुर नगरपालिका २ को वडाध्यक्षका लागि २० जना,सप्तरीको डाकनेश्वरी नगरपालिका १ को वडाध्यक्षका लागि नौ जना र डाकनेश्वरी नगरपालिका ४ का लागि आठ जना,रौतहटको ईशनाथ नगरपालिका ७ को वडाध्यक्ष पदका लागि १५ जना,राजपुर नगरपालिका ६ का लागि १४ जना र बाराको गढीमाई नगरपालिका ८ को वडाध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
मौन अवधि सुरु, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
यही मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ।निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसंग आग्रह गरेको छ।स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचार प्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको आयोगकी प्रवक्ता नीता पोखरेल(अर्याल)ले जानकारी दिईन् ।
उनका अनुसार निर्वाचन कसुर तथा सजाय ऐन,२०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी,उम्मेदवार,दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्न समेत आयोगले आग्रह गरेको छ ।मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न,जुलुस निकाल्न,नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न पाइने छैन ।
यस्तै,निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल,अन्तक्र्रिया,सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि कार्य निषेध गरिएको छ।कुनै पनि विधि,प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न तथा नगराउन समेत आयोगले आग्रह गरेको छ ।
सामाजिक सञ्जाल,अनलाइन,छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश,सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर नगर्न अनुरोध गरिएको आयोगले जनाएको छ ।निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा निर्वाचन आचार संहिता विपरितका कार्य गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति,आचारसंहिता अनुगमन टोली,जिल्ला आचारसंहिता अनुगमन समिति,स्थानीय प्रशासन,सुरक्षाकर्मी र अनुगमन अधिकृतबाट समेत सूक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ।निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आव्हान गरेको छ।