वि.पी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेंसी सडकखण्डमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाईएको छ।जिल्ला प्रशासन कार्यालय सिन्धुली र काभ्रेको समन्वयमा एक सार्वजनिक सूचना जारी गर्दै मंगलबारदेखि अर्काे सूचना जारी नहुँदा सम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।वर्षायामको जोखिम बढ्दै गएसँगै पछिल्ला दिनमा निरन्तर वर्षा,रोशी खोलामा आकस्मिक बाढीको सम्भावना तथा कमजोर भू–संरचनाका कारण सडक जोखिमपूर्ण बन्दै गएकाले अहिलेको अवस्थालाई मध्यनजर गर्दै सम्भावित दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै अर्काे सूचना जारी नहुँदा सम्मका लागि रात्रीकालीन समयमा सवारी आवागमनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
सूचनामा उल्लेख गरिए अनुसार तोकिएको समयबाहेक पनि मौसमको अवस्था प्रतिकूल भएमा वा नदीमा जलस्तर बढेमा आवश्यकता अनुसार जुनसुकै समयमा छोटो अवधिका लागि सवारी आवागमन रोक्न सकिने छ। प्रशासनले यसलाई सतर्कतामूलक उपायका रूपमा व्याख्या गर्दै आम नागरिकलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।
यात्रु तथा सवारी चालकलाई उक्त सडकखण्ड प्रयोग गर्नु अघि सडकको वर्तमान अवस्था, मौसम पूर्वानुमान तथा सम्बन्धित निकायको सूचना अनिवार्य रूपमा बुझ्न प्रशासनले अनुरोध गरेको छ ।विशेष गरी काभ्रेको कटुन्जे बेंसीदेखि सिन्धुलीको नेपालथोक सम्मको सडक खण्डमा यात्रा गर्दा थप सावधानी अपनाउन सवारी चालकहरु तथा यात्रुहरुसंग दुवै जिल्ला प्रशासन कार्यालयहरुले अनुरोध गरेका छन् ।सोमबार राति रोशी खोलामा आएको आकस्मिक बाढीका कारण अलपत्र परेको माइक्रो बसमा सवार ८९ जना यात्रुहरू जोखिममा परेपछि उनीहरूलाई नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले समन्वयात्मक रूपमा उद्धार गरी सकुशल सुरक्षित स्थानमा पु¥याएको थियो ।त्यसपछि वि.पी राजमार्गको जोखिम अवस्थालाई उजागर गरेको भन्दै सरोकारवाला निकायहरू थप सतर्क बनेका हुन् ।