नेपालमा हरेक आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका कामहरू एकाएक तीव्र गतिमा अघि बढ्ने दृश्य अब सामान्य जस्तै बनिसकेको छ।आर्थिक वर्षको अन्त्यमा सडक कालोपत्रे,नाला निर्माण,भवन मर्मत,पुल विस्तार,खानेपानी आयोजना,ढल व्यवस्थापनदेखि विभिन्न सरकारी योजनाका काम धमाधम सुरु हुने गरेका छन्।वर्षभर सुस्त देखिने सरकारी संयन्त्र आर्थिक वर्षको अत्यन्त सक्रिय देखिन्छ।तर यो सक्रियता वास्तविक विकासका लागि भन्दा पनि बजेट सक्ने र आर्थिक अनियमितता ढाकछोप गर्ने माध्यमका रूपमा बढी आलोचित हुँदै आएको छ।
“असारे विकास”भन्ने शब्द नेपाली समाजमा यति चर्चित भइसकेको छ कि यो केवल विकास गतिविधि नभई भ्रष्टाचार,कमसल काम,राजनीतिक पहुँच र प्रशासनिक लापरबाहीको प्रतीक बन्न पुगेको छ।आर्थिक वर्षको अन्तिम समयमा गरिने हतारको विकासले राज्यको अर्बौं रुपैयाँ खर्च भए पनि त्यसको दीर्घकालीन उपलब्धि भने न्यून देखिन्छ।बरु यसले भ्रष्टाचारलाई संस्थागत बनाउने काम गरिरहेको छ।
नेपालको सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा देखिएको सबैभन्दा ठूलो कमजोरी भनेकै बजेट कार्यान्वयनको ढिलाइ हो।सरकारले हरेक वर्ष जेठ १५ गते बजेट ल्याउँछ।तर योजनाको स्वीकृति,टेन्डर प्रक्रिया,वातावरणीय अध्ययन,प्राविधिक मूल्यांकन,प्रशासनिक स्वीकृति लगायतका प्रक्रियामा महिनौं समय बित्ने गर्दछ।परिणामतःवर्षको सुरुवाती ८–९ महिना अधिकांश योजनाको काम सुरु नै हुँदैन।अन्तिम समयमा आएर“बजेट फ्रिज हुन नदिन”सरकारी कार्यालयहरूमा कामको चाप अत्यधिक बढ्ने गर्छ।
यही हतारो भ्रष्टाचारको सबैभन्दा ठूलो अवसर बन्छ।किनभने जब काम समयमै हुँदैन,तब प्रक्रियाभन्दा पनि“कसरी बजेट सक्ने” भन्ने मानसिकता हावी हुन्छ। गुणस्तर परीक्षण कमजोर हुन्छ,प्राविधिक निगरानी प्रभावहीन बन्छ,प्रतिस्पर्धात्मक टेन्डर प्रक्रियामा प्रश्न उठ्छन् र कमिसनको चलखेल बढ्छ।आर्थिक वर्षको अन्त्यमा धेरैजसो कार्यालयहरूमा रातारात बिल पास गर्ने,अपूर्ण कामलाई पूर्ण देखाउने,कागजमा मात्रै योजना सम्पन्न गर्ने तथा राजनीतिक दबाबमा भुक्तानी दिने प्रवृत्ति मौलाउँदै गएको छ।
विकास निर्माणका काममा गुणस्तर कायम हुन समय,योजना र निगरानी आवश्यक हुन्छ।तर आर्थिक वर्षको अन्तिम समयमा हतारमा गरिने काममा यी तीनै पक्ष कमजोर हुने गर्छन्। वर्षायाममा सडक कालोपत्रे गर्दा केही महिनामै उक्किने अवस्था आउँछ।ढल र नाला निर्माणमा मापदण्ड पालना हुँदैन।भवन निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरिन्छ।पुल तथा सडकहरू प्रयोगमा नआउँदै भत्किन थालेका उदाहरण नेपालमा प्रशस्तै छन्।
देशका विभिन्न स्थानमा वर्षेनी आर्थिक वर्षको अन्त्यमा हतारमा कालोपत्रे गरिएका सडक साउन–भदौमै भत्किने गरेका छन्।कतिपय ठाउँमा पानी पर्दापर्दै कालोपत्रे गरिएको दृश्य सार्वजनिक हुने गरेका छन्।यस्तो कामले विकासको नाममा राज्यको पैसा दुरुपयोग मात्रै होइन, जनताको करमाथि खुला खेलवाड पनि भइरहेको देखाउँछ।
राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र निर्माण व्यवसायीबीचको मिलेमतो पनि असारे विकासको अर्को मुख्य कारण हो।धेरैजसो योजनाहरू राजनीतिक पहुँचका आधारमा छनोट गरिन्छन्। बजेट विनियोजनदेखि भुक्तानीसम्म राजनीतिक दबाब हाबी हुने हुँदा प्राविधिक पक्ष ओझेलमा पर्छ।निर्माण व्यवसायीहरू समयमै काम नगरी अन्तिम समयमा आएर राजनीतिक दबाबकै आधारमा भुक्तानी लिन सफल हुने गरेका छन्।
कतिपय अवस्थामा कामै नगरी कागजी रूपमा योजना सम्पन्न देखाएर रकम निकासा गरिएको घटना पनि सार्वजनिक हुँदै आएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्षको अन्त्यमा विकास बजेटसँग सम्बन्धित उजुरीको संख्या बढ्नुले पनि भ्रष्टाचारको जरा यही समयमा गहिरिने गरेको स्पष्ट हुन्छ।
स्थानीय तहमा त झन् असारे विकासको विकृति व्यापक रूपमा देखिन्छ।संघीयता लागू भएपछि स्थानीय तहमा ठूलो बजेट पुगेको छ।तर योजना छनोट,प्राविधिक क्षमता र अनुगमनको कमजोरीका कारण विकास खर्च प्रभावकारी बन्न सकेको छैन।कतिपय पालिकाहरूले आर्थिक वर्षको अन्त्यमा मात्रै करोडौं रुपैयाँ खर्च गर्ने गरेका छन्।यसले योजनाको प्रभावकारिता भन्दा पनि बजेट सक्ने प्रवृत्ति हावी रहेको प्रमाणित गर्छ।
उपभोक्ता समितिमार्फत गरिने काममा पनि व्यापक अनियमितताको आरोप लाग्दै आएको छ। स्थानीय राजनीतिक कार्यकर्ता र पहुँचवालाहरूलाई उपभोक्ता समिति बनाएर काम दिने, वास्तविक कामभन्दा बढी रकम देखाउने,कमसल निर्माण सामाग्री प्रयोग गर्ने तथा हिसाब पारदर्शी नराख्ने समस्या व्यापक छ।धेरैजसो उपभोक्ता समितिका कामहरू असारमै हतारमा सम्पन्न गरिन्छन्,जसको गुणस्तर अत्यन्त कमजोर हुने गरेको छ।
असारे विकासले केवल आर्थिक भ्रष्टाचार मात्रै बढाएको छैन,यसले विकासप्रति जनताको विश्वास पनि कमजोर बनाएको छ।जनताले तिरेको कर सही ठाउँमा खर्च नभएको अनुभूति बढ्दै गएको छ।सडक,पुल,भवन र अन्य संरचना निर्माण भए पनि टिकाउ नहुँदा राज्यप्रतिको भरोसा घट्दै गएको देखिन्छ।विकासलाई सेवा होइन,कमिसन खाने माध्यमका रूपमा हेर्ने प्रवृत्ति मौलाउनु लोकतान्त्रिक शासन प्रणालीका लागि खतरनाक संकेत हो।
यसबाहेक असारे विकासले राष्ट्रिय अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पार्छ।जब बजेट वर्षको अन्त्यमा मात्रै खर्च हुन्छ, त्यसले आर्थिक गतिविधिमा असन्तुलन ल्याउँछ।निर्माण सामाग्रीको कृत्रिम अभाव,मजदुरको चाप,मूल्य वृद्धि तथा कमजोर व्यवस्थापनका कारण समग्र आर्थिक प्रणाली प्रभावित हुन्छ। विकास खर्च प्रभावकारी नहुँदा त्यसको प्रतिफल पनि न्यून हुन्छ।
नेपालमा पूँजीगत बजेट खर्च न्यून हुनु हरेक वर्षको समस्या हो।सरकारले विकास बजेट ठूलो आकारमा ल्याए पनि कार्यान्वयन कमजोर हुँदा आर्थिक वर्षको अन्तिम समयमा मात्रै खर्च बढ्ने गरेको छ।यही कारण विकास बजेटको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ। खर्च बढाउनु मात्रै विकास होइन,प्रभावकारी र दीर्घकालीन उपलब्धि सुनिश्चित गर्नु नै वास्तविक विकास हो।
असारे विकास नियन्त्रण गर्न सबैभन्दा पहिले बजेट कार्यान्वयन प्रणाली सुधार गर्न आवश्यक छ।योजनाहरू आर्थिक वर्ष सुरु हुनुअघि नै तयारी अवस्थामा राख्नुपर्छ।टेन्डर प्रक्रिया,डिजाइन, वातावरणीय अध्ययन र प्रशासनिक स्वीकृतिका काम समयमै सम्पन्न गरिनुपर्छ।योजना कार्यान्वयनको स्पष्ट कार्यतालिका बनाएर त्यसको कडाइका साथ पालना गराउनुपर्छ।
त्यस्तै,सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक छ।राजनीतिक हस्तक्षेप कम गर्दै प्राविधिक निर्णयलाई प्राथमिकता दिनुपर्छ।निर्माण व्यवसायीहरूको कार्यक्षमता मूल्यांकन गरेर मात्रै ठेक्का दिनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ।समयमा काम नगर्ने कम्पनीलाई कारबाही र कालोसूचीमा राख्ने प्रक्रिया प्रभावकारी हुनुपर्छ।
अनुगमन प्रणाली बलियो बनाउनु पनि उत्तिकै आवश्यक छ।अख्तियार,महालेखा परीक्षक, सार्वजनिक खरिद अनुगमन कार्यालय तथा सम्बन्धित निकायहरूलाई थप प्रभावकारी बनाउनुपर्छ।स्थानीय तहका योजनामा नागरिक निगरानी बढाउन आवश्यक छ।विकास निर्माणको गुणस्तर परीक्षण स्वतन्त्र निकायबाट गरिनुपर्छ।
जनचेतना पनि उत्तिकै महत्वपूर्ण पक्ष हो।जनताले गुणस्तरीय विकासको माग गर्नुपर्छ। भ्रष्टाचारलाई सामान्य रूपमा स्वीकार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।सञ्चारमाध्यम,नागरिक समाज र सरोकारवाला निकायहरूले असारे विकासका विकृतिमाथि निरन्तर खबरदारी गर्न आवश्यक छ।
वास्तविक विकास भनेको आर्थिक वर्षको अन्तिम समयमा बजेट सक्ने होड होइन।विकास भनेको जनताको जीवनस्तर सुधार गर्ने दीर्घकालीन र गुणस्तरीय पूर्वाधार निर्माण हो।तर नेपालमा विकासलाई अझै पनि खर्चको अंकमा मापन गर्ने गलत प्रवृत्ति कायम छ।यही कारण असारे विकास भ्रष्टाचारको मुख्य आधार बन्दै गएको छ।
यदि यही प्रवृत्ति निरन्तर दोहोरिरहने हो भने राज्यको अर्बौं रुपैयाँ बालुवामा पानी सरह खर्च भइरहनेछ।विकासका नाममा भ्रष्टाचार मौलाइरहनेछ र जनताले गुणस्तरीय सेवा पाउने आशा झन् कमजोर बन्दै जाने छ।त्यसैले असारे विकासको विकृति अन्त्य गरी योजनाबद्ध,पारदर्शी र उत्तरदायी विकास प्रणाली निर्माण गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो।