राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सरकार बनेपछि सुशासनको अपेक्षा गरेका नेपाली जनता पुरानै हैरानीमा परेका छन्।लामो समयदेखि कर्मचारी तन्त्रको सञ्जालमा बेरिएको राज्यका हरेक संयन्त्रहरु रास्वपाको करिब दुई तिहाईको सरकार बनेपनि तोड्न नसक्दा कर्मचारी तन्त्रको दादागिरी र मनोमानी चलि रहेको छ।रास्वपाको सरकारले कर्मचारी तन्त्रको दादागिरी र मनोमानी तोड्न भन्दै बिहान ९ बजेबाट साँझ ५ बजे सम्म कार्यालय समय साथै शनिबार र आईतबार दुई दिन विदा दिएर पनि कर्मचारीहरुमा पुरानै शैली परिवर्तन नहुँदा सर्वसाधारणहरुले सास्ती खेपी राख्नु परेको छ ।
महोत्तरीको बर्दिवास स्थित रहेको यातायात व्यवस्था कार्यालयका मेकानिकल सुपरभाईजर इन्द्रनारायण पण्डीतका कारण सोमबार दिनभर सेवाग्राहीहरुले चरम सास्ती खेप्नु पर्यो ।मे.सु.पण्डीतले कार्यालय समयलाई ध्यान नदिँदा सोमबार यातायात कार्यालय बर्दिवासमा सवारी साधन खरिद बिक्रिका लागि पुगेका सेवाग्राहीहरु बिहान देखि दिउँसो करिब साढे ३ बजे सम्म मे.सु.पण्डीतको प्राविधिक शाखा कोठा नम्बर ९ लाई हेरेर बस्न बाध्य भएका थिए । सप्तरी घर भएका मे.सु.पण्डीत शुक्रबार नै घर गएका भएपनि सोमबार कार्यालय खुलेपछि पनि नआउँदा उनको कार्यशैलीका कारण सेवाग्राही हैरान भएका हुन ।
सवारी साधनको नामसारी,रुट परमिट नवीकरण,यान्त्रीक परिक्षण,ब्लुबुक सम्बन्धी काम तथा अन्य प्राविधिक सेवाका लागि दैनिक सयौं सेवाग्राही आउने यातायात कार्यालय बर्दिवासमा कार्यालय समय मै पुगेका सेवाग्राहीहरुले सहज सेवा पाउन नसकेको गुनासो कमलामाई मिडिया प्रा.लि.लाई गरे ।
त्यसपछि हाम्रो टिमले मे.सु.पण्डीतको कार्यकक्ष पक्ता लगाई सो विषयमा कार्यालय प्रमुख राकेश कुमार यादवलाई जानकारी गराउँदै जिज्ञासा राख्दा उनले “यातायात व्यवस्था कार्यालय बर्दिवासमा कार्यतर रहेका केही कर्मचारीहरुका कारण कार्यालय बद्नाम हुने अवस्थामा पुगेको बताए।उनले भने कहिलै नसुध्रिने कर्मचारीमा मे.सु.पण्डीत पनि हुन उनलाई कति भन्ने मैले मन्त्रालयलाई यी कर्माचारीलाई यहाँबाट अन्यन्त्र सरुवा गरिदिन भनि पटक पटक भनेको छु।मन्त्रालयले के कारणले सरुवा गरी रहेको छैन्।थाहा भएन तर उनका कारण सेवाग्राहीहरुले हैरानी खेप्नु परेको छ।मे.सु.र सहायक प्राविधिक गरी दुई जना रहेकामा सहायक प्राविधिकको यातायात व्यवस्था कार्यालय सप्तरी काज सरुवा भएको छ।अहिले एक जना मात्रै प्राविधिक हुँदा सेवाग्राहीहरुलाई समस्या भएको साथै मे.सु.पण्डीतलाई धेरै दवाव दिँदा बिदा लेख्दिन भन्दै धम्की आउँछ।”बताए ।
सेवाग्राहीहरुका अनुसार मे.सु.पण्डितले करिब साँढे ३ बजेपछि कार्यालयमा आए हामी टाढा टाढाबाट आएका छौँ ।सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म हो ।यो अवधिमा कार्यालयमा कर्मचारीहरु अनिर्वाय हुनु पर्नेमा त्यसो नभएको सेवाग्राहीहरुको गुनासो छ ।
यस्तै,एक यातायात व्यवसायीले पनि कार्यालयको अस्तव्यस्त व्यवस्थापनका कारण आफूले पटक–पटक दुःख पाएको बताए।“सरकारी सेवा लिन आउँदा कर्मचारीको व्यवहार निजी कम्पनी भन्दा खराब छ। सेवाग्राहीलाई सम्मान गर्ने संस्कार नै छैन।कार्यालय समयमा पनि कार्यालयमा भेटिँदैन् ।” उनले गुनासो गरे।सेवाग्राहीहरूका अनुसार मे.सु.पण्डितले आफू अनुकूलका व्यक्तिहरूको काम भने सहज रूपमा गरिदिने तर सामान्य नागरिकलाई अनेक बहानामा अल्झाउने गरेको आरोप छ।केही सेवाग्राहीले बिचौलियामार्फत काम छिटो हुने गरेको दाबीसमेत गरेका छन्।
कार्यालय परिसरमा दैनिक भीड बढ्दो भए पनि सेवाप्रवाह सुधार गर्न कार्यालय प्रशासन गम्भीर नदेखिएको सेवाग्राहीहरूको भनाइ छ।नागरिकले समयमै सेवा नपाउँदा निजी कामकाज प्रभावित हुनुका साथै आर्थिक भार समेत बढ्ने गरेको छ।एक सेवाग्राहीले आक्रोश पोख्दै भने,“राज्यले जनतालाई सेवा दिन कार्यालय खोलेको हो कि दुःख दिन ? कर्मचारीको मनपरीले सर्वसाधारण आजित भएका छन्।कार्यालय समयमा कर्मचारीहरु कार्यालयमा नभेटिने समस्या साथै कमिसनको चलखेल बढ्दो छ।”उनी विगत लामो समयदेखि यातायात व्यवस्था कार्यालय बर्दिवासमा कार्यरत रहेका छन् ।
यातायात कार्यालयमा देखिएको ढिलासुस्ती र कर्मचारीको व्यवहारप्रति स्थानीय सरोकारवालाले समेत चासो व्यक्त गरेका छन्।सरकारी कार्यालयमा पारदर्शिता,जवाफदेहिता र सेवामुखी व्यवहार आवश्यक रहेको उनीहरूको भनाइ छ।यता,सो विषयमा मे.सु.पण्डितसँग कमलामाई मिडिया प्रा.लि.ले फोन गर्दा उनले म कार्यालय आउँदै छु।एकैछिनमा पुग्छु बताए।तर हामीलाई उनले हामीले पौने २ बजे फोन गर्दा म आधा घण्टामा कार्यालयमा पुग्छु भनेका थिए।त्यसपछि हामी उनको कार्यकक्ष कुरेर बसौँ।उनी करिब सवा ३ बजे कार्यालय आए।सेवाग्राहीहरुको चाप रहेका कारण हामीले उनीसंग कुरा गर्न सकेनौँ ।
सरकारी कार्यालयहरू नागरिक मैत्री बन्नुपर्ने बेला यातायात व्यवस्था कार्यालय बर्दिवासमा देखिएको यस्तो प्रवृत्तिले सेवाग्राहीमा राज्यप्रतिको विश्वास कमजोर बनाइरहेको छ।सम्बन्धित निकायले यथाशीघ्र ध्यान नदिए सेवाग्राहीको आक्रोश अझ बढ्ने देखिन्छ।