सर्लाहीको लालबन्दी नगरपालिका–२ नवलपुर स्थित जुटपानीमा भाडाको घरमा लुकिछिपी सञ्चालन भइरहेको अवैध भ्रुण हत्या(गर्भपत्तन)गर्ने क्लिनिकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लास्तरिय अनुगमन समितिले अनुगमन गर्दा लालबन्दी नगरपालिका–२ नवलपुर स्थित जुटपानीमा भाडाको घरमा लुकिछिपी सञ्चालन भइरहेको अवैध भ्रुण हत्या(गर्भपत्तन)गर्ने क्लिनिक फेला परेको र उत्त क्लिनिकबाट धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ का अन्दाजी ४५ वर्षीय लालबाबु राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार यादवलाई नियन्त्रणमा लिएर म्याद थप गरि ईलाका प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखि घटनाबारे थप अनुसन्धान सुरु भएको छ ।कुनै पनि निकायमा दर्ता नगरी तथा अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको सूचनाका आधारमा उनीमाथि अनुसन्धान सुरु भएको र अनुगमनका क्रममा उक्त स्थानबाट भ्रुण हत्या(गर्भपत्तन)मा प्रयोग हुने औजार तथा औषधी बरामद गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताए।उनका अनुसार विशेष सूचनाको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको टोलीले बुधबार अनुगमन गर्दा अवैध गतिविधि भएको फेला परेको थियो।टोलीले क्लिनिक तत्काल सिल गरी सञ्चालकलाई प्रहरीको जिम्मा लगाएको छ ।उत्त क्लिनिक नवजीवन विद्याश्रम मा.वि.नजिकै बोर्डसमेत नराखी सञ्चालन भइरहेको खुलेको छ।
पछिल्लो समयमा सर्लाहीमा नीजि स्वास्थ्य संस्थाहरु च्याउ सरी खुलेआम रुपमा खुलेर सञ्चालन भई रहेका र उनीहरु मध्य अधिकांशले न्यूनतम मापदण्ड समेत पालना नगरेका पाइएको अनुगमन समितिले जनाएको छ ।तर हरेक वर्ष अनुमगन हुने गरेको भएपनि सर्लाहीका नीजि स्वास्थ्य संस्थाहरु सञ्चालनमा कुनै सुधार नआएको स्थानीय जानकारहरु बताउँछन् ।