शंखर पहाडी(एस.पी.गौरब)
सर्लाहीको लालबन्दी नगरपालिकाका करिब ६६ हजार जनालाई फागुन ११ गतेदेखि २ सातासम्म हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । लालबन्दी नगरपालिकाको सभाहलमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ आम औषधी सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठीमा नगरभित्र ६६ हजार आठ सय १३ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने भएको हो ।
लालबन्दी नगरपालिका भित्रका ६६ हजार आठ सय १३ जनालाई फागुन ११ देखि १७ वटै वडामा एकैसाथ हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मुमताज मिकरानीले जानकारी दिए । उनका अनुसार नगरका१७ वटै वडाहरुका टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने छन् ।
दुई वर्ष उमेर नपुगेका बालबालिका,गर्भवती,सातदिनसम्मका सुत्केरी,छारे रोगी र पहिलेदेखि आम औषधी सेवन गर्दा गम्भीर समस्या नदेखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीले हात्तिपाइलेको औषधी खानु नहुने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताए । शरीरमा हात्तिपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तिपाइले रोगविरुद्धको औषधी सेवन गरेपछि सामान्य खालको टाउको दुखाई,वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने र त्यसो भएमा औषधीले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नुपर्ने वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.झाले बताए ।
कुनै हल्लाको पछि नलागी हात्तिपाइलेको औषधी सेवन गर्न प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका डा.विरोचन चौधरीले आग्रह गरे ।उनले औषधी खाएपछि सामान्य खालको टाउको दुखाई,वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने र ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने छन् । फागुन ११ गतेबाट जिल्लाका २० वटै स्थानीय तहमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।