सर्लाहीको लालबन्दी नगपालिका–११ हिरापुर र लालबन्दी नगरपालिका–१२ जियाजोर जोड्ने लखन्देही नदीमा करिब आधा किलो मिटर लामो पक्की पुल निर्माणको काम अन्तीम चरणमा पुगेको छ ।लालबन्दी नगरपालिका–११ हिरापुर र लालबन्दी नगरपालिका–१२ जियाजोर जोड्ने लखन्देही नदीमा नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको रु ७५ करोड ७० लाखमा चार सय ८५ मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल २०८० भदौबाट निर्माण कार्य सुरु भएको थियो ।
२०८३ साउन मसान्तमा निर्माण सकाउने जिम्मा पाएको एमआरएन कम्पनी प्रा.लि÷वाईपी जेभीले निर्धारित समयमा काम सकाउने गरि तिब्रगतिमा काम गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि रेशम भट्टराईले बताए । लखन्देही नदीमा पक्की पुल नहुँदा वर्षाको समयमा लालबन्दी नगरपालिका १२ जियाजोरका स्थानीयलाई आवत जावत गर्न निकै समस्या हुने गरेको गुनासोलाई मध्ये नजर गर्दै तत्कालीन भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले उक्त पुलको सिलान्याश गरेका थिए ।
लखन्देही नदीमा पक्की पुल निर्माण गर्ने चर्चा धेरै पहिला देखि नै चलेको भएपनि पक्की पुल निर्माण करिब सम्पन्न भएपछि लालबन्दी नगरपालिका–१२ जियाजोरका स्थानीयमा खुसी थपिएको लालबन्दी नगरपालिका–१२ का वडा अध्यक्ष दुर्गा बहादुर आले मगरले बताए।उनका अनुसार निर्माण कम्पनीले धमाधम काम गरि रहेको र अहिले पक्की पुल माथिबाट माटरसाईकलहरु आवत जावत गर्न थालि सकेकाले वर्षा लाग्नु पहिलै पुल सञ्चालनमा आउने छ ।