विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ

199 Shares

विभिन्न मुद्धामा फरार भएका ११ जना प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ११ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको टोलीले पछिल्लो समयमा धमाधम पक्राउ गरि रहेको छ ।
लागुऔषध तथा मोबाइल चोरीसम्बन्धी चार फरक मुद्दामा दोषी ठहर भएका बागमती नगरपालिका–६ का आनन्दकुमार राय, कुटपिट मुद्दामा दोषी ठहर भई १० हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका बरहथवा नगरपालिका–१६ का रामधारी राय यादव, आपराधिक उपद्रव मुद्दामा जनही १० हजार रुपैयाँ जरिवाना तोकिएका चक्रघट्टा गाउँपालिकाका सुरेश यादव,शेख इसराफुल,विजय साह सोनार,शेख ममताज र विजय साह कलवार सहित चक्रघट्टा गाउँपालिका–६ का कृष्णकुमार राय,ईश्वरपुर नगरपालिका–११ का भोला राय यादव र दीपबहादुर बल,चक्रघट्टा गाउँपालिका–७ का सत्रोधन कुशवाहा लगायतलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सबै प्रतिवादीलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरु विरुद्ध खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

सम्बन्धित समाचार