नेपाल बैंक शाखा मलंगवाबाट ग्राहकको रकम चोरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२७ गते   ६०९ पटक हेरिएको

नेपाल बैंक लिमिटेड शाखा मलंगवा सर्लाहीको खाताबाट खातावालालाई जानकारी नै नगराई रकम चोरी भएको छ । रकम चोरीमा मोबाइल बैंकिङको प्रयोग भएको खाताधारी पीडित शिवनाथ प्रसादको गुनासो छ ।
मलंगवा नगरपालिका २ बस्ने बोनी ट्रेडर्सका संचालक शिवनाथको नाममा रहेको खाताबाट फरक फरक मिति र समयमा गरि रु १ लाख ७८ हजार ३ सय ४० चोरी भएको पीडितको भनाई छ । उहाँका अनुसार नेपाल बैंक लिमिटेड शाखा मलंगवामा आफुले बोनी ट्रेडर्सको नाममा ०२९००१०१२१२१४७०००००१ नम्बरको खाता र आफ्नो नाममा ०२९०१००७१२६९४७०००००१ नम्बरको खाता संचालन गर्दै आएको र सोही खाताहरुबाट आफुलाई कुनै किसिमको जानकारी नगराइ विभिन्न मिति र समयमा रकम चोरी भएको हो ।
आफुले खाताबाट पैसा नझिक्दा पनि रकम हराएको जानकारी पाए लगत्तै नेपाल बैँक लिमिटेड शाखा मलंगवाका प्रबन्धक शम्भु ठाकुरलाई जानकारी गराएको शिवनाथले बताउनु भयो । आफुले शाखा प्रवन्धक ठाकुरलाई  खाताबाट चोरी भएको रकम तुरुन्त खातामा जम्मा गराई दिन आग्रह गरेको उहाँले बताउनु भयो ।
उक्त शाखामा लिखित निवेदन दिइसकेको साथै रकम निकाल्ने व्यक्तिको बारेमा छानबिन गरि चोरी भएको रकम उपलब्ध गराइ दोषीलाई कानुन बमोजिम कार्यवाही गर्न भनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पनि लिखित उजुरी दिइसकेको शिवनाथले बताउनु भयो ।
नेपाल बैँक लिमिटेड शाखा मलंगवाका प्रबन्धक ठाकुरले आफुले जानकारी पाउने बित्तिकै प्रधान कार्यालयमा जानकारी गराएको र प्रधान कार्यालयले पनि फोन पे कम्पनीलाई छानबिनको लागि जानकारी गराईसकेको र उक्त कम्पनीले पनि सम्बन्धित ठाउँहरुमा जानकारी पठाइ सकेको बताउनु भयो । धेरै ठाउँमा खाता रोक्का समेत गरिसकिएको उहाँले बताउनु भयो । यो एउटा गम्भीर विषय भएकोले यस सम्बन्धि राष्ट्र बैंकले पनि वृहत् रुपमा छानबिन गरिरहेको र छानबिन प्रक्रिया धेरै अगाडी बढी सकेको शाखा प्रबन्धक ठाकुरले बताउनु भयो ।
खाताधारीले दिएको उजुरीको आधारमा खाताबाट रकम के–कसरी चोरी भएको भन्ने विषयमा छानबिनका लागि नेपाल बैँक लिमिटेड शाखा मलंगवालाई पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय इन्टरनेटको माध्यमबाट हुने अपराधहरु बढिरहेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech