नेपालीको महान चाड वडादसैँ,तिहार र छठ नजिकिएसँगै सिन्धुलीका विभिन्न स्थानमा रहेका मठमन्दिर,शक्तिपीठ तथा विभिन्न धार्मिकस्थल क्षेत्रमा सर–सफाइसहित सजावटको रौनक सुरु भएको छ।चाडपर्वलाई लक्षित गर्दै सिन्धुली सदरमुकाम सहित विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदामा सरसफाइ,रङ्गरोगन,मर्मत सम्भार तथा आकर्षक सजावटको काम तीव्र पारिएको छ ।दसैँका अवसरमा विशेष गरी शक्तिपीठ तथा देवीदेवताका मन्दिरमा दर्शन र पूजाआजाका लागि ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले मन्दिर व्यवस्थापन समिति,स्थानीयवासी तथा विभिन्न संघ÷संस्थाले आवश्यक तयारी थालेका हुन्।धार्मिक सम्पदालाई व्यवस्थित तुल्याएर भक्तजनको आवागमन सहज बनाउने तथा मन्दिर परिसरलाई आकर्षक बनाउने उद्देश्यले सजावटका विभिन्न काम भइरहेको छ।जिल्लाका धार्मिक सम्पदाहरुको सजावट तथा आवश्यक मर्मतसम्भारका काम भइरहेका छन् ।
चाडपर्वका समयमा मन्दिरमा भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएकाले अहिलेबाटै सरसफाइ र व्यवस्थापनको कामलाई प्राथमिकता दिएका छौँ।स्थानीयले बताएका छन् ।दसैँमा विशेषगरी देवीका शक्तिपीठमा दर्शन तथा पूजाआजा गर्ने धार्मिक परम्परा रहेकाले घटस्थापनादेखि नै सिन्धुली सहित देशभरका विभिन्न धार्मिकस्थलमा भक्तजनकको घुइँचो लाग्ने गर्छ । नवरात्रमा देवीका मन्दिरमा विशेष पूजाआजा हुने भएकाले सिन्धुली सहित देशभरका विभिन्न स्थानका शक्तिपीठमा दर्शन तथा पूजाआजा गर्न भक्तजन जाने गर्दछन्।भक्तजनको बढ्दो चापलाई ध्यानमा राखेर मन्दिर व्यवस्थापन पक्षले खानेपानी,सरसफाइ,बत्ती,सुरक्षा तथा आवतजावत व्यवस्थापनलाई प्राथमिकतामा राखेको हुन्छ ।
मन्दिरमा भक्तजनको भीड बढ्ने समयमा दर्शन तथा पूजाआजा व्यवस्थित गर्न आवश्यक व्यवस्थापन मिलाउने,मन्दिर परिसरमा फोहर हुन नदिने तथा भक्तजनलाई सहज रूपमा दर्शन गर्ने वातावरण तयार गर्ने काम भइरहेको विधिन्न धार्मिकस्थल व्यवस्थापन समितिहरुले जनाएका छन् ।
साँझपख मन्दिर तथा धार्मिकस्थलमा झिलिमिली बत्ती बल्न थालेपछि छुट्टै रौनक देखिन थालेका छन्।प्राचीन मठमन्दिर तथा शक्तिपीठ धार्मिक आस्थाका केन्द्र मात्र नभई ऐतिहासिक तथा सांस्कृतिक सम्पदा समेत भएकाले चाडपर्वका बेला वातावरण अझ आकर्षक बन्ने गरेको छ । परम्परागत वास्तुकला र आधुनिक सजावटको संयोजनले धार्मिकस्थलमा देखिने बेग्लै आकर्षणले विदेशी पर्यटकलाई समेत रौनकता प्रदान गर्दै आएको छ।चाडपर्वका लक्षित गरी धार्मिकस्थल आसपासका सडक तथा सार्वजनिक क्षेत्रको सरसफाइमा समेत ध्यान दिन थालिएको छ । चाडपर्वका समयमा मन्दिर आसपासमा हुने भीडभाडका कारण पैदलयात्रु तथा सवारीसाधनको आवागमन प्रभावित नहोस् भन्ने विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ । आगामी दसैँ,तिहार,छठलगायतका चाडपर्वमा धार्मिकस्थलमा ठूलो सङ्ख्यामा मानिस जम्मा हुने भएकाले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार भक्तजनको भीडलाई व्यवस्थित गर्ने,सम्भावित दुर्घटना रोक्ने तथा चोरी, पाकेटमारी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्ने ठोस योजना अघि बढाइएको छ । उता मन्दिर व्यवस्थापन पक्षले भक्तजनलाई दर्शनका क्रममा अनुशासन कायम गर्न,मन्दिर परिसरमा फोहर नगर्न तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।भीडभाडका समयमा पाकेटमारी तथा अन्य आपराधिक गतिविधि हुनसक्ने भएकाले भक्तजनलाई आफ्ना बहुमूल्य सामान तथा व्यक्तिगत सामाग्री सुरक्षित राख्न समेत आग्रह गरिएको छ ।
दसैँ धार्मिक पर्वसँगै पारिवारिक भेटघाट,सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको निरन्तरतासँग जोडिएको पर्व भएकाले यस समयमा मठमन्दिरमा विशेष चहलपहल हुने स्थानीयले बताए ।काठमाडौँ सहित देशभरका मठमन्दिर तथा शक्तिपीठमा चाडपर्व लक्षित सजावटले धार्मिक तथा सांस्कृतिक वातावरण थप जीवन्त बनाएको छ ।