नगरपालिकाद्धारा विद्यालयलाई स्कुल भ्यान सहयोग

124 Shares

सिन्धुलीको कमलमाई नगरपालिका–स्थित रहेको कमला मा.वि.करकरेलाई कमलामाई नगरपालिकाले स्कुल भ्यान उपलब्ध गराएको छ।दुर्गम बस्तीका विद्यार्थीहरूको विद्यालय आवत जावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले कमलामाई नगरपालिकाले कमला मा. वि. करकरेलाई स्कुल भ्यान उपलब्ध गराएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बताए ।
शिक्षा क्षेत्रमा समान पहुँच स्थापित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएकाले गुणस्तरीय शिक्षाको अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिका विभिन्न कार्यक्रममार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको नगर प्रमुख पोखरेलले बताए ।
नगर प्रमुख पोखरेलले विशेषगरी दुर्गम बस्तीका विद्यार्थीहरूले विद्यालय पुग्न र घर फर्किन भोग्नुपरेको कठिनाइलाई दृष्टिगत गर्दै स्कुल भ्यान उपलब्ध गराइएको जानकारी दिए।उनले यातायात सुविधाको अभाव तथा लामो दूरीका कारण विद्यार्थीहरूको नियमित उपस्थितिमा असर पर्ने अवस्थालाई न्यूनीकरण गर्न नगरपालिकाले यो सहयोग गरेको हो ।
विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको उक्त भ्यान मुख्य रूपमा विद्यालयबाट टाढा रहेका तथा यातायात सेवा न्यून भएका क्षेत्रका विद्यार्थीहरूको सेवाका लागि प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।विद्यार्थीलाई सुरक्षित रूपमा विद्यालयसम्म ल्याउने र घरसम्म पु¥याउने व्यवस्थाले उनीहरूको शैक्षिक निरन्तरतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
भ्यान हस्तान्तरणपछि विद्यालय प्रशासनले नगरपालिकाप्रति आभार व्यक्त गर्दै विद्यालयका प्रधानाध्यपक गुण बिक्रम कुवरले यस सहयोगले विद्यार्थीहरूको नियमित उपस्थितिमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।उनका अनुसार विद्यालय आउन–जान समस्या कम भएसँगै सिकाइ प्रक्रियामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।कमलामाई नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि र सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

सम्बन्धित समाचार