नेपाली बजारमा भारतीय गोलभेँडाको बर्चश्व,नेपाली गोलभेँडाले मुल्या पाएन

780 Shares

गणेश खड्का
सर्लाहीका किसानहरुले फलाएको गोलभेँडा सस्तिएको छ । विगत एक सातादेखि भारतीय गोलभेँडा अत्यधिक भित्रिँदा जिल्लाका किसानहरुले उत्पादन गरेको गोलभेँडा सस्तिएको हो । ‘सिजन’को अन्तिममा भारतीय गोलभेँडा धेरै भित्रिँदा आफूहरुले फलाएको गोलभेँडाले भाउ नपाएको हरिवन नगरपालिका २ का किसान राम पुकार महतोले गुनासो गरे ।
उनका अनुसार एक साताअघि जिल्लाका किसानहरुले गोलभेँडा प्रतिकेजी एक सय २० देखि एक सय ५० सम्ममा बिक्री गरेको भएपनि अहिले भारतीय गोलभेँडा अत्यधिक भित्रिँदा आफुहरुले उत्पादन गरेको गोलभेँडा सस्तिएको हो ।
लालबन्दी नगरपालिका १७, रानिगञ्जका किसान प्रवीण पौडेलले बिनारोकतोक भारतीय गोलभेँडा भित्रिँदा आफूहरु मारमा परेको गुनासो गरे ।“भारतीय गोलभेँडा धेरै भित्रिँदा हाम्रो उत्पादनले मुल्य पाएन्,यही अवस्था रहे उत्पादन लागत उठाउनै मुस्किल पर्छ,” पौडेलले बताए । अहिले गोलभेँडाको मुल्य घटेर रु सय प्रतिकेजीमा आइपुगेको जिल्लाका अर्का किसान किशोरी महतोले बताए । उनका अनुसार भारतबाट ठूलो परिमाणमा गोलभेँडा भित्रिएको र चर्को घामले आफुहरुले उत्पादन गरेको गोलभेँडा पनि धमाधम पाकेर बजारमा धेरै आइरहेकाले मुल्य घटेको हो ।
भारतबाट धेरै गोलभेँडा भित्रिएको र जिल्लामा उत्पादन भएको गोलभेँडा पनि धेरै उत्पादन भएकाले मुल्य ह्वात्तै घटेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीका अध्यक्ष तोरण बहादुर मगरले जानकारी दिए । उनका अनुसार“एक साताअघि क्रेटको रु आठ सय देखि रु एक हजारसम्म बिक्री भएको गोलभेँडा अहिले तीन सय देखि चार सय सम्ममा किनबेच भइरहेको छ ।”अब यही चैत महिनाभर मात्रै जिल्लामा गोलभेँडा उत्पादन हुने कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।
निरन्तर वर्षा हुन थालेपछि जिल्लाका गोलभेँडा उत्पादक किसानहरुले लगाएको गोलभेँडाका बोटहरु मर्न थालेका कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहले बताए । उनका अनुसार अहिले बजारमा आइरहेको स्थानीय गोलभेँडा अन्तिम फलाइ हो ।

“अघिल्ला वर्षहरुमा उत्पादनको सिजनको अन्तिमतिर गोलभेँडाले राम्रो मूल्य पाउँदा किसानहरुलाई राहत मिलेको थियो तर यस वर्ष  उत्पादनको अन्त्य तिर गोलभेँडाले मुल्य पाएन किसानहरु मारमा परेका छन् ।”केन्द्र प्रमुख कुशवाहले बताए ।भारतीय गोलभेँडा छ्यापछ्याप्ती भित्रिँदा गोलभेँडा खेती गर्ने जिल्लाका किसानहरु मारमा परेका केन्द्रको भनाई छ । 
जिल्लाका किसानहरुले उत्पादन गरेको गोलभेँडा लालबन्दी र नवलपुर बजारमा ल्याएर बिक्री हुने गरेको छ ।

पछिल्लो समय सासापुरस्थित तीनघरेमा पनि गोलभेँडा सङ्कलन केन्द्र स्थापना गरी स्थानीय किसानहरुले उत्पादन गरि ल्याएको गोलभेँडा गरिद गर्न थालिएको छ । जिल्लाका यी बजारमा संकलन भएको गोलभेँडा काठमाडौँ,पोखरा,बुटबल,विराटनगर लगायत देशका ठूला शहरमा निर्यात हुने गरेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ । 

सम्बन्धित समाचार