जिल्ला हुलाक कार्यालय सिन्धुली र मातहतका केही कार्यालयहरुबाट नागरिकलाई सरकारी सेवा सहज,सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यसहित घरदैलोमै राहदानी वितरण सेवा सुरु गरिएको छ । पहिलो राहदानी गोलन्जोर गाउँपालिकाका एक सेवाग्राहीलाई हस्तान्तरण गरि सेवा प्रारम्भ गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारद्वारा स्वीकृत “शासकीय सुधार सम्बन्धी एकसय कार्यसूची” अन्तर्गत नागरिक मैत्री सेवा विस्तार गर्ने अभियान अनुसार जिल्लामा यो व्यवस्था लागू गरिएको हो ।२०८२ चैत १३ गतेको सरकारी निर्णयमा उल्लेखित कार्यसूचीको बुँदा नम्बर २७ कार्यान्वयन गर्दै स्थानीय तहसम्म सेवा पु¥याउने उद्देश्यले हुलाक मार्फत राहदानी वितरण प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताईन् ।
उनका अनुसार सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच २०८३ वैशाख २९ गते समझदारी गरिएको थियो।त्यसलगत्तै वैशाख ३० गतेदेखि राहदानी सम्बन्धी विवरण संकलन तथा प्रक्रियागत काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
यस अन्तर्गत तयार भएको पहिलो राहदानी गोलन्जोर गाउँपालिका–७ साघुचेक पोस्ट निवासी विनिशा माझीलाई उपलब्ध गराइएको हो।उनको राहदानी जिल्ला हुलाक कार्यालय मातहत रहेको पालिका हुलाक ग्वालटार गोलन्जोर मार्फत हस्तान्तरण गरिएको छ ।
यसअघि राहदानी प्राप्त गर्न सेवाग्राही स्वयं जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने अवस्था थियो । विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता,अतिरिक्त खर्च र समयको समस्या झेल्नुपथ्र्यो।नयाँ व्यवस्थासँगै ती समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले बताए ।
उनका अनुसार सेवा विस्तारसँगै राहदानी वितरण प्रक्रियालाई थप प्रभावकारी,व्यवस्थित र नागरिक मैत्री बनाइने छ।आगामी दिनमा जिल्लाका अन्य स्थानीय तह तथा दुर्गम बस्तीहरूमा समेत सेवा विस्तार गरिने तयारी भइरहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।
सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री र जनमुखी बनाउने संघीय सरकारको अभियानअन्तर्गत सुरु गरिएको यो अभ्यासले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले बताए।स्थानीयवासीले पनि यस्तो सेवाले प्रशासनिक पहुँच विस्तार हुनुका साथै अनावश्यक झन्झट कम भएको बताएका छन् ।