Close This

सर्लाहीको धनकौल र हरिपुरमा कांग्रेसका उम्मेदवार विजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२ गते   ३७० पटक हेरिएको

सर्लाहीको धनकौल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय निकाय रहेको सर्लाहीमा नेपाली कांग्रेसले पालिकातर्फ पहिलो खाता खोलेको हो ।
धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी हुनु भएको छ । उहाँले ४ हजार ४ सय ७७ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार फकिरा महतोले ३ हजार ३ सय ७८ मत ल्याउनु भएको थियो । निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनु भएका साहले १ हजार ९९ मतान्तरले महतोलाई पराजित गर्दै दोस्रो कार्याकालका लागि जित निकाल्नु भएको हो ।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार गाउँपालिकाको निवर्तमान उपाध्यक्ष समेत रहनु भएकी अकली सहनी ४ हजार ५ सय ४ मतका साथ विजयी हुनु भएको हो । सातवटा वडा रहेको धनकौल गाउँपालिकाको १, २, ४ र ७ मा कांग्रेस, ५ र ६ मा माओवादी केन्द्र तथा ३ नम्बर वडामा नेकपा(एमाले)का वडाध्यक्ष विजयी भएका छन्।
त्यसैगरी जिल्लाको हरिपुर नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार गोपाल पंजियार ६  हजार ९ सय ३८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । यस्तै, उप प्रमुख पदमा पनि कांग्रेसकै उम्मेदवार निलमदेवी राय यादव ५ हजार ५ सय ८३ मतका साथ विजयी हुनु भएको छ ।
विजयी हुनु भएका पजियारले निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुनिलकुमार बुढाथोकीलाई ३ हजार ५१ मतान्तरले पराजित गर्नु भएको हो । माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बुढाथोकीले ३ हजार ८ सय ८७ मत  प्राप्त गर्नु भएको छ । त्यसैगरी उप प्रमुख पदमा निकटतम प्रतिस्पर्धी नेकपा (एकिकृत समाजवादी)की शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गर्नु भयो ।
२०७४ सालको स्थानीय निकायको निर्वाचनमा हरिपुर नगरपालिकामा नेकपा(एमाले)ले जितेको थियो । पार्टीमा विभाजन आएसँगै नेकपा(एकीकृत समाजवादी)मा गएका निवर्तमान नगर प्रमुख जमिरुद्दिन मन्सुरले २ हजार ८ सय ५ मत प्राप्त गर्नु भएको छ ।
हरिपुर नगरपालिका १, मा माओवादी केन्द्रका नानीबाबु थापा,२ मा नेकपा एमालेका निलविक्रम थापा, ३ मा माओवादी केन्द्रका लाल महमद शेष, ४ मा एमालेका संजय प्रसाद साह, ५ मा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी विजयी हुनु भएको छ ।
यस्तै, हरिपुर नगरपालिका ६ मा  कांग्रेसका प्रेमहरि श्रेष्ठ, ७ मा कांग्रेसका मनोज कुमार चौधरी, ८ मा एकीकृत समाजवादीका हरिबहादुर थापा र वडा नम्बर ९ मा एकीकृत समाजवादीका विश्वनाथ राय विजयी हुनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech